नौ नै वर्षमा विवाह भएको रे
खत्रीनि आमै को
खालि राख्नु भएन सिउँदो
सास नगए सम्म।
सिन्दूर ले गर्दा सिउँदो मा
घाउ भएको थियो,लामो रेखा जस्तै
कता जानु उपचार गर्नु
कस्ले लाने उनीलाई?
खत्री बा लाई केहि सुर्ता नै थिएन
जीवन सँगिनीको सिउँदो
भतभती पोलेको।
आमै नरिवलको तेल लिएर
फुकी माग्न जान्थिन्
गुरुबाको घरमा सानो बोतल लिएर
राति लगाउँथिन त्यो तेल सिउँदोमा
केहि बिसेक हुन्थ्यो।
सिन्दूर नलाए त राम्रो हुन्थ्यो होला
त्यो लामो समय वाट भएको घाउ
लाचार थिन ऊनी सायद
समाजले दिएको मान्यता मान्न
"सिउँदो खालि राख्न हुँदैन"
आइमाईले विहे पछि को कथनमा।
खसिन् आमै
अचानक मुटुको व्यथा लागेर
खत्री बा लाई के को सुर्ता
गाई गोठ र धन सम्पती अगाध
सिन्दूर हालेर केहिदिन पछि
अर्को स्वास्नी ल्याउने
तर्खरमा ऊनी
बस्नेत दाईले छोरी दिने भए रे!
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
27/7/2021