बा!म गोठ बस्तिन !
*************
त्यो हरियाली
त्यो चरन र जीवन्त कथा भन्ने
अनेकौँ रुखहरू
स्वाहा भए सब
वर्षेनी आउने हजारौं चखेवा र
अनेकौँ चराहरू आउँदैनन् हिजोआज
गिद्ध मासिए,मरेको पशु पूर्नु पर्छ हिजोआज
अनेकौँ समस्याहरु
बा! म गोठ बस्तिन !
ब्रह्मपुत्र पनि म्लान छन् हिजोआज
तुजुक देखाउन पानी नै छैन
चाईनाले पानी रोक्यो भन्छन
न भेल आउँछ न दाउरा मुडा बगाएर ल्याउँछ
फागत रित्तो छ छपडी
बा!म गोठ बस्तिन!
ब्रह्मपुत्रको शिशु,तरुण र बृद्ध रूप
छैन हिजोआज
एकै रूपमा सँधै ऊ
मेरो मनको उन्माद पनि हरायो
लोहित सुस्त भए झैं
बा! म गोठ बस्तिन !
न दुध, न चरन !
मेरो कलमले कवितानै कोर्दैन यहाँ
कति भन्नु दुःखका कथाहरू
कथा कविता बेगरको यो चौर
बिमारले तड्पिएको पशुहरू
डाले घाँस खान नपाउने बाछाहरू
हेरि रहन्छन् मेरा आँखातिर
ब्रह्मपुत्रले अर्को बाटो लिएका छन्
कुन गाउँतिर जाने तर्खरमा हो जान्दिन
बा!म गोठ बस्तिन !
ब्रह्मपुत्र माथिको पुल हेर्न आउँछन् सबै
पर वाट केमेराले गोठको दृश्य हेर्छन
खुब रमाउँछन् पर्ज्यटकहरू
अहा!अहा! भन्छन
बस त्यति नै रहेको छ गोठ
त्यो केमेराको सुन्दर दृश्यमा
मन लाग्दैन हिजोआज
बा ! म गोठ बस्तिन!!!
पुरूषोत्तम उपाध्याय दाहाल
मिरिछपडी,धौला
१७/२/२२