आमा को गरम कोट ( लघु कथा



म बिहान करिब आठ बजे तिर विउँझिए। घरमा कोलाहल सुनें।दुई तले घर ,माथी म सुतेको तल कोलाहल। पाँच छ जना गाउँको व्यक्तिहरु तल्लो घरमा देखेँ। आमा पनि केहि फलाकी रहनु भएको थियो।

म बिहानीको उठ्ने बितिक्कै को पिसाब नगरी तल उत्रिएँ।
गोदार माइलो झोक्राएर बसिरहेको देखें। ऊ हाम्रो घरमा खेति गर्न बसेको थियो।खेतको काम सकेर ऊ आफ्नै घरमा थियो।आज अचानक किन आयो जानिन।

आमाले "तैँले नै मेरो गरम कोट चोरिस" भनेर भनेको सुने। मेरो सातोपुत्लो गयो।करिब दशदिन अघि आमाले मलाई पिकनिक जाने पैसा रु दस माग्दा दिनु भएन। म सात कक्षा मा थिएँ।"यत्रो पैसा ई  फुच्छा हरुको पिकनिकमा केको "भन्दै लौरो ले डाम बस्ने गरी दनक दिनु भयो।हाम्रो भनि सानो पाठा किनेर साथीहरु संग छेवैको जङ्गल मा पिकनिक खाने विचार थियो। म  पिकनिक टोलीको लिडर थिएँ।

मैले आमाको रिसले आमाको भर्खरै किनेको गरम कोट सिलिङ माथि फ्याँकी दिएँ तब मात्रै मेरो रिस मर्यो।त्यस पछि मैले त्यो कुरा बिर्सिएँ।आज यो दृश्य देखेर म तलमाथि गर्न थालेँ।पिसाब आए पनि हरायो ।आमा ले "मैले धामीलाई जोखना हेरायेको तेरै घरदिशा देखायो" भन्नु भयो। ऊ "मैले किन लानु र आमा मेरो घरमा कोही पनि महिला नै छैनन् किन लाँन्थे र "भनि रहेको थियो! तैँले लगेर बेचेर खाईस भन्नु भयो।अरु व्यक्तिहरु "साँचो भन बाबु हामी केहि गर्दैनौं "भन्दै थिए।

मलाई एकपटक त त्यो सिलिङ माथी फ्याँकेको आमा को कोट निकालेर कुदेर भाग्न मन लाग्यो।गोदार माइला हाम्रो घरमा बस्दा गुलेली ले ढुकुर मारेर ल्याउने गर्थ्यो।हामी पोलेर खान्थिउँ। ऊसँग मेरो सारै राम्रो मित्रता थियो।मलाई एउटा गुलेली पनि बिहाड रुङ्ग्न भनेर बनाई दिएको थियो।

मेरो त्यो स्यानो मनको हृदय जली रहेको थियो।फेरि तल माथि गरि रहें।उखुम भई रहेको थियो मलाई।गोदार माइला को मुखमण्डल हेर्न आँट नै आएको थिएन।अरु व्यक्तिहरु मध्ये मितबुबा ले" यसलाई लाठो लाए मात्रै बोल्छ" भनेर लाठो लिन जानु भयो।अब मेरो प्राण जान मात्रै बाकी थियो।

उसलाई सबैले र्याखर्याखति पारी रहेका थिए। ऊ भुइँतिर हेरीहेरी रोई रहेको थियो।

अचानक  बुबा कसैको रात्रि को विहे सकेर साइकल मा घर आई पुग्नु भयो।सबैले बुबालाई नमस्कार गरे।गोदार माइला
ले बुबाको गोडामा साष्ट्टड्ग प्रणाम गरेर "गुरुजी मैले गुरुआमाको  कोट चोरेकै होइन" भन्यो।"मित बा ले "भयो ढोगेर नखडा नगर" भन्नु भयो।गोदार माइलो अरुबेला पनि बुबाको गोडा ढोग्ने नै गर्थ्यो।

बुबाले आमालाई "तैँले यसले कोट लगेको देखिस" भन्नु भयो।आमा चुप्प लाग्नु भयो।अरूले पनि केहि बोलेनन्।बुबाले आमालाई "अब तैँले गोदार माइला सँग माफ मांग" भन्नु भयो।आमा मान्नु भएन।मेरो मन र चेहरामा उज्यालोपन आई सकेको थियो।अन्तमा बुबाले "हेर माइला मेरी श्रीमती यस्तै छे, तँ दुःख नमान, मैले माफि माँगे" भनेर सभा भंग गरि दिनु भयो। आमा फतफताउँदै माथिल्लो घरमा जानु भयो।सबै अा-आफ्नो घरतिर लागे। म पनि पिसाब गरेर गोठको गोबर सोर्न गएँ।

पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
22/7/2021