ब्याज सयकडा पाँच ****************

 ब्याज सयकडा पाँच

****************

कान्छा!

गरिबी साथै बीमारी

एकैचोटी आए पछि

के उपाय लाग्दो रहेछ र हाई!

बाबुले सयकडा पाँच बियाजमा

घोरसाने महाजनवाट लिएको त्यो ऋण

ब्याज चुलीले गर्दा

कहिलेइ सकिएको थिएन त्यो रकम

न बीमार नै राम्रो भयो न ऋणनै सकियो

बाबु शोकले जानु भयो

आमा विधवा भइन्

न ब्याजदर नै कम भयो।

न दुःख कम्यो।

लैनो गाई गयो

आफ्नो भएको त्यो घडेरी पनि गयो

हलगोरु गयो 

हामी पनि आमासँगै मावोला बसाई सर्यौं 

उतै हुर्कियौ।

मावोलाको हजुरबा खसे पछि

फेरि आफत आयो

मामाको पनि दुःख दुःख नै थियो

म हरिभक्त महाजनको गोठमा गोठालो भएँ

तँ बलभद्र महाजनको घरमा हली भइस् 

हाम्रो राम्रो दिन आयो

निर्ब्याजी रकम दिए दुवै महाजनहरूले 

गाई भयो,घर भयो,बुहारी आए

आमा रमाईन

हरिभक्त र बलभद्र महाजन 

देवता तुल्य भए हाम्रो निम्ति।


आमा सँग बुबाको गयाश्राद्ध गर्न जाँदा

आमाले हरिभक्त र बलभद्र बालाई पनि

पिण्ड र तर्पण दिन लाउनु भयो।


सुन्दैछु!घोरसानेबाका छोराहरू सहरमा

अट्टालिकामा बस्छन रे

बा गाउँमा नै बस्छन रे!एक्लै

सुनिन्छ बाबु छोराको कुरा 

पटक्कै मिल्दैन रे।


कान्छा!

ब्याज सयकडा पाँच लिने

दुःखमा निर्ब्याजी रकम दिनेहरूलाई 

प्रभुले हेर्दा रहेछन भन्नु हुन्थ्यो आमा!

हो रछ है!

*****

***ब्याज सयकडा पाँच : सय रुपियाँको पाँच रुपियाँ

                                    प्रति महिना।६०% वार्षिक।

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

१५/३/२३