धुरु धुरु रुन्छ मेरो कविता ।



श्रीमानको कोरोनाले ज्यान गयो

उनी सानो छोरो लिएर चण्डीगढ वाट बौलाहा झैँ भई

आइन् गुवाहाटी ज्यान जोगाएर 

केही छैन साथमा, बैंक एकाउन्ट श्रीमानको

देखाईन् मलाई रुँदै,गुहारिन् गोडा छोएर

भनिन "म बेखर्ची भएँ" हजुर 

उनीको खाताको रकम चाहियो मलाई

उनीको वेदना सुनेर धुरुधुरु रोयो मेरो कविता।


गुवाहाटी का युवा प्राध्यापक , नम्र र ज्ञानी

गृहऋण लिने तर्खरमा मेधी सर

सबै कागजी कामहरू भए

आज एउटी महिला आएर भनिन

म मेधी सरको श्रीमती

वहाँ खस्नु भयो कोरोनामा

सोधिन् नमिनी को छ होला उनीको खाता मा

उनीको वेदना सुनेर मुटु चिरि रोयो मेरो कविता।


उनी रिटायर्ड राजपत्रित अधिकारी

श्रीमानको उहिले स्वर्गवास भएको

मसँग सारै घनिष्ठ र मन मिल्ने

सानो छोरो सताइस वर्ष को

जी इन आर सी मा  कोरोना मा प्राण गयो

ठूलो छोरो दुई मैना भयो हस्पिटल मा कोरोना ले

फोन गरेर गुहारिन् उनीको रकम निकालेर-

पुर्याई दिनु पर्ने घरसम्म

अहोभाग्य ठानेँ आफैंलाई काम गरेर

उनीको वेदना सुनेर लुप्त भयो मेरो कविता।


श्रीमान कोरोना मा सिकिस्त आई सी ईउ मा

श्रीमती पनि सन्तान प्राप्ति को निम्ति हस्पिटल मा

हाहाकार छ वातावरण,गुहारिन् मलाई

"वृद्ध आमा र सानो नाति बैंक मा जान्छन्

मेरो खाता वाट रकम निकालेर दिए  म

जीवनभर ऋणी " भनि फोन गरिन्

सम्पूर्ण चिहान झै भयो मेरो कविता।


न कथा को अन्त , न व्यथा को

जीवन ले रङ्ग फेर्छ प्रतिदिन

कहिलेकहीँ त बौलाहा हुन्छ मन

हेर्न सक्दैन तमाम दुःख र वेदनाहरु

ठाउँ नै छैन दुःख बिसाउने

मेरो कविता चित्कार गर्छ सपनीमा

उकुसमुकुस भएर हिजोआज

धुरु धुरु रुन्छ मेरो कविता ।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

24/6/21