प्रकाशकीय

 


प्रकाशकीय

अनन्तपारं किल शब्दशास्त्रं स्वल्पं तथायुर्बहवश्च विघ्नाः।

यत्सारभूतं तदुपासनीयं हंसैर्यथा क्षीरमिवाम्बुमध्यात्॥

महासुभाषितसङ्ग्रह:

(लिनुपर्ने/जान्नुपर्ने ज्ञान असीमित छन् जबकि मनुष्यको आयु अति नै थोरै छ त्यसैले राम्रा र असल तत्त्वहरू जुन छन् ती कुराहरू जान्नलाई मानिसले हंसले पानीबाट दुध छुट्टियाएर लिएजस्तै ज्ञान तत्त्व लिन सक्नु पर्दछ।)

मैले विद्यालयमा अध्यनरत हुँदा गुरुले सुनाउनु भएको उपरोक्त श्लोकले समय समयमा सारै झकझाकाउँने गर्छ, के  गर्ने त यो छोटो जीवनमा ॽ साहित्यमा नै केही योगदान गर्ने इच्छा जाग्यो। आदरणीय भतिज दीपक सुवेदीसँग मेरो प्रत्यक्ष भेट नभए तापनि समय समयमा वार्ता भै रहन्थो । वहाँले साहित्यप्रति गरेको अथक परिश्रम र सेवाले मेरो मन छोयो।

सौभाग्यवश सम्बन्धमा म काका हुन पुगेँ । मेरो निकै कविताहरू सहित्यपोस्टमा  प्रकाशित भए पछि वहाँले एउटा कविता सङ्कलन प्रकाशित गर्न आग्रह गर्नु भयो।वहाँले नै फेसबुकबाट मेरा सबै कविता सङ्कलन गरेर पुस्तक छपाउने श्रीगणेश गरिदिनु भयो। एकदिक प्रसङ्गवस मैले साहित्यमा मेरो लायक केही सेवाभन्दा वहाँले अन्तर्वाता लिएको भारतेली साहित्यकारहरूको पूर्व प्रकाशित सङ्कलन निकाल्ने आग्रह गर्दा मैले तुरन्तै हुन्छ लौ गरौँ भने । प्रक्रिया प्रारम्भ भयो र पुस्तक आकारमा हुन गयो। 

आसाम, मणिपुर, सिक्किम, बंगाललगायत अरु अरु ठाउँका काव्यकारहरूको एउटा स्मृति प्रकाशित भए वर्तमान साथै भविष्यमा साहित्य भण्डारमा एक अविस्मरणीय संग्रह हुने छ जस्तो मलाई आभास भयो । हाम्रा दिवंगत पितृहरूमा पनि एउटा श्रद्धाञ्जली यसै माध्यमबाट गर्ने मेरो पनि इच्छा जाग्यो।

मेरो बाल्यकाल जन्मथलो आसामको तिनसुकिया जिल्लाको धौला, बोकापथार भन्ने ब्रह्मपुत्रको छेउमा बितेको हुनाले सानैदेखि असमिया माध्यममा अध्ययन पठन पाठन भयो । नेपाली साहित्यमा रुचि भए पनि साहित्य चर्चा गर्न मौका मिलेन । बुबा पण्डित हुनाले वहाँको नेपालीमा आफ्नै तीर्थयात्रा छन्द कवितामा लेख्नु भएको वाचन सुनेर मन प्रफुल्लित हुन्थ्यो । पछि त्यो  "मेरो तीर्थयात्रा" हामीले सानो पुस्तक प्रकाशित गरि दिए पछि बुबा सारै आनन्दित हुनु भएको याद आउँछ। मपछि जागीरको सिलसिलामा मेरो बसोबास जागुन रामपुरमा भएको हुनाले त्यहाँ पनि बुबालाई साथै लिएर बस्ने अहोभाग्य मिल्यो। हामी छ भाइ एउटी दिदी हुनाले दसैँ या कुनै चाडमा सबै भेला हुन्थ्यौँ । सबैलाई केही सेवाकार्य गर्न, साहित्र चर्चा गर्न, अध्ययन गर्न, गरीबलाई मद्दत गर्ने सल्लाह दिनु हुन्थ्यो।

सन २००२ मा महामहिम प्रयात राष्ट्रपति स्व. ए पी जे अब्दुल कलाम जागुन् दिहिङ पाटकाई उत्सवमा पदार्पण हुँदा हाम्रो दिवङ्गत पिता रामलाल उपाध्यायले भेट्ने अवसर प्राप्त गर्नु भएको थियो। त्यो अन्तरङ्ग आलापमा बुवाले युद्धमा बिथोलिएको कथा सुनाउनु भएको थियो । त्यो बुवाले भन्नु भएको सत्य कथा "war time memories" स्मारिका पत्रिकामा राख्ने मौका मिल्यो। छापिएपछि बुवा सारै रमाउनु भएको थियो। मलाई गालामा मोइ खाएर यो प्रकाशित गरेर "मेरो मनहृदय प्रसन्न गरिदिस् बाबु" भन्नु भयो । लेख प्रकाशित हुनु र महामहिमले पत्रिका लोकार्पण गर्दा भएको बुबाको प्रसन्नता म व्यक्त गर्न सक्दिन। लेख पढेपछि निकै व्यक्तिहरू बृद्ध पितालाई भेट्ने र युद्धको कुरा सुन्न आउन थाले। मलाई पनि बुबाको खुशी देखेर काव्य रचना र प्रकाशन एउटा अद्भुत प्रेरणाको स्रोत रहेछ भन्ने आभास भयो।

अक्टोबर २०२० महिनामा मलाई Covid 19 भएर लगभग तीन महिना चिकित्सामा रहनु पर्यो। एकपटक त सबैले बाँच्ने आशा छोडी सकेका थिए। मलाई पनि म बाँच्छु भन्ने रत्तिभर आशा थिएन। अस्पतालबाट लगभग एक महिनापछि घरैमा अक्सिजन लिएर बसेको दुई महिना समयमा कविता कोर्ने इच्छा जाग्यो। त्यो समयमा लगभग ६० वटा जति कविता कोर्ने मौका मिल्यो। अनलाइन पत्रिका "सेतोपाटी" मा "बुढी" भन्ने एउटा कविता प्रकाशित भएपछि लगभग १६००० सेयर र १२०० कमेन्टले मेरो साहित्यिक यात्रालाई सारै प्रोत्साहन मिल्यो । साहित्य हाम्रो प्राणवायु नै रहेछ। कथा, कविता आदि लेखेर मन भुलाउने थालेँ। आफ्नो साथै अरु विज्ञजनको सिर्जना प्रकाशित गरेर, पठन गरेर पाउने सन्तुष्टि र आशीर्वादले मन हृदय तरङ्गित हुँदोरहेछ । मैले र दाजु खडानन्द दुलालले ९२ जनाको रम्बास कविता संकलन "वर पिपल" प्रकाशन गरेर एक आनन्द प्राप्त गरिसकेको थियौँ। मैले मलाई प्रेरणा दिने आफ्नो दिवङ्गत पितृहरूलाई यो काव्य सङ्कलन अर्पित गर्ने एक सुनौला मौका पाएँ। यसै क्रममा मेरो कविता सङ्कलन "पातको फिरफिरे" प्रकाशित गर्न मलाई निकै प्रोत्साहन र माया दीपक सुवेदी र मोहन सुवेदी लगायत प्रत्यक्ष र परोक्षा प्रेरणा दिने सम्पूर्णमा हार्दिक आभार टक्र्याउन चाहन्छु।

विभिन्न प्रान्तका १३ वटा पुस्तक एकै चोटी लोकार्पण गर्न चाँजो मिलाउने "नेपाली साहित्य विकास समिति" टिरापका सम्पूर्ण कर्मकर्तालाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी काका-भतिजाको यो  प्रयासलाई सबैले आ-आफ्नो प्रतिक्रिया दिएर कमी कमजोरी औँल्याइदिए

हामी धन्य हुने थियौँ। हामी सबैमा माया प्रेम निरन्तर बनी रहोस् । यो पुस्तकमा संकलित हुनु भएको सबै काव्यकारहरूमा वहाँहरूको काव्य रचनाले उच्च शिखर चुमोस् भनेर प्रार्थना गरें। कुनैदिन हामी सबै भेला भएर अन्तरंग आलाप गर्ने मौका प्रभुले प्रदान गरुन्। अन्तमा सारै मनछुने भतृहरीको यों नीतिश्लोकबाट मेरो मनको उद्गार समाप्त गरेँ।

श्रोत्रं श्रुतेनैव न कुण्डलेन,

दानेन पाणिर्न तु कङ्कणेन ।

विभाति कायः करुणापराणां,

(विभाति कायः खलु सज्जनानां)

परोपकारैर्न तु चन्दनेन ॥ 

जयतु भाषा जननी।

पुरूषोत्तम उपाध्याय दाहाल

जगुन, रामपुर, पाँच मएल

तिनसुकिया, आसाम

हाल: बेलतला, गुवाहाटी

मोबाइल नं: 9435003329

पिन नं. ७८६१८८













आरम्भ


मार्च, २०२१ को प्रारम्भतिर नै साहित्यपोस्टमा प्रधान सम्पादक अश्विनी कोइरालासँग भारतेली नेपाली स्रष्टासँगको वार्ता प्रकाशन गर्ने कुराकानी भयो । लगभग मेदेखि हुनुपर्छ हरेक आइतबार प्रकाशन पनि हुनु थाल्यो । ‘यी वार्ताहरू पुस्तकका रूपमा पनि प्रकाशन भए वा गर्न पाए ॽ’ बेलाबेला अश्विनीसरसँग कुराकानी भइरहेकै थियो । म अवसर र माध्यमको खोजीमा नै थिएँ । 

एकदिन सामाजिक सञ्जालमा पेशाले पन्जाब नेशनल बैँक गुवाहाटी, आसामका वरिष्ठ प्रवन्धक पुरूषोत्तम उपाध्याय दाहालसँग सम्बन्ध जोडियो काका भतिज भएर । उहाँसँग कर्मले वाणिज्य क्षेत्रको भए तापनि साहित्यका विभिन्न विधा र क्षेत्रका बारेमा धेरै कुराकानी भइरहयो । यसैबिच उहाँको ‘पातको फिफिरे’ कवितासंग्रह पनि तयारी भयो । 

साहित्यपोस्टका वार्ताका बारेमा पनि सन्लापहरू भइरहे । वार्ताले विगत, वर्तमान र भविष्यमा गर्ने उपलब्धीहरूको लेखाजोखा समेत भए । जसमा स्रष्टाको पूर्वस्मरणको घटनालाई वर्तमानसँग तादाम्यकरण पारी ताजा तुल्याउन, उनीहरूको कार्य, योगदान र प्राप्त गरेको सम्मान आदिलाई चिनाउन, साहित्य र जीवनलाई के–कस्तो रूपमा हेरेका रहेछन् वा उनीहरूको विचारमा जीवनको अर्थ के रहेछ, यसैक्रममा वार्ताले स्रष्टाका गतिविधि, व्यक्तित्व, चालचलन, व्यवहार, धारणा आदिका बारेमा समेत पाठकलाई बुझ्न सहयोग पुग्छ कि भन्ने हामीले निष्कर्ष निकाल्यौँ ।

अन्ततः मैले नै काकासँग प्रस्ताव राखेँ । जसको परिणाम पुस्तक यहाँहरूका हातमा छ । के हामीले निकालेको निष्कर्षअनुसार पुस्तक छ ॽ यो अन्त्य होइन, आरम्भ हो । यसमा सबै छैनन्, केही छन् । बाँकी अर्को सङ्ग्रहमा, यस पटक यति नै यस्तै भयो । स्रष्टा सबैमा अझ सिर्जनशील जीवनको कामना ।

दीपक सुवेदी

झापा, नेपाल




वार्तासूचि


अर्जुन निरौला 

भवानी अधिकारी

विक्रमवीर थापा

छविलाल उपाध्याय

ध्रुव लोहागण

डिल्लीराम खनाल

दिलमान राई ‘चोट’

देवेन सापकोटा

गीताश्री

गोविन्द सान्डिल्य

गोमा अधिकारी

ज्ञानेन्द्र खतिवडा

ज्ञानबहादुर छेत्री

इन्दुप्रभा देवी

केबी नेपाली

कविता लामा

कृष्ण प्रधान

मञ्जुला तामाङ

मिलन बोहोरा

मोहन सुवेदी

मुक्ति बराल

नवीन पौडेल

नरबहादुर दाहाल

प्रेमचन्द्र प्रधान

पूर्णकुमार शर्मा

रुद्र बराल

सीतादेवी छेत्री

सुकराज दियाली

तारापती उपाध्याय

पुरूपोत्तम उपाध्याय दाहाल

भीम धमला