सर्र हावा चलेको
जाडो को दिनमा घाम तापी रहेका
आमा र छोरी
बैँसको घामले सुनौलो भएको अनुहार
झरिलो देखिएकिछिन् उनी
आमा ले जुम्रा हेरि रहेकी काखमा बसाएर
ढाडी ,चमकना लिखाको खोजीमा
फोस्रो लिखा नै धेरै थिए होलान सायद
बेला बेला ठुङ हानि दिन्थिन् आमाले छोरीलाई
सारै मनोरम दृश्य
त्यो हृदयंगम झलक
देखेन हिजो आज को हावा बतासले।
अत्तर ,लाली र गाजल बिनाको अनुहार
छोएर गयो हावाले
के सन्देश लग्यो कुन्नि मृदु पवन ले?
बोकेर ल्याउँत्यो सुगन्धको अविरल लहर
रिट्ठोले नुहाएर फर्फराउँदै गरेको त्यो केश
केशले निम्तो दी रहेको हावालाई
बैँस लागेको हावा र उनी दुवैलाई
लुखुरी आइज लुखुरी भनि रहेका थिए
कान्छी बैनी र उनीका साथीहरु
रुखको पातको फिरफिरे बनाएर
चाख्नै पाएन त्यो स्वाद हिजोआज को हावाले।
आमाको सिन्दुर लतपत भएको निधार
आधा पाकेको केश र झरीलो अनुहार
डन्डिफोर नभएको मस्रिन मुहार
छोएर गयो चिसो हावाले
भाँडा मोलेर अलि अलि फुटेको हत्केला
छुनै पाएन हिजो आज को हावा बतासले कठैबरा!
भदौरे महिनामा घाँस काट्न जाँदा
डोको बोकेको उनीले
साथी संगिनी साथै एक हुल भएर जाँदा
फर्फफरायेको त्यो मजेत्रो
बुझ्नै सकेन अहिलेको हावाले।
कस्तो रंगीन थियो त्यो हावा को लहर
नत्र उनी छन् अथवा त्यो बतास को लहर नै छ
हिजो -आज,
सायद हुण्डरी आएको थियो होला
उनीलाई र मेरो बैँसलाई
कसरी बेलीविस्तार गरौँ अहिलेको हावा बतासलाई।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
16/7/21