म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ!
गर्भवती बीस वर्षकी नाम राधिका
बेथा लागेपछि त्यो भित्रि गाउँमा
उपचारको वेवस्था थिएन त्यसबेला
सानो सहरको अस्पताल झोलुङ्गा मा लाँदा
बाटैमा खसिन बिचरा!
दाह-संस्कार गर्दा पनि सानो बालख
काटेर निकालेर अलग्गै गर्नु पर्ने नीति
मैले देखें दुइवटा लास दुई आँखाले म सानो हुँदा ।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ।
दुलाल माइलो मेरो साथी
तीजमा दिदीलाई लिएर घर आएको
तिर्खा लागेर दिदी छेवैको ब्रह्मपुत्र नदीमा
पानी पिउँन गएकि, चिप्लिन विचरी दिदी
भाई बचाउन गयो, बगे दुवै
भेटिएन दुवैको लास।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ
गरिबीको चरम समय, बर्सेनि बाढ़ी आउने ठाउँ
बिहान घाङ्ग्रा र मकै उसिनेर खायो
बेलुकि फर्सी उसिनेर खाई सुत्यो
अन्न थिएन घरमा रत्तिभर उनीहरुको
देखेकै हो यो दुई आँखा ले।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ!
गोदार बा की कान्छी छोरी
पच्चिस वर्षकी
अझै महिनाबारी भएको छैन
कति ओखति-मूलो गरे
हलका गोरु बेचे,घडेरी बेचे
केहि भएन,भाटो सरि भए आमा-बाबु
छोरीको चिन्ताले सताई रहेको
सकेन देख्न मेरो आँखाले।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ।
बाँझी भनें गाउँले हरुले
ठिटा केटाहरु जिस्काउने गरे
भएनन नानी-केटाकेटी, अर्को विहे गरे श्रीमानले
घर छोडी वृन्दावन गएको दिन ,खत्रीनि आमै
मेरो आँखामा झल्झली याद आउने गर्छिन।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ।
ब्रह्मपुत्र नदीमा दुधको नौका पल्टियो
नौ जना मानिसहरू थिए नौकामा
दुइजना गए बगेर कता हो कता!
अरूले पौडेर जसैतसै प्राण बचाए
बुबा मृतकको घरमा गडुर भन्न जाने
मलाई पनि लानु हुन्थ्यो कहिले काँहि।
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ।
लैनो गाई "गौरी "अचानक मर्दा
आमा रोएको
हलको गोरु "कथुरे "अचानक मर्दा
बुबा रोएको
हाम्रो घरमा डाका लागेपछि
गाउँघर रोएको
हलो जोत्दै गर्दा बज्र लागेर
मेरो साथी रमन मरेको
बैंकमा डाका लागेर म घायल भएको
अनेकौं कथाहरु छन् ज्वलन्त यी दुई आँखाहरूमा
कुन भनौं,कुन नभनौं
दुःखित छन् यी मेरा नयनहरु
निस्ताई रहन्छन् सँधै ,यादहरुले
कति बोकोस स्मृतिका लहरहरु!
म सँग थुप्रै कथाहरु छन्
एउटा कथा भन्ने समय छ
लौ भन कुन कथा सुनाऊँ।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला
गुवाहाटी
10/7/21