माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

 माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

*********************************

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

"अल्छे ले पो माम्रीभात खान्छ"

भन्नु हुन्थ्यो आमा

अल्छेनै सही

माम्री र दुध मही र मकै खाएको  मजानै अर्को


धिउमा भुटेका फर्सीको मुन्टा

गुन्द्रुक र सिन्कीको अचार

गोलभेडाँको चटनी

तामाको आचार

तिलको अचार र सेलरोटी जति खाए पनि

माम्री र दुध मही र मकै खाएको मजानै अर्को।


सोल्लर र पाकेको फर्सीको स्वाद

ह्वाम्म ह्वाम्म खान्थ्यो अन्तरे

"भोक मिठो कि भोजन मिठो"

भन्नु हुन्थ्यो हजुरबुबा

मासको दालमा अदुवा हालेको

तर जति जे भने पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


आज धिउ खारेको दिन

नौनी धिउ र खारेको घिउ 

रोजेर खान पाइन्छ यता

तर बाछालाई डाले घाँस काट्न पर्छ नि?

घिउ र भात जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


ढकने पाक्यो लौ

टन्न खाएर बाख्रा चराउन जान्छ कान्छो

दिनभरि भोकनै लाग्दैन अब

अलिकति चिउरा पनि लिएर जान्छ

दही चिउरा जति खाए पनि

माम्री र दुध,मोही र मकै खाएको मजानै अर्को।


आँप र मुलाको थेबे,रायको साग,निगुरो र बेतको टुसाको

स्वादनै अर्को

तिता फूलको अचार

भेकुर गुटिको चटनी

औटेँगाको झोल जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


मकै मात्रै खाएर जिउँदो रहेको उदाहरण छ गोर्खालीको

काम गर्छ,गरेर खान्छ,माग्दैन भिक्षा

जंगलमा पाउने नानाथरी खान जान्दछ ऊ

थोरैमा रमाउँछ ,सबैको प्यारो बन्छ

जिउने कला तमाम जान्दछ 

थोरै खान्छ,घेरै गर्छ

माम्री र दुध, मही र मकै खाएको मजानै अर्को।


 


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी , आसाम

10/11/22


तिता फूल:आसाममा खाने चलन भएको एउटा बोटको रातो  फूल।अलिक तिती हुन्छ

बेतको टुसा:यता पाइने बेतको टुसा तितो तर सारै मिठो।पोलेर र भुटेर खाइन्छ।

औटेंगा: ठुलो रुखमा फल्ने गोलो आकृतिको अमिलो/टर्रो 

स्वादको।

भेकुर गुटी:स्यानो गोल मरिच भन्दा अलिक ठुलो।सारै तितो

           (  पूर्व आसाममा)अचार खाइन्छ ।