फेसबुकको बिहे
***********
उनी नदी पारि
ऊ नदी वारी
चिनजान फेसबुकमा
मित्रता सारै गहन भयो
यसले भन्न्यो ,तिमी नदी वारी आउ
उनीले भनिन् ,आउँछु
ऊ ,मोटर साइकल लिएर गयो
उनी, डुङ्गामा वारी आइन्
ल्यायो यसले आफ्नो भित्रि त्यो गाउँमा
बाइकमा चडाएर
छक्क परे सबै,को हो उनी भने!!!
बुहारी ल्याएँ भन्यो ।
कुटुम्ब हो कि हैन भन्दा फेसबुकमा प्रफाइल हेरेको भन्यो
गोत्र ,थर र मावली बारेर ल्याएको भन्यो।
गरिदिए टिको टालो।
न जन्तनै जानु पर्यो
न भत्खौरुले दुःख पाए
न सिलोके, न जनैसुपारी, न कुनै पत्र लाउने
न कुनै बाजा, न कुनै जन्ते बाख्रो
खाँड़ो जगाउने बलबहादुर सारै दुःखित भए।
सिलिके हाँक्ने खत्री माइलो सारै रिसायो
हजुरबा,आमै बाबु र आमा सारै निस्ताए
ठिटा केटाकेटीहरू खुब रमाए
मोर्डन बिहे, छोटोमिठो भने
न हनिमुन न दुरान फर्काईको टन्टा
आधुनिक बिहे सकियो।
बहूभतेर पनि खुवाउन परेन
आज बिहानै हिजोको बेहुला बेहुली
उखु गोड्न उखु बारीतिर लागे।
बाबु गोरु नारेर खेततिर लागे
हजुरबुबा लौरो लिएर गोठतर्फ लागे
मावली र आफन्तहरू नबोल्ने भए।
सानो दस वर्षको भतिजाले
काकाले काकी ल्याउनु भयो भनेर
सारा गाउँ फुक्यो
आमाले हप्काईन,मानेन ऊ
कसैले त, कस्ती केटी कमसेकम
हातमा मेहंदी लगाएर त भाग्नु पर्थ्यो भने
गाउँ प्रमुख आएर
जमाना नयाँ आयो है बलभद्र बा भन्दै
दुध नहालेको रातो चिया खाएर फर्किए।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
५/१२/२०२२