पातको फिरफिरे
************
फागुनको यो मौसममा
फिरिरि हावा चल्यो
रुखहरु तरुण छन्
मन्द मन्द मुस्कान् प्रक्रितिको
हिँड सबै बाल्य सखाहरू
को कहाँ छौं
कति बस्छौ सहरमा
गाउँ जाउँ जाउँ लाग्दैन?
घरको छेउको त्यो उमेर भएको
उरीम र आँपको रुखहरूले
सानोमा पातको फिरफिरे बनाउने नानीहरुलाई
सम्झेर बोलाई रहेका छ्न्
बृद्ध आमा घरैमा छिन
आमाले टपरी बनाउने सिन्का
एक एक लिएर
पातको फिरफिरे बनाएर
"लुखुरी आइज कुखुरी'
रमाएर खेलौं
बैंश गएर के भो र?
यादहरूले सारै सताउँछ
सताउँछ सपनीले पनि
डन्डिफोर नभएको गाला देखेर
कति रमाउँछन् होला रुखहरू
पातको फिरफिरे र हामीलाई देखेर।
आउ सखा को कहाँ छौ
पातको फिरफिरे खेलौं।
***
पुरुषोत्तम उपाध्याय दाहाल