भगीरथ को कोरली लघु कथा



भगीरथ हाँप झाँप  गरि दगुर्दै आयो- "काका, गाईले अम्रो खाएर घाँटीमा अड्केको छ, मर्न आँट्यो"भन्दै। उसको भैंसी गोठ थियो। हाम्रो गाई गोठ। गाई चरन मा थियो। हामी सबै दगुरेर गयौं।छटपटाई रहेको गाई ।मुखमा हात हालेर तान्ने कोशिश गरे पनि सफल भइएन।छटपटाउँदै बिचरी गाई मरिन। राम्रो बाछी बियाएको रहेछ।

भगीरथ को उमेर करीब बीस वर्ष। बाँसुरी राम्रो बजाउँछ।बेला बखत ताक परे सिलोक  पनि हाँक्छ। गाई भैँसी प्रति उस्को अगाध माया छ।
"काका, यो बाछीलाई म मेरै भैंसी गोठमा लगेर पाल्छु" भनेर आग्रह  गऱ्यो।भैंसीको दुध तागतिलो पनि हुन्छ र सानो बाछी चाँड़े हुर्कन्छ।

सानो बाछी को नाउँ लक्षीमा राख्यो। उनी भैंसी को पाड़ा पाड़ी सङ्ग  बस्न थालिन, एउटै टाट्नो मा घाँस खान थालिन।
पाड़ा पाड़ी जस्तै बानी ब्यहोरा हुन थाल्यो।हुर्किन
 उनी।भैंसी को हुलमा मिलेर चर्न जान थालिन्। सबै भैंसी पानीमा आहाल खेल्दा उनी डिल माथि बसेर चरि रहने र
आहाल खेलेको भैंसी हरु तिर हेरी रहने। भगीरथले सारै माया गर्ने लक्षीमा लाई। कन्याई दिने, उनी कन्याई माग्न आउने, खेल्ने र हातले दिएको निमक चाट्ने।

लक्षीमा कोरली भईन। अब आमा हुनु पर्छ र सबै भैंसी गोठाला हरुको  गाईको बिगौती खाने इच्छा। तर लक्षीमा गाई गोरु को बथान मा जाँदै जान्नन्। भाग्छिन उनी। भैंसी सँग बसेर बानी बेहोरा भैंसीको जस्तो छ।

भगीरथ फेरि एक दिन आयो र लक्षीमा भर्ना नभएको दुःख प्रकट गऱ्यो।

" अब के गर्नु काका?" भनेर टाउको कन्यायो।
मैले पनि लक्षीमा लाई गाई को बथान मा लानु पर्छ अनि गोरु लाग्छन् भने। प्रयास सफल भएन। सानै देखि भैंसी सँग हुर्केकि लक्षीमा किन पो जान्थिन् र गाई को बथान मा।

लक्षीमा को रङ्ग टाटे पाङ्ग्रे थियो। कालो भैंसी को हुलमा पर बाट नै चिनिने। पुष्ट शरीर।बानी बेहोरा पनि सारै राम्रो।
तर भर्ना भइनन् भने त दुःख को कुरो हो।सबै गोठाला हरुले भगीरथ को कोरली भन्थे।

भगीरथ ले मन सारै दुखायो। बाँसुरी बजाउन पनि मन गर्दैन हिजोआज। सिलोक पनि भन्दैन। लक्षीमा को चिन्ता ले सताउन थाल्यो उसलाई।

फेरि एक दिन आयो म सँग र दुःख बिसायो - "के गर्नु हौ काका," । केहि सल्लाह को आग्रह  गऱ्यो।मैले लक्षीमा लाई गोठ बाट गाउँको उस्को घरमा लान सुझाव दिएँ। गाउँको घरमा त गाई गोरु मात्रै छन्। उतै लगेर राख्ने सलाह दिएँ।

हिउँद मा ब्रह्मपुत्र को पानी कमेको हुन्छ र गाई भैंसी वार पार गर्न सकिन्छ। लक्षीमालाई एकदिन सबैले मिलेर उस्को गाउँमा लगियो।

लक्षीमाले गाउँमा पुग्ने साथ मानौं सत्याग्रह मा बसिन्। केहि खान मन गर्दिनन्। उनीलाई भैंसी को बथान चाहियो। निकै दुब्लाइन उनी। भगीरथ को बाबु र आमा साथै गाउँ घरका ले पनि सारै सुर्ता गरे।

बिस्तारै करिब छ मैना पछि लक्षीमाले गोरु खोजिन् र गर्भवती भइन्। सारा गाउँमा खुशीको लहर फैलियो।गोठका गोठाला हरुले राम्रो समाचार सुनेर  डाङ्ग्रे को पूजा गरे। भाङ्ग खाएर मस्ती गरे।

करिब नौ मैना पछि लक्षीमाले एउटी सुन्दर बाछी उपहार दिईन! गाउँमा सबैको घरमा उत्सव झैं भयो।बिगौती खाए नानीहरुले। सानो बाछी को नाउँ पार्वती राखे।

हिजोआज भगीरथ बाँसुरी बजाएर सिलोक गाउँदै गोठमा रमाई रहेको छ।

पुरूषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी, आसाम।
23/7/21

बि: द्र:भर्ना (गर्भ धारण गर्ने प्रक्रिया, यस अर्थमा प्रज्ञा प्रतिष्ठानको शब्दकोश मा चैं छैन, यो प्रयोग यता को भेक को प्रचलन मा मात्र हुन सक्छ।