धरतीको पुकार (पर्या कविता)
***********
कान्छा!
त्यहाँ एउटा ठुलो टापु थियो
तमाम जङ्गल, रूख र घाँस थियो
त्यो बीचमा मान्छे पस्न नसक्ने
एउटा डुबान थियो
बाघ, बनढाडे,उद बिरालो र
अनेकौ चरा चुरुंगीहरू थियो
सोल माछाको बथान थियो
पर पर गोले बा,बस्नेत दाइ
भगीरथ, भँगेरे बाहुन लगायत
लगभग सयवटा
गाई र भैंसी गोठ थियो
तर केमेरा थिएन् हामीसँग
झुठो कथाहो भन्छन अहिले नानीहरू
र
नेताहरू
प्रमाण देखाउ भन्छन
के प्रमाण दिनु कान्छा!
देखने तँ र म।
एक्लो बृहस्पति झुठो!
अहिले गाउँ भएको छ त्यो टापु
हाम्रो गाईगोठ भएको ठाउँ
ठम्याउन सकिन मैले, कान्छा!
जङ्गल, डुबान, रूख सबै सखाप भए।
हाम्रो देश
हाम्रो धरती
हाम्रो पर्यावरण उन्नत भएको भनेर
विश्व बैंकले अनुदान पो दिँदै छ रे कान्छा!
हिजोआज मलाई निद्रा लाग्दैन, कान्छा!
हात्तीले ,बाघले मान्छे मारेको कथा
सधैँ सुनिन्छ।
उनीहरू बेघर भएको कथा
कस्लाई भन्नु, कसले भन्ने, कान्छा!
मान्छे विद्वान भएकै हो त,कान्छा!
****
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
१२/३/२३