हेलो हेलो

 हेलो हेलो

*******

कहिले कँही विरक्ति लाग्छ

मोबाइल को यो हेलो हेलो सुनेर

म सुनेर अघाएँ तर उनीले सुनै पाउनु भएन

चिठी एउटा  माइत वाट आएको

त्यो पनि बर्मा वाट हजुरबाले लेखेको

"बाई एयर मेईल" लेखिएको

प्रतिदिन पढ्न लाउनु हुन्थ्यो आमा!

सिरानीमा राख्नु हुन्थ्यो चिठी

थिएन त्यो मोबाइलको 

हेलो हेलो।


कति कुरा गर्नु हुन्थ्यो होला

मोबाइल भएको भए

उता हजुरबा, यता आमा

दुवै तिरको मिल्दो बिम्ब

हामी रमाएर हेर्ने थिउँ होला

दुवै जनाको मिल्दो नाक र निधार

हेलो हेलो।


उता सानिमा फेरि यता आमा

एउटै जस्तो देखिने नाक र आँखा

बोली र आउभाउ एउटै

उता सबै सानिमाको परिवार

यता हाम्रो परिवार

हेलो हेलो।


उता कान्छा हजुरबाको छोरी

थिएनन छोरा ,फुपु मात्रै एउटी

उता लामिछाने फुपु, यता बाबु

उता चेली यता माइत

चेलीको आँखामा आँसु

बाबुको बोलीमा भावुकता

कति हुन्थ्यो होला गन्थन

हेलो हेलो।


नौ वर्षको उमेरमा बिहे

त्यो पनि बर्मामा,विश्वयुद्धको समय

आउनुभयो बाबुले लिएर आमालाई

बिथोलियो परिवार

भयेन पुनर सम्पर्क

बेकार लाग्छ सम्झेर मलाई अहिले

हेलो हेलो।


हेलो हेलो "यो गृह मन्त्रालय हो?"

म अन्तरे दाहाल

मेरो पासपोर्ट छ,भिसा आवेदन गरेको थिएँ

बर्मा जाने,आमाको जन्मथलो हेर्ने

आफन्त भेट्ने

किन दिनुहुन्न भिसा प्रभु!दया गर्नुहोस्

फोन काटियो मन्त्रालय वाट

फगत मेरो त्यो आवाज गुन्जियो

हेलो हेलो।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२१/१/२२