सानोमा गाउँमा आउने
पुष्ट शरीरका भुटानी दिदीहरु
पोते,पाखनबेत, काँचो सिम्रीक , टिमुर, झारमौरो आदि
बेच्न आउने अनि रात बिताउने कसैको घरमा
निर्धक्क भएर गाउँ घुम्ने गर्थे
हिङको सुगन्ध आउँथ्यो उनीहरुको शरीरबाट
हामी पछि पछि दगुर्ने गर्थ्यौं-
मिश्रित नेपाली शब्दहरू सुनेर
हामी मुग्ध हुन्थिउँ
किन आउन छोडे होला?
कहाँ हराए होलान ?
दुई तीन जना गाइने को हुल
रात्रि कसैको घरमा बसेर
जुवा-तास वाट हुने विनष्टको गीत
राजा र प्रजाको गीत,मदपान को परिणामको गीत
माया र धोखाको खोक्रो र निष्कर्ष को गीत
त्यो हृदयस्पर्शी धुनहरु सुनाई मुग्ध पार्ने गाइने
किन आउन छोडे होला?
कहाँ हराए होलान ?
प्रायः माघ र मुङ्गिरको महिनामा
आई रहने जोगीहरु, राति धुतुरु बजाएर
बिहान कालो झोला लिएर
श्रद्धाको दान लिने र "जय गोरखनाथ "भन्ने आत्माहरू
किन आउन छोडे होला?
कहाँ हराए होलान ?
प्रत्येक परम्पराको एउटा वास्तव प्रभाव
देख्ने छोडे नया पिँढ़ीहरुले
रुखो हुन थाल्यो माघ र मुङ्गिरको को रात
गुन्जिन छोड्यो सारङ्गी को धुन
छैनन् घरमा पाखनबेत, काँचो सिम्रीक , टिमुरआदि
आउन छोडे परदेशीहरु केहि सन्देश लिएर
बिरानो छ गाउँघर, निस्तब्ध छ, छैन चहल पहल
आफ्नै कथामा व्यस्थ छ आधुनिकता
उराठ लाग्छ मन ,फर्किएर हेर्दा
किन आउन छोडे होला?
कहाँ हराए होलान उनीहरू ?
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
3/7/21