ढोका खोलिदेऊ


हे राष्ट्रप्रधान हरू

बिछोडको वेदना सुन्नु हुन्छ?

सायद अनुभव गर्न सक्नु हुन्न!

कथा भनेर पढ्ने भूल नगर्नु होला

खोली दिनुहोस त्यो दैलो पावन्दीको!


भारत र म्यानमार दुईटा देश

थिए दुवै एकसमयमा ब्रिटिस को अधीनमा

गोर्खाली लाखौँ थिए दुई देशमा

दोस्रो विश्वयुद्ध भयो

बिथोलिए सबै आफन्तहरू

कोही म्यानमारमा, कोही अरू विभिन्न प्रान्तमा ।


हाम्रो बुवा, दुईवटीआमा, हजुरबा, 

अरू पनि आफन्त आए आसाम

मावली,सानिमा,कान्छा बा बसे बर्मामा

अरू कति कतिको कैयौँ कथा

ठूली आमाको बम विस्फोटमा मृत्यु भएको कथा

सुनाउनु हुन्थ्यो बुवा।

आमा सानैमा बिहे भएर आसाम आई

बित्नु भो माइतीनै नदेखि!


लगभग त्रिहत्तर वर्ष भयो

कोही उता कोही यता,कस्तो विडम्बना

सकिन्न  जान  पासपोर्ट ,भिसा भए पनि

कतिपय ठाउँ हरूमा ,जहाँ आफन्तहरू छन्

हे राष्ट्रप्रधान! सुन्नु भएको छैन ती विरहका कथा?


म्यानमारबाट त सजिलै आउँछन् त

बुद्धगया , गया र लुम्बिनीमा

रमाएर जान्छन उनीहरू,

बुद्ध दर्शनको  अनुभूति लिएर

हामीलाई चाहिँ किन बाधा उता जान?

हे देशका प्रथम पुरुष!

बुझि दिनुहोस बिछोडको व्यथा।


रातो धागोले बेरेको ,परदेश बाट आएको

चिठी देख्नु भएको छ हजुरहरूले ?

बुझ्नु भएको छ त्यो चिठी पढ्नेको वेदना?

हरे!को खस्यो नि परदेशमा

कसले पढिदेला त्यो मुटु चिरिने सन्देश

महाशय! हे राष्ट्रप्रधान हरू 

खोली दिनुहोस अब त्यो बाटो

आकाश र जमीन मार्गको

धनीहरू जानेछन् आकाश मार्गबाट

गरीबहरू जाने छन् जमीन मार्गबाट

मिल्ने छन् आफन्त हरूसँग

रमाउने छन् जीवनभर

आशिष दिने छन् सँधै।

हे बाहुबली राष्ट्रनेता!बुझिदिनुहोस्

अव्यक्त वेदनाको व्यथा।


हाम्रो मावलाको हजुरबाले रोपेको

त्यो ठूलो आँप र बर पिपलको रूख

मचीनाको लाबरबारीमा, पर्खि रहेका छन्

हामीलाई हेर्न

हामी पनि उदिग्न भएका छौँ

उनीहरूलाई भेट्न

बार बारेर भागवत लगाउने विचार पो छ त

हाम्रो त्यो हजुरबाले अन्तिम स्वास लिएको ठाउँमा!

खोली दिनुहोस त्यो दैलो, हे महापुरुष!

पुस्तौँ भयो बिछोड़ भएको

यो पापको भार किन लिनु हुन्छ जीवश्रेष्ठ!


चीन जस्तो देशले त खोली दियो

बिछोड भएकाको दुःख सम्झी

अरू देशमा छुटेका आफन्त मिल्न

हजुरहरू किन पछि पर्नु भएको?

हे बर्माका बुद्ध प्रेमी, प्रभु देवता,विज्ञजन

हामी केही बिगार गर्दैनौँ

बस् आफन्त भेटेर आउने

पुण्य त हजुरहरूलाई नै जान्छ

चुक्कुल खोली दिनुहोस प्रभु! त्यो दैलाको

हामी हजुरहरूको गुणगान गाउँने छौँ

एक पटक अँगालो मार्न त दिनुहोस

आफन्त हरू सँग धित मारेर।


हे भारतका राष्ट्रनेता ,कति ढोल बजाउनु हुन्छ

मित्रताको र राजधर्मको

भनि दिनुहोस त्यो मुलुकलाई

सुनाई दिनुहोस हाम्रो सत्य कथा

अब हाम्रो धैर्यको परीक्षा नलिनुहोस ल!

जाने परिबन्द गरिदिनुहोस

उन्मुक्त हुन चाहन्छौँ हामी, केही दिन

गोर्खालीको आवेगलाई ठोकी दिनुहोस्

एउटा सलाम ,जे परे पर्ला।

त्यो तथाकथित तघारो खोली दिनुहोस

हाम्रो मिलनको कथा लेखिने छ

हजुर हरूकै नाउँमा

हामी तर्पण दिन्छौ मृतक आत्मालाई

वहाँ गएर 

हर्षको आँसु बगाउने छौँ

जीवन्तलाई भेटेर

छापिने त हजुरकै नाउँ हो इतिहासमा

आग्लो खोलि दिनुहोस् हजुर!

हामी उखुम् भएका छौँ

मिलनको चाहनाले

हे राष्ट्रप्रधान!विन्ती सुनि दिनुहोस

नत्र अर्को जन्ममा चरी भएर

जान बाहेक अरू केही माध्यम

रहेन हाम्रो

विन्ती छ हजुर ,गुहार सुनि दिनुहोस।

ढोका खोलि दिनुहोस् प्रभु!


पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला, गुवाहाटी

11/7/2021