असमको धौला, तिनसुकियामा बुबा स्व.रामलाल उपाध्याय दाहाल र आमा स्व.दिव्यश्वरी उपाध्याय दाहालका अन्तरे पुत्ररत्नका रूपमा पुरूषोत्तम उपाध्याय दाहालको जन्म भएको थियो । दाहाल पेशाले पंजाब नेशनल बैंक गुवाहाटी, आसामका वरिष्ठ प्रवन्धक हुन् । दाहालको पातको फिरफिरे (२०२२) समेत प्रकाशित छ । साहित्यपोष्टका लागि पुरूषोत्तम उपाध्याय दाहालसँग दीपक सुवेदीले गरेको कुराकानी
तपाईंको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?
म ब्रह्मपुत्रको छेउमा गोठमा बस्ने गर्थे।गोठ बुबाले मेरो जिम्मामा छोडी दिनु भएको थियो।गोठमा गोठालाहरू प्रेम लहरी मदन लहरी गाउँने गर्थे । मैले पनि कक्षा नौमा हुँदा दुईटा प्रेमील रचना लेखेर गोठालाहरूको वाह वाह लिन सकें। जुन कविता यसप्रकार थियो।
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा
************************************
१
तरुण भयो आमको वोट फुलै फुलो रुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
खेत जाँदा मेलापात फर्की हेर्ने बानी
उमेर भयो यौवन चढ्यो सोच साइँली नानी
किटान दिई भन्छू म त राख्न सक्छु सुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
बर्खा लाग्यो झरी पर्यो जानु पर्ने खेतमा
रोपाई चल्छ दिनैभरि खेताला छन् साथमा
हिलैहिलो शरीरमा छैनन् कोई दुःखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
भेट हुँदा कहिले काँही मुस्काई दिने बानी
मक्ख परेँ साँईली मँत छैनौंउ अब सानी
घरजम गर्ने विचार आयो राख्न सक्छु सुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
दशैं आयो खाउँला पिउँला, लिङ्गे पिङमा जाउँला
तिमी आउनु माया बोकी दई चिउरा खाउँला
यस्तै नै हो जीवन हाम्रो बिताउ दुःख सुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
रित्तो सिउँदो रित्तो गाग्रो राम्रो हैन भन्छन
म त प्रेममा परें सायद साथीहरू भन्छन
यस्तै त यो जवानी यो आँखा को यो तुकमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।।
तिम्रो गोठ हाम्रो गोठ कति छ र टाढा
तिम्रै तिर चर्न जान्छन हाम्रा सबै पाडा
मौरी बस्यो अचानक त्यो सिमलको रुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
तरुण भयो आमको वोट फुलै फुलो रुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
२.
दुलाल साइँली मेला गईन याद छिनछिनमा
******************************
बर्खा लाग्यो खोला बड्यो असारैको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा
चाम्रे भातको खाजा अनि गुनरुकको अचार
मैले मनमा बसाई सँके के छ तिम्रो विचार
मन मिले सबै हुन्छ हिजो आज दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा ।
रातो रिबन नीलो जामा किनि दिने मन छ
भन्नु पर्यो साइँली नानी यसले केहि दिन्छ
ढिकी चल्छ चिउरा निम्ति मुङ्गिरको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
निकै दिन भो छैन खबर कता हौली अहिले
यस्तरी त गार्हो हुन्छ के गर्नु र लौ मईले
यस्तो चुरा लगाऊ साइँली खन्क्योस रात दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
लाली पाउडर किनि दिउँला बजारैमा जाउँला
तिमी आउनु सुटुक्क लौ ललिपप नै खाउँला
ढुङ्ग्रो बज्यो मोई पार्दा वैशाखको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
अस्ति खबर पठाई रथेँ पायौ होला तिमीले
दुःख सुख बाँडि लिउँला" ल" भनन् अहिले
गुन्द्री बुन्छौ आगनैंमा माघको त्यो दिनमा
दुलाल साइँली मेला मेला गईन याद छिनछिनमा।
चोखो मन यो खोजी हिँड्छ माया को त्यो भाखा
दिन रात खोजी हिँड्छ मेरा ई दुई आँखा
पाखुरा छन् दरो मेरो पार्ने छुइँन ऋणमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
(यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा कान्छा गोदार बाले यो लयको प्रेम लहरी आफैँ कथेर गाउनु हुन्थ्यो । यो "प्रेम लहरी" "मदन लहरी" हो केटा हो भन्नु हुन्थ्यो । पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन। लय सुन्दर हुन्थ्यो। त्यस्तै लयको दुईवटा कविता लेखेँ मैले पनि।विज्ञहरुबाट यसबारे केही जानकारीको आग्रह राँखे। वहाँको लहरीमा हामीले केही शब्दहरू लक्षणरेखा नाघेको पनि अनुभव गर्थ्यौं।)
प्रकाशनका दृष्टिले चाहिँ ?
प्रकाशकको दृष्टिले पहिलो रचना "धुरु धुरु रुन्छ मेरो कविता" जुन २०२१ सेतोपाटी डट कममा प्रकाशित भएको थियो ।
जीवनको भोगाई र बाल्यकाललाई हेर्दा कस्तो देख्नुहुन्छ ?
जीवनमा भोगेको कुराहरू अविरल छन्। अं ई.१९८९ मा म गोठमा सारै ठूलो ब्रह्मपुत्रको बाढी आयो। म नौ कक्षामा थिएँ।सात दिन बाढीले गर्दा जङ्गलमा सातजना व्यक्तिले नौकामा कटाएको र पछि हामीलाई उद्धार गरेको सारै याद आउँछ। दुई जनाले ज्यानसम्म गुमाए। गाई भैँसी मरेर स्वाहा भए। हैजाले गर्दा गोठ छोड्नु पर्यो सबैले। पशुले भोक लाग्दा छानाको खर र खम्बाको बन्धन खाएको देखेपछि मन सारै दुःखित भयो।गाई बाछाको बिचमा जाँदा नाङ्गो भएर जानु पर्ने। नत्र भोकले लुगा खान आउने अवस्था झल्झली याद आउँछ। पछि जागिरमा लागे पछि सर्पले पनि टोक्यो। दिन दह्रो भएकोले बाँचियो। पछि फेरि बैँक डकैतमा परेर पनि बाँचे।
साहित्यमा प्रवेश गर्दाका शुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?
खै के भन्नु र।अव्यक्त कथाहरू छन्। अक्टोबर २०००मा कोभिड भएर लगभग तीन महिना उपचारमा रहनु परेको थियो। बाँच्ने आशा थिएन मेरो। त्यो समयमा निकै कविता कोर्ने मौका मिल्यो। एउटा कविता "बुढी" लेखेर सेतोपाटी डटकममा प्रकाशित हुँदा लगभग १६००० सेयर र १२०० लाइक भए पछि मलाई निकै हौसला मिल्यो । निरन्तर लेख्न मन लाग्यो । मन पनि प्रसन्न हुने कविता /कथा लेख्दा। मेरो कथा र कविता प्रकाशित भएपछि लेख्ने इच्छा निकै जाग्यो।निकै कविता र कथा साहित्यपोस्ट र सेतोपाटी डट कममा प्रकाशित भयो। मलाई मौलाउन मौका मिल्यो। मलाई फोन गरेर कविताको आग्रह गर्न थाले। म आज पनि सिकारु नै ठान्छु आफैँलाई।
प्रेरणाचाहिँ कहाँबाट मिल्यो ?
बुबाले सबाईको लयमा कविता कोर्नु हुन्थो। बुबा तीर्थ घुमेर आए पछि "मेरो तीर्थयात्रा" भन्ने छन्द कविता लेख्नु भयो।त्यो सुनेर सारै राम्रो लाग्ने।स्कूलमा हुँदा म कविता वाचनमा प्रथम हुने गर्थे।मेरो प्रेरणा बुबा र विद्यालय।कविता वाचनमा पुरस्कार पाउँदा लेख्ने प्रेरणा पनि जाग्यो।निकै दिनबाट साँचेर राखिएको इच्छा अचानक फर्कियो।
आफू कुन विधाको स्रष्टा हुँ जस्तो लाग्छ ?
मेरो कविता गाउँघर, गोठ-गोठालो, नदीनाला, मानिसको र समाजको वेदना, नारीको दुःख लगायत सामाजिक व्यवस्था। आफूले टेकेको माटो, देशको अनुहार, जातिको अस्तित्व, विलाउँदै गएका पारिवारिक सम्पर्क, टुक्रिएको आत्मीयता,स्मृतिको छवि, दरिद्रताको विभत्सता, धनले मात्तिएको समाज व्यविथा आदिले सारै सताउँछ।
कवितलाई परिभाषित गर्नुपरेमा के भन्नुहुन्छ ?
कवितालाई परिभाषित गर्नु पर्दा म त मनको उद्गार लेख्ने एक अब्बल साधन भनेर भन्छु। कविताको के के विशेषता हुन्छ त्यो पनि मलाई थाहा छैन। लेख्छु सुनाउँछु आनन्द लिन्छु, रमाउँछु अनि रसपान गर्छु। आनंद आउँछ। जति र जे जान्दछु त्यही लेख्छु।
केले कवितलाई राम्रो बनाउँछ ?
हामी असमिया माध्यमबाट पढेको हुनाले नेपाली कविता कोर्न नै गाह्रो। कविता वास्तव, सहज सरल भए राम्रो भै हाल्छ जस्तो लाग्छ। कविता राम्रो बनाउने त्यस्तो केही कलम या साधन खोजेर भेटिन्छ जस्तो मालाई लाग्दैन। मनको भाव सलल बगे सारै आनन्द आउँछ।
तपाईंको आफ्नै कविता लेखनकलाको बारेमा केही बताइदिनु न ।
ममा त्यस्तो कला छ जस्तो लाग्दैन। मनमा आएको लहरलाई सकेसम्म राम्रो मालामा उनेको नै लेखन कला हुन्छ मेरो लागि। हिज्जे र व्याकरण पछि । पहिले रचना आनन्दले कोर्ने। चरा, नदी, खोलाको के भाषा हुन्छ र ? के व्याकरण हेर्छन र उनीहरू ? जस्तो बोल्छ त्यही अनुपम।
असमेली नेपाली साहित्यमा धेरै लेखिएको विधा कुन छ ?
असमेली नेपाली साहित्य मा धेरै लेखिएको त कविता जस्तै लाग्छ। कथा, उपन्यासको मात्रा त्यति धेरै छन् जस्तो मलाई लाग्दैन। निकै स्तरिय काव्यकारहरू हुनुहुन्छ।
थोरैचाहिँ नि ?
खण्ड काव्य, उपन्यास, छन्द कविता र निबन्ध थोरै लेखिएको जस्तो मलाई लाग्छ।
समग्रमा असमेली नेपाली साहित्य कस्तो छ ?
मेरो विचारमा असमेली नेपाली साहित्य स्रष्टाको आफ्नै कष्टमा अर्जित भएको छ। न कोही सिकाउने न कसैले गरीब साहित्यकारहरुलाई मद्दत गर्ने। तर स्तर सारै राम्रो छ जस्तो लाग्छ। एकदिन यो राम्ररी फस्टाउने आशा छ।
असमेली नेपाली साहित्यमा सम्भावनाहरू के के हुन् ?
असमेली नेपाली साहित्य सम्भावना निकै छन्।नयाँ महिला स्रजक साथै अरु अरु स्रजक पनि अब्बल छन् आगामी दिनहरुमा हामी असनेली नेपाली साहित्यमा निकै राम्रा राम्रा रचना देखिने सम्भावना छ। उपन्यास, कथा र कविता निकै आउने सम्भावना छ।
चुनौतीचाहिँ के के छन् ?
चौतर्फी चुनौती छ। भाषा समस्या, प्रकाशन समस्या लगायत कसैले कार्यशाला आदि गरेरे देखाए भनि उत्साह बढ्ने छ। नत्र कोपिलामा नै रहने छ।जे गरे पनि आफ्नो प्रयासले गर्नु पर्ने जस्तो देख्छु।प्रकाशन गर्न निकै खर्च लागत हुने भएकोमा आर्थिक दृष्टिमा पछि रहेका काव्यकारहरू फस्टाउन पाएका छैनन् जस्तो लाग्छ।
यी चुनौतीलाई समाधान गर्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?
यी चुनौतीलाई समाधान गर्न सबैले हातेमालो गरेर अघि बढ्नु जरुरी छ। आर्थिक सहायता, प्रकाशनको व्यवस्था गोष्ठी, आदान प्रदान आदि गर्न कोही आउनु पर्छ।
असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि कहाँबाट कोको हुनुहुन्छ ?
असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि निकै हुनुहुन्छ।मलाई त स्व.हरिभक्त कटुवालको कविताले नै ज्यादा छुन्छ।प्रेरणा मिल्छ।अहिलेका मैले जानेका र पढेका कविताहरू मध्ये ड.देवेन सापकोटा, डम्बर दाहाल, नैना अधिकारी, अनुपमा कट्टेल, मनिषा दाहाल, रुद्र बराल, मिलन बोहोरा, पूजा आचार्य, युद्धबीर राणा, अर्जुन उप्रेती, कुञ्ज देवी उपाध्याय, हिरणमई आचार्य,कुले भाइ, प्रकाश कुइकेल, पूजा उपाध्याय, मिनादेवी फुयेल, जगन्नाथ उपाध्याय आदि । मोहन सुवेदी मेरा सारै प्रिय कवि।वहाँको रचना मलाई सार्है मन पर्छ।
समकालीन असमेली कवितालाई कसरी हेर्नुभएको छ ?
समकालीन असनमेली कवितालाई आकाशको उज्यालो नक्षत्र देख्छु। नेपाली साहित्यको ढुकुटीमा राम्रो योगदान हुने क्षमता छ।सबै कविहरू अब्बल हुनुहुन्छ।
कविहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
कविहरूको दायित्य तमाम छ।समाजको स्पष्ट द्रष्टक भएर सबैतिर अंगालेर राम्रोलाई कदर र नराम्रोलाई विरोध गर्नु पर्छ। कविमा त्यो शक्ति निहित छ। निर्धक्क भएर लेखेर समाजलाई प्रगति तर्फ लान कविको निकै योगदान हुनुपर्छ। एउटा शब्दले ब्यक्ति परिवर्तन भएको उदाहरण निकै छन्।कविले समय परिस्थिति अनुसार उचाल्ने पछार्ने दुवै गर्छन।अरूले त्यो गर्न सारै गाह्रो हुन्छ जस्तो मलाई लाग्छ।
कविहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्छ ?
कविहरूको प्रोत्साहनको लागि राज्यले साधन र उत्साह दिन अत्यन्त जरुरी छ।कवि साधारणत कसैवाट आशा गर्दैन तर राष्ट्रले सम्मान गरे प्रतक्ष्य या परोक्ष रूपमा फायदा जनताले नै पाउने छ।राष्ट्रले कविको भलो चिताए समाज सुन्दर बन्छ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
अहिले इन्टरनेटको जमानामा पुस्तक पढ्ने भन्दा अनलाईन पढ्ने निकै भएका छन्। काव्य बेच्ने वस्तु त हैन तर राम्रो लागेर पठन गरे मन मस्तिष्कले राम्रो खोराक पाउँछ।लागत सम्म पाउने आशा कविके नगरे पनि पाए ऊ अवश्य आनन्दित हुन्छ।बजार मन्दा छ। तर अन्तमा त साहित्यले नै राम्रो खोराक दिन्छ। भविष्यमा बजार उच्च हुने आभास पनि छ।
तपाईंका अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् ?
ई स.१९९१ मा म जागीरको निम्ति एउटा अन्तरवार्ता दिन कलकत्ता गएको थिएँ। म नेपाली भएको नाताले नेपाली रामायणको प्रकाशक र सम्पादन बारे प्रस्न गर्दा केही जवाब दिन सकिन। स्व.कटुवाल बाहेक अरु कुनै काव्यकारको नाउँ सम्म भन्न सकिन।नेपाली पढेकै थिएन कसरी जान्नु ? म चयन भइन।खुब रोएको थिएँ।पछि त्यही वर्ष आमा सँग नेपाल आफन्त भेट्न जाँदा पैसा मागेर निकै पुस्तक किनेर ल्याएँ र अध्ययन गरें। त्येसपछि कुनैपनि अन्तरवार्तामा नेपाली भाषा बारे निकै जवाब दिन सक्ने भएँ।अन्तमा एकदिन जागीरमा चयन पनि भएँ।जहाँ बसे पनि नेपाली भन्न साथ नेपाली साहित्य बारे जानकारी नहुनु एउटा कलंक रहेछ भन्ने मनमा कुरा रही रह्यो। आफ्नो भाषा साहित्य जान्न सारै जरुरी रहेछ। सबैलाई आफ्नो भाषाज्ञान प्राप्त गर्न अनुरोध पनि गरें।
जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नुहुन्छ ?
मैले जीवनमा सारै नजिकवाट मृत्यु देखुको हुनाले जीवन क्षणिक हो र हामीले भलोकर्ममा आफैलाई लगाउनु पर्दो रहेछ भन्ने विश्वास जागेको छ। दुई दुई पटक मृत्यु वाट नजिक पुगेर फर्केका हुनाले यसको प्रयोग शुभकार्यमा नलगाए पछितो हुने रहेछ। मानिसले सकेसम्म अरूलाई मद्दत पुर्याउने कर्म गर्नु पर्दो रहेछ।कसैलाई केही दिए या दान गरें सहायता गरे मानिस कहिलेइ गरीब हुँदो रहेनछ।सामाजिक कार्य जस्तै, बाटोका कुकुरको उपचार,गरीब विद्यार्थिलाई र बिरामीलाई मद्दत गरे जीवन निकै सफल हुन्छ। हाल दुईटा पुस्तक प्रकाशनको रूपमा व्यस्त छु। एउटा "वर पिपल" रम्बास कविता जसमा ९१ जना भारत, नेपाल र बर्माका काव्यकारहरु संगालेर कविता संकलन प्रकाशित गर्ने जमर्को दाजु खडानन्द दुलालसँग मिलेर गर्ने काम प्राय सम्पन्न हुन गएको छ। अर्को पनि एउटा दीपक सुवेदीज्यूको प्रकाशन गर्न जमर्को गरेको छु। बाँकी प्रभु कृपा।
तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सर्जनाका बारेमा केही जान्न सकिन्छ ?
मलाई उत्कृष्ट लागेको विश्वस्तरीय सर्जक मध्ये मुख्यतः मेक्सिम गोर्की, कवि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा लगायत मेरा बाबुले लेखेको कविता सारै मन पर्छ। मेरी दिवङ्गत आमाले गाएको केहि नेपाली स्तोत्रहरू पनि मलाई विश्वस्तरीय नै लाग्छ। पद्मश्री लिलबहादुर क्षत्रीज्यू पनि मेरो प्रेरणा हुनुहुन्छ। ई स.२९८३ मा म गुवाहाटी कलेज पढ्न आउँदा वहाँको सानिध्यले मालाई निकै प्रेरणा मिल्यो।मालाई सारै मायाँ गर्नु हुन्थ्यो। वहाँको सबै रचना पढेको छु।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले केके गर्नुपर्ला ?
ठुला ठुला नाम गरिएका साहित्यिकहरूले सबैलाई मायाँ गरेर लेख्न उत्साह नदिए हाम्रो साहित्य एक अर्कालाई खुट्टा ताना तानि गर्यो भने फस्टाउन पाउँदैन। गाउँको भित्रि क्षेत्रमा रहेका सुप्त काव्यकारहरुलाई जगाउनु पर्छ। वहाँहरुको रचना संकलन गरेर प्रकाशित गरे अमूल्य खजाना पाउने सम्भावना निकै देखिन्छ।
विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबिचको सम्बन्धलाई कनुरूपमा हेरिरहनु भएको छ ?
शासक र सर्जकबिचको समन्ध राम्रो नभए सबै लथालिङ्ग हुन्छ जस्तो लाग्छ मलाई। शासक मायालु साथै काव्यिक भए जनता सधैँ खुशी हुन्छन्। कुनै कुनै समयमा शासकके सर्जकलाई दमन गरेको उदाहरण देखिए र पनि शासक हारेको नै देखिन्छ। काव्य अमर हुन्छ भन्ने मेरो विचार छ।
आफ्ना रचना वा कृतिलाई सम्झनु परेको खण्डमा कुन रचना वा कृतिलाई सम्झनुहुन्छ ?
मेरो कविता "बुढी" लगभग दस लाख पाठकले पढेर हजारौ कमेन्ट गरेको रचनालाई सारै सम्झिन्छु।मलाई यो कविताले निकै प्रेरणा दियो मनपराईदिने सबै पाठकहरुलाई हार्दिक आभार दिन चाहन्छु।मालाई गोठको कविता रारै राम्रो लेख्नु हुन्छ भनेर सधैँ प्रेरणा दिने वरिष्ठ कवि, लेखक मोहन सुवेदीज्यूले बारम्बार पुस्तक निकाल्ने प्रोत्साहान दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। कहिले काँही फोन गरेर मेरो कविता सुन्ने आग्रह गर्नु हुन्छ। म सारै आनन्दित हुन्छु।
जीवनका लेखकीय भावी योजना के के छन् ?
अहिले जागीरमा व्यस्त भए पनि भविष्यमा कथा, कविता उपन्यास लेखने जमर्को गर्दै छु।अरु निकै कविता पनि छन् । समय मिले प्रकाशित गर्ने इच्छा पनि छ अदिर्वाद गर्नुहोला।
साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?
साहित्यमा लागेर मैले गुमाएको त केही छ जस्तो लाग्दैन।जीवन युद्ध गर्ने कला पो साहित्य वाट पाएँ जस्तो लाग्छ।साहित्य नै रहेछ अन्ततः मनलाई राम्रो खोराक दिने विधा जस्तो लाग्छ मलाई।यो त बुझ्नेलाई प्राणवायु पो रहेछ।साहित्यले मनमुटु पूर्ण हुने अक्सीजेन प्रदान गर्ने काम गर्दो रहेछ।सारै आनन्द आउने।
नवोदित स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?
म सल्लाह दिने स्तरको सर्यक भएको छु जस्तो मलाई लाग्दैन र पनि आग्रह गर्न सक्छु।खुब लेख्नुहोस।जे मनपर्छ त्यही लेख्नुहोस।एकदिन अवश्य रचना खारिएर पनि आउँछ साथै अध्ययन गर्न सारै जरुरी छ । वाचन राम्रो भए कविता जीवन्त हुन्छ।वाचन गर्नुहोस या नमिले गराउनुहोस्।यसको आनन्द तमाम हुन्छ। पुस्तकभित्र रहेको कविता के गर्नु ? वाचन गरे जीवन्त हुन्छ।