चुरा र आमा

 संगीत दिएर सुमधुर पारिदिने प्रकाश बुढाथोकी भाइलाई हार्दिक आभार।


चुरा र आमा

*********

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


बुबा हुनुहुन्थेन घरमा

सुटुक्क जानु भएको

फर्सी र खसी बेचेको पैसाले

रातो, नीलो चुरा हातभरी लगाएर

हामीलाई पापा खुवाएर

फर्किनु भएको।

बुबालाई नभन्नु भन्नु हुन्थ्यो!


बेलुकी चुराको आवाजले धर रमाएको

बुबाले थाहा पाउनु भयो

कसले पैसा दिएर गईस ?

को सँग गईस भन्दा,हामी रोएको

आमा रुनु भएको याद पो आयो,कान्छा!

तँ सानो थिईस,याद छ?


हाई! हाम्री आमा!

कस्तो थियो जमाना

आमाहरू न कतै जानु, न कतै रमाउनु

मात्र घर रुँगेर बस्नु!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


रहर नै रहर थियो आमाको चुरा लाउने

छ छ भाइ छोरा र एउटी छोरी हुँदा पनि

आमा पराधीन नै हुनुहुन्थ्यो

पाखुरा दर्हो थिए हाम्री आमाको

बाख्रा र साग सब्जीको आम्दानी

किन नरूचेको होला बुबालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


कसैले सक्ला बोलाउन

दिवङ्गत मेरी आमालाई!

म चुरा किनिदिने थिएँ

लगाई दिने थिएँ

रमाउने थिएँ।

फर्किने थिएँ विगतमा

बुबालाई सोध्ने थिएँ!

किन जानु दिन हुन्थेन आमालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पोते,चुरा,सिन्दुर र रातो साडी लिएर

मन्दिर जाउँ हिँड कान्छा!

चढाई दिउँ देवीको मन्दिरमा

रमाउँ केही बेर

अनन्त भावना,अनन्त कथा

कसलाई भन्नु ,कहाँ लेख्नु कान्छा!


कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पुरुषोत्तम उपाध्याय दाहाल

नागपुर,भारत

१५/२/२०२३