प्रकाशकीय

 


प्रकाशकीय

अनन्तपारं किल शब्दशास्त्रं स्वल्पं तथायुर्बहवश्च विघ्नाः।

यत्सारभूतं तदुपासनीयं हंसैर्यथा क्षीरमिवाम्बुमध्यात्॥

महासुभाषितसङ्ग्रह:

(लिनुपर्ने/जान्नुपर्ने ज्ञान असीमित छन् जबकि मनुष्यको आयु अति नै थोरै छ त्यसैले राम्रा र असल तत्त्वहरू जुन छन् ती कुराहरू जान्नलाई मानिसले हंसले पानीबाट दुध छुट्टियाएर लिएजस्तै ज्ञान तत्त्व लिन सक्नु पर्दछ।)

मैले विद्यालयमा अध्यनरत हुँदा गुरुले सुनाउनु भएको उपरोक्त श्लोकले समय समयमा सारै झकझाकाउँने गर्छ, के  गर्ने त यो छोटो जीवनमा ॽ साहित्यमा नै केही योगदान गर्ने इच्छा जाग्यो। आदरणीय भतिज दीपक सुवेदीसँग मेरो प्रत्यक्ष भेट नभए तापनि समय समयमा वार्ता भै रहन्थो । वहाँले साहित्यप्रति गरेको अथक परिश्रम र सेवाले मेरो मन छोयो।

सौभाग्यवश सम्बन्धमा म काका हुन पुगेँ । मेरो निकै कविताहरू सहित्यपोस्टमा  प्रकाशित भए पछि वहाँले एउटा कविता सङ्कलन प्रकाशित गर्न आग्रह गर्नु भयो।वहाँले नै फेसबुकबाट मेरा सबै कविता सङ्कलन गरेर पुस्तक छपाउने श्रीगणेश गरिदिनु भयो। एकदिक प्रसङ्गवस मैले साहित्यमा मेरो लायक केही सेवाभन्दा वहाँले अन्तर्वाता लिएको भारतेली साहित्यकारहरूको पूर्व प्रकाशित सङ्कलन निकाल्ने आग्रह गर्दा मैले तुरन्तै हुन्छ लौ गरौँ भने । प्रक्रिया प्रारम्भ भयो र पुस्तक आकारमा हुन गयो। 

आसाम, मणिपुर, सिक्किम, बंगाललगायत अरु अरु ठाउँका काव्यकारहरूको एउटा स्मृति प्रकाशित भए वर्तमान साथै भविष्यमा साहित्य भण्डारमा एक अविस्मरणीय संग्रह हुने छ जस्तो मलाई आभास भयो । हाम्रा दिवंगत पितृहरूमा पनि एउटा श्रद्धाञ्जली यसै माध्यमबाट गर्ने मेरो पनि इच्छा जाग्यो।

मेरो बाल्यकाल जन्मथलो आसामको तिनसुकिया जिल्लाको धौला, बोकापथार भन्ने ब्रह्मपुत्रको छेउमा बितेको हुनाले सानैदेखि असमिया माध्यममा अध्ययन पठन पाठन भयो । नेपाली साहित्यमा रुचि भए पनि साहित्य चर्चा गर्न मौका मिलेन । बुबा पण्डित हुनाले वहाँको नेपालीमा आफ्नै तीर्थयात्रा छन्द कवितामा लेख्नु भएको वाचन सुनेर मन प्रफुल्लित हुन्थ्यो । पछि त्यो  "मेरो तीर्थयात्रा" हामीले सानो पुस्तक प्रकाशित गरि दिए पछि बुबा सारै आनन्दित हुनु भएको याद आउँछ। मपछि जागीरको सिलसिलामा मेरो बसोबास जागुन रामपुरमा भएको हुनाले त्यहाँ पनि बुबालाई साथै लिएर बस्ने अहोभाग्य मिल्यो। हामी छ भाइ एउटी दिदी हुनाले दसैँ या कुनै चाडमा सबै भेला हुन्थ्यौँ । सबैलाई केही सेवाकार्य गर्न, साहित्र चर्चा गर्न, अध्ययन गर्न, गरीबलाई मद्दत गर्ने सल्लाह दिनु हुन्थ्यो।

सन २००२ मा महामहिम प्रयात राष्ट्रपति स्व. ए पी जे अब्दुल कलाम जागुन् दिहिङ पाटकाई उत्सवमा पदार्पण हुँदा हाम्रो दिवङ्गत पिता रामलाल उपाध्यायले भेट्ने अवसर प्राप्त गर्नु भएको थियो। त्यो अन्तरङ्ग आलापमा बुवाले युद्धमा बिथोलिएको कथा सुनाउनु भएको थियो । त्यो बुवाले भन्नु भएको सत्य कथा "war time memories" स्मारिका पत्रिकामा राख्ने मौका मिल्यो। छापिएपछि बुवा सारै रमाउनु भएको थियो। मलाई गालामा मोइ खाएर यो प्रकाशित गरेर "मेरो मनहृदय प्रसन्न गरिदिस् बाबु" भन्नु भयो । लेख प्रकाशित हुनु र महामहिमले पत्रिका लोकार्पण गर्दा भएको बुबाको प्रसन्नता म व्यक्त गर्न सक्दिन। लेख पढेपछि निकै व्यक्तिहरू बृद्ध पितालाई भेट्ने र युद्धको कुरा सुन्न आउन थाले। मलाई पनि बुबाको खुशी देखेर काव्य रचना र प्रकाशन एउटा अद्भुत प्रेरणाको स्रोत रहेछ भन्ने आभास भयो।

अक्टोबर २०२० महिनामा मलाई Covid 19 भएर लगभग तीन महिना चिकित्सामा रहनु पर्यो। एकपटक त सबैले बाँच्ने आशा छोडी सकेका थिए। मलाई पनि म बाँच्छु भन्ने रत्तिभर आशा थिएन। अस्पतालबाट लगभग एक महिनापछि घरैमा अक्सिजन लिएर बसेको दुई महिना समयमा कविता कोर्ने इच्छा जाग्यो। त्यो समयमा लगभग ६० वटा जति कविता कोर्ने मौका मिल्यो। अनलाइन पत्रिका "सेतोपाटी" मा "बुढी" भन्ने एउटा कविता प्रकाशित भएपछि लगभग १६००० सेयर र १२०० कमेन्टले मेरो साहित्यिक यात्रालाई सारै प्रोत्साहन मिल्यो । साहित्य हाम्रो प्राणवायु नै रहेछ। कथा, कविता आदि लेखेर मन भुलाउने थालेँ। आफ्नो साथै अरु विज्ञजनको सिर्जना प्रकाशित गरेर, पठन गरेर पाउने सन्तुष्टि र आशीर्वादले मन हृदय तरङ्गित हुँदोरहेछ । मैले र दाजु खडानन्द दुलालले ९२ जनाको रम्बास कविता संकलन "वर पिपल" प्रकाशन गरेर एक आनन्द प्राप्त गरिसकेको थियौँ। मैले मलाई प्रेरणा दिने आफ्नो दिवङ्गत पितृहरूलाई यो काव्य सङ्कलन अर्पित गर्ने एक सुनौला मौका पाएँ। यसै क्रममा मेरो कविता सङ्कलन "पातको फिरफिरे" प्रकाशित गर्न मलाई निकै प्रोत्साहन र माया दीपक सुवेदी र मोहन सुवेदी लगायत प्रत्यक्ष र परोक्षा प्रेरणा दिने सम्पूर्णमा हार्दिक आभार टक्र्याउन चाहन्छु।

विभिन्न प्रान्तका १३ वटा पुस्तक एकै चोटी लोकार्पण गर्न चाँजो मिलाउने "नेपाली साहित्य विकास समिति" टिरापका सम्पूर्ण कर्मकर्तालाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी काका-भतिजाको यो  प्रयासलाई सबैले आ-आफ्नो प्रतिक्रिया दिएर कमी कमजोरी औँल्याइदिए

हामी धन्य हुने थियौँ। हामी सबैमा माया प्रेम निरन्तर बनी रहोस् । यो पुस्तकमा संकलित हुनु भएको सबै काव्यकारहरूमा वहाँहरूको काव्य रचनाले उच्च शिखर चुमोस् भनेर प्रार्थना गरें। कुनैदिन हामी सबै भेला भएर अन्तरंग आलाप गर्ने मौका प्रभुले प्रदान गरुन्। अन्तमा सारै मनछुने भतृहरीको यों नीतिश्लोकबाट मेरो मनको उद्गार समाप्त गरेँ।

श्रोत्रं श्रुतेनैव न कुण्डलेन,

दानेन पाणिर्न तु कङ्कणेन ।

विभाति कायः करुणापराणां,

(विभाति कायः खलु सज्जनानां)

परोपकारैर्न तु चन्दनेन ॥ 

जयतु भाषा जननी।

पुरूषोत्तम उपाध्याय दाहाल

जगुन, रामपुर, पाँच मएल

तिनसुकिया, आसाम

हाल: बेलतला, गुवाहाटी

मोबाइल नं: 9435003329

पिन नं. ७८६१८८













आरम्भ


मार्च, २०२१ को प्रारम्भतिर नै साहित्यपोस्टमा प्रधान सम्पादक अश्विनी कोइरालासँग भारतेली नेपाली स्रष्टासँगको वार्ता प्रकाशन गर्ने कुराकानी भयो । लगभग मेदेखि हुनुपर्छ हरेक आइतबार प्रकाशन पनि हुनु थाल्यो । ‘यी वार्ताहरू पुस्तकका रूपमा पनि प्रकाशन भए वा गर्न पाए ॽ’ बेलाबेला अश्विनीसरसँग कुराकानी भइरहेकै थियो । म अवसर र माध्यमको खोजीमा नै थिएँ । 

एकदिन सामाजिक सञ्जालमा पेशाले पन्जाब नेशनल बैँक गुवाहाटी, आसामका वरिष्ठ प्रवन्धक पुरूषोत्तम उपाध्याय दाहालसँग सम्बन्ध जोडियो काका भतिज भएर । उहाँसँग कर्मले वाणिज्य क्षेत्रको भए तापनि साहित्यका विभिन्न विधा र क्षेत्रका बारेमा धेरै कुराकानी भइरहयो । यसैबिच उहाँको ‘पातको फिफिरे’ कवितासंग्रह पनि तयारी भयो । 

साहित्यपोस्टका वार्ताका बारेमा पनि सन्लापहरू भइरहे । वार्ताले विगत, वर्तमान र भविष्यमा गर्ने उपलब्धीहरूको लेखाजोखा समेत भए । जसमा स्रष्टाको पूर्वस्मरणको घटनालाई वर्तमानसँग तादाम्यकरण पारी ताजा तुल्याउन, उनीहरूको कार्य, योगदान र प्राप्त गरेको सम्मान आदिलाई चिनाउन, साहित्य र जीवनलाई के–कस्तो रूपमा हेरेका रहेछन् वा उनीहरूको विचारमा जीवनको अर्थ के रहेछ, यसैक्रममा वार्ताले स्रष्टाका गतिविधि, व्यक्तित्व, चालचलन, व्यवहार, धारणा आदिका बारेमा समेत पाठकलाई बुझ्न सहयोग पुग्छ कि भन्ने हामीले निष्कर्ष निकाल्यौँ ।

अन्ततः मैले नै काकासँग प्रस्ताव राखेँ । जसको परिणाम पुस्तक यहाँहरूका हातमा छ । के हामीले निकालेको निष्कर्षअनुसार पुस्तक छ ॽ यो अन्त्य होइन, आरम्भ हो । यसमा सबै छैनन्, केही छन् । बाँकी अर्को सङ्ग्रहमा, यस पटक यति नै यस्तै भयो । स्रष्टा सबैमा अझ सिर्जनशील जीवनको कामना ।

दीपक सुवेदी

झापा, नेपाल




वार्तासूचि


अर्जुन निरौला 

भवानी अधिकारी

विक्रमवीर थापा

छविलाल उपाध्याय

ध्रुव लोहागण

डिल्लीराम खनाल

दिलमान राई ‘चोट’

देवेन सापकोटा

गीताश्री

गोविन्द सान्डिल्य

गोमा अधिकारी

ज्ञानेन्द्र खतिवडा

ज्ञानबहादुर छेत्री

इन्दुप्रभा देवी

केबी नेपाली

कविता लामा

कृष्ण प्रधान

मञ्जुला तामाङ

मिलन बोहोरा

मोहन सुवेदी

मुक्ति बराल

नवीन पौडेल

नरबहादुर दाहाल

प्रेमचन्द्र प्रधान

पूर्णकुमार शर्मा

रुद्र बराल

सीतादेवी छेत्री

सुकराज दियाली

तारापती उपाध्याय

पुरूपोत्तम उपाध्याय दाहाल

भीम धमला

अन्तरवार्ता

 



असमको धौला, तिनसुकियामा बुबा स्व.रामलाल उपाध्याय दाहाल र आमा स्व.दिव्यश्वरी उपाध्याय दाहालका अन्तरे पुत्ररत्नका रूपमा पुरूषोत्तम उपाध्याय दाहालको जन्म भएको थियो । दाहाल पेशाले पंजाब नेशनल बैंक गुवाहाटी, आसामका वरिष्ठ प्रवन्धक हुन् । दाहालको पातको फिरफिरे (२०२२) समेत प्रकाशित छ । साहित्यपोष्टका लागि पुरूषोत्तम उपाध्याय दाहालसँग दीपक सुवेदीले गरेको कुराकानी 


तपाईंको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?

म ब्रह्मपुत्रको छेउमा गोठमा बस्ने गर्थे।गोठ बुबाले  मेरो जिम्मामा छोडी दिनु भएको थियो।गोठमा गोठालाहरू प्रेम लहरी मदन लहरी गाउँने गर्थे । मैले पनि कक्षा नौमा हुँदा दुईटा प्रेमील रचना लेखेर गोठालाहरूको  वाह वाह लिन सकें। जुन कविता यसप्रकार थियो।


तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा

************************************

तरुण भयो आमको वोट फुलै फुलो रुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

खेत जाँदा मेलापात फर्की हेर्ने बानी

उमेर भयो यौवन चढ्यो सोच साइँली नानी

किटान दिई भन्छू म त राख्न सक्छु सुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

बर्खा लाग्यो झरी पर्यो जानु पर्ने खेतमा

रोपाई चल्छ दिनैभरि खेताला छन् साथमा

हिलैहिलो शरीरमा छैनन् कोई दुःखमा 

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

भेट हुँदा कहिले काँही मुस्काई दिने बानी

मक्ख परेँ साँईली मँत छैनौंउ अब सानी

घरजम गर्ने विचार आयो राख्न सक्छु सुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

दशैं आयो खाउँला पिउँला, लिङ्गे पिङमा जाउँला

तिमी आउनु माया बोकी दई चिउरा खाउँला

यस्तै नै हो जीवन हाम्रो बिताउ दुःख सुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

रित्तो सिउँदो रित्तो गाग्रो राम्रो हैन भन्छन

म त प्रेममा परें सायद साथीहरू भन्छन

यस्तै त यो जवानी यो आँखा को यो तुकमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।।

तिम्रो गोठ हाम्रो गोठ कति छ र टाढा

तिम्रै तिर चर्न जान्छन हाम्रा सबै पाडा

मौरी बस्यो अचानक त्यो सिमलको रुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

तरुण भयो आमको वोट फुलै फुलो रुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

२.

दुलाल साइँली मेला गईन याद छिनछिनमा

******************************

बर्खा लाग्यो खोला बड्यो असारैको दिनमा

दुलाल साइँली मेला गईन याद छिनछिनमा

चाम्रे भातको खाजा अनि गुनरुकको अचार

मैले मनमा बसाई सँके के छ तिम्रो विचार

मन मिले सबै हुन्छ हिजो आज दिनमा

दुलाल साइँली मेला गईन याद छिनछिनमा ।

रातो रिबन नीलो जामा किनि दिने मन छ

भन्नु पर्यो साइँली नानी यसले केहि दिन्छ

ढिकी चल्छ चिउरा निम्ति मुङ्गिरको दिनमा

दुलाल साइँली मेला गईन याद छिनछिनमा।

निकै दिन भो छैन खबर कता हौली अहिले

यस्तरी त गार्हो हुन्छ  के गर्नु र लौ मईले

यस्तो चुरा लगाऊ साइँली खन्क्योस रात दिनमा

दुलाल साइँली  मेला गईन याद छिनछिनमा।

लाली पाउडर किनि दिउँला बजारैमा जाउँला

तिमी आउनु सुटुक्क लौ ललिपप नै खाउँला

ढुङ्ग्रो बज्यो मोई पार्दा वैशाखको दिनमा

दुलाल साइँली मेला गईन याद छिनछिनमा।

अस्ति खबर पठाई रथेँ पायौ होला तिमीले

दुःख सुख बाँडि लिउँला" ल" भनन् अहिले

गुन्द्री बुन्छौ आगनैंमा माघको त्यो दिनमा

दुलाल साइँली मेला मेला गईन याद छिनछिनमा।

चोखो मन यो खोजी हिँड्छ माया को त्यो भाखा

दिन रात खोजी हिँड्छ मेरा ई दुई आँखा

पाखुरा छन् दरो मेरो पार्ने छुइँन ऋणमा

दुलाल साइँली मेला गईन याद छिनछिनमा।

(यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा कान्छा गोदार बाले यो लयको प्रेम लहरी आफैँ कथेर गाउनु हुन्थ्यो । यो "प्रेम लहरी" "मदन लहरी" हो केटा हो भन्नु हुन्थ्यो । पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन। लय सुन्दर हुन्थ्यो। त्यस्तै लयको दुईवटा कविता लेखेँ मैले पनि।विज्ञहरुबाट यसबारे केही जानकारीको आग्रह राँखे। वहाँको लहरीमा हामीले केही शब्दहरू लक्षणरेखा नाघेको पनि अनुभव गर्थ्यौं।)

प्रकाशनका दृष्टिले चाहिँ ?

प्रकाशकको दृष्टिले पहिलो रचना "धुरु धुरु रुन्छ मेरो कविता" जुन २०२१ सेतोपाटी डट कममा प्रकाशित भएको थियो ।

जीवनको भोगाई र बाल्यकाललाई हेर्दा कस्तो देख्नुहुन्छ ?

जीवनमा भोगेको कुराहरू अविरल छन्। अं ई.१९८९ मा म गोठमा सारै ठूलो ब्रह्मपुत्रको बाढी आयो। म नौ कक्षामा थिएँ।सात दिन बाढीले गर्दा जङ्गलमा सातजना व्यक्तिले नौकामा कटाएको र पछि हामीलाई उद्धार गरेको सारै याद आउँछ। दुई जनाले ज्यानसम्म गुमाए। गाई भैँसी मरेर स्वाहा भए। हैजाले गर्दा गोठ छोड्नु पर्यो सबैले। पशुले भोक लाग्दा छानाको खर र खम्बाको बन्धन खाएको देखेपछि मन सारै दुःखित भयो।गाई बाछाको बिचमा जाँदा नाङ्गो भएर जानु पर्ने। नत्र भोकले लुगा खान आउने अवस्था झल्झली याद आउँछ। पछि जागिरमा लागे पछि सर्पले पनि टोक्यो। दिन दह्रो भएकोले बाँचियो। पछि फेरि बैँक डकैतमा परेर पनि बाँचे।

साहित्यमा प्रवेश गर्दाका शुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?

खै के भन्नु र।अव्यक्त कथाहरू छन्। अक्टोबर २०००मा कोभिड भएर लगभग तीन महिना उपचारमा रहनु परेको थियो। बाँच्ने आशा थिएन मेरो। त्यो समयमा निकै कविता कोर्ने मौका मिल्यो। एउटा कविता "बुढी" लेखेर सेतोपाटी डटकममा प्रकाशित हुँदा लगभग १६००० सेयर र १२०० लाइक भए पछि मलाई निकै हौसला मिल्यो । निरन्तर लेख्न मन लाग्यो । मन पनि प्रसन्न हुने कविता /कथा लेख्दा। मेरो कथा र कविता प्रकाशित भएपछि लेख्ने इच्छा निकै जाग्यो।निकै कविता र कथा साहित्यपोस्ट र सेतोपाटी डट कममा प्रकाशित भयो। मलाई मौलाउन मौका मिल्यो। मलाई फोन गरेर कविताको आग्रह गर्न थाले। म आज पनि सिकारु नै ठान्छु आफैँलाई। 

प्रेरणाचाहिँ कहाँबाट मिल्यो ?

बुबाले सबाईको लयमा कविता कोर्नु हुन्थो। बुबा तीर्थ घुमेर आए पछि "मेरो तीर्थयात्रा" भन्ने छन्द कविता लेख्नु भयो।त्यो सुनेर सारै राम्रो लाग्ने।स्कूलमा हुँदा म कविता वाचनमा प्रथम हुने गर्थे।मेरो प्रेरणा बुबा र विद्यालय।कविता वाचनमा पुरस्कार पाउँदा लेख्ने प्रेरणा पनि जाग्यो।निकै दिनबाट साँचेर राखिएको इच्छा अचानक फर्कियो।

आफू कुन विधाको स्रष्टा हुँ जस्तो लाग्छ ?

मेरो कविता गाउँघर, गोठ-गोठालो, नदीनाला, मानिसको र समाजको वेदना, नारीको दुःख लगायत सामाजिक व्यवस्था। आफूले टेकेको माटो, देशको अनुहार, जातिको अस्तित्व, विलाउँदै गएका पारिवारिक सम्पर्क, टुक्रिएको आत्मीयता,स्मृतिको छवि, दरिद्रताको विभत्सता, धनले मात्तिएको समाज व्यविथा आदिले सारै सताउँछ।

कवितलाई परिभाषित गर्नुपरेमा के भन्नुहुन्छ ?

कवितालाई परिभाषित गर्नु पर्दा म त मनको उद्गार लेख्ने एक अब्बल साधन भनेर भन्छु। कविताको के के विशेषता हुन्छ त्यो पनि मलाई थाहा छैन। लेख्छु सुनाउँछु आनन्द लिन्छु, रमाउँछु अनि रसपान गर्छु। आनंद आउँछ। जति र जे जान्दछु त्यही लेख्छु।

केले कवितलाई राम्रो बनाउँछ ?

हामी असमिया माध्यमबाट पढेको हुनाले नेपाली कविता कोर्न नै गाह्रो। कविता वास्तव, सहज सरल भए राम्रो भै हाल्छ जस्तो लाग्छ। कविता राम्रो बनाउने त्यस्तो केही कलम या साधन खोजेर भेटिन्छ जस्तो मालाई लाग्दैन। मनको भाव सलल बगे सारै आनन्द आउँछ।

तपाईंको आफ्नै कविता लेखनकलाको बारेमा केही बताइदिनु न ।

ममा त्यस्तो कला छ जस्तो लाग्दैन। मनमा आएको लहरलाई सकेसम्म राम्रो मालामा उनेको नै लेखन कला हुन्छ मेरो लागि। हिज्जे र व्याकरण पछि । पहिले रचना आनन्दले कोर्ने। चरा, नदी, खोलाको के भाषा हुन्छ र ? के व्याकरण हेर्छन र उनीहरू ? जस्तो बोल्छ त्यही अनुपम।



असमेली नेपाली साहित्यमा धेरै लेखिएको विधा कुन छ ?

असमेली नेपाली साहित्य मा धेरै लेखिएको त कविता जस्तै लाग्छ। कथा, उपन्यासको मात्रा त्यति धेरै छन् जस्तो मलाई लाग्दैन। निकै स्तरिय काव्यकारहरू हुनुहुन्छ।

थोरैचाहिँ नि ?

खण्ड काव्य, उपन्यास, छन्द कविता र निबन्ध थोरै लेखिएको जस्तो मलाई लाग्छ।

समग्रमा असमेली नेपाली साहित्य कस्तो छ ?

मेरो विचारमा  असमेली नेपाली साहित्य स्रष्टाको आफ्नै कष्टमा अर्जित भएको छ। न कोही सिकाउने न कसैले गरीब साहित्यकारहरुलाई मद्दत गर्ने। तर स्तर सारै राम्रो छ जस्तो लाग्छ। एकदिन यो राम्ररी फस्टाउने आशा छ।

असमेली नेपाली साहित्यमा सम्भावनाहरू के के हुन् ?

असमेली नेपाली साहित्य सम्भावना निकै छन्।नयाँ महिला स्रजक साथै अरु अरु स्रजक पनि अब्बल छन् आगामी दिनहरुमा हामी असनेली नेपाली साहित्यमा निकै राम्रा राम्रा रचना देखिने सम्भावना छ। उपन्यास, कथा र कविता निकै आउने सम्भावना छ।

चुनौतीचाहिँ के के छन् ?

चौतर्फी चुनौती छ। भाषा समस्या, प्रकाशन समस्या लगायत कसैले कार्यशाला आदि गरेरे देखाए भनि उत्साह बढ्ने छ। नत्र कोपिलामा नै रहने छ।जे गरे पनि आफ्नो प्रयासले गर्नु पर्ने जस्तो देख्छु।प्रकाशन गर्न निकै खर्च लागत हुने भएकोमा आर्थिक दृष्टिमा पछि रहेका काव्यकारहरू फस्टाउन पाएका छैनन् जस्तो लाग्छ।

यी चुनौतीलाई समाधान गर्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?

यी चुनौतीलाई समाधान गर्न सबैले हातेमालो गरेर अघि बढ्नु जरुरी छ। आर्थिक सहायता, प्रकाशनको व्यवस्था गोष्ठी, आदान प्रदान आदि गर्न कोही आउनु पर्छ।

असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि कहाँबाट कोको हुनुहुन्छ ?

असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि निकै हुनुहुन्छ।मलाई त स्व.हरिभक्त कटुवालको  कविताले नै ज्यादा छुन्छ।प्रेरणा मिल्छ।अहिलेका मैले जानेका र पढेका कविताहरू मध्ये ड.देवेन सापकोटा, डम्बर दाहाल, नैना अधिकारी, अनुपमा कट्टेल, मनिषा दाहाल, रुद्र बराल, मिलन बोहोरा, पूजा आचार्य, युद्धबीर राणा, अर्जुन उप्रेती, कुञ्ज देवी उपाध्याय, हिरणमई आचार्य,कुले भाइ, प्रकाश कुइकेल, पूजा उपाध्याय, मिनादेवी फुयेल, जगन्नाथ उपाध्याय आदि । मोहन सुवेदी मेरा सारै प्रिय कवि।वहाँको रचना मलाई सार्है मन पर्छ।

समकालीन असमेली कवितालाई कसरी हेर्नुभएको छ ?

समकालीन असनमेली कवितालाई  आकाशको उज्यालो नक्षत्र देख्छु। नेपाली साहित्यको ढुकुटीमा राम्रो योगदान हुने क्षमता छ।सबै कविहरू अब्बल हुनुहुन्छ।

कविहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

कविहरूको दायित्य तमाम छ।समाजको स्पष्ट द्रष्टक भएर सबैतिर अंगालेर राम्रोलाई कदर र नराम्रोलाई विरोध गर्नु पर्छ। कविमा त्यो शक्ति निहित छ। निर्धक्क भएर लेखेर समाजलाई प्रगति तर्फ लान कविको निकै योगदान हुनुपर्छ। एउटा शब्दले ब्यक्ति परिवर्तन भएको उदाहरण निकै छन्।कविले समय परिस्थिति अनुसार उचाल्ने पछार्ने दुवै गर्छन।अरूले त्यो गर्न सारै गाह्रो हुन्छ जस्तो मलाई लाग्छ।

कविहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्छ ?

कविहरूको प्रोत्साहनको लागि राज्यले साधन र उत्साह दिन अत्यन्त जरुरी छ।कवि साधारणत कसैवाट आशा गर्दैन तर राष्ट्रले सम्मान गरे प्रतक्ष्य या परोक्ष रूपमा फायदा जनताले नै पाउने छ।राष्ट्रले कविको भलो चिताए समाज सुन्दर बन्छ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

अहिले इन्टरनेटको जमानामा पुस्तक पढ्ने भन्दा अनलाईन पढ्ने निकै भएका छन्। काव्य बेच्ने वस्तु त हैन तर राम्रो लागेर पठन गरे मन मस्तिष्कले राम्रो खोराक पाउँछ।लागत सम्म पाउने आशा कविके नगरे पनि पाए ऊ अवश्य आनन्दित हुन्छ।बजार मन्दा छ। तर अन्तमा त साहित्यले नै राम्रो खोराक दिन्छ। भविष्यमा बजार उच्च हुने आभास पनि छ।

तपाईंका अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् ?

ई स.१९९१ मा म जागीरको निम्ति एउटा अन्तरवार्ता दिन कलकत्ता गएको थिएँ। म नेपाली भएको नाताले नेपाली रामायणको प्रकाशक र सम्पादन बारे प्रस्न गर्दा केही जवाब दिन सकिन। स्व.कटुवाल बाहेक अरु कुनै काव्यकारको नाउँ सम्म भन्न सकिन।नेपाली पढेकै थिएन कसरी जान्नु ? म चयन भइन।खुब रोएको थिएँ।पछि त्यही वर्ष आमा सँग नेपाल आफन्त भेट्न जाँदा पैसा मागेर निकै पुस्तक किनेर ल्याएँ र अध्ययन गरें। त्येसपछि कुनैपनि अन्तरवार्तामा नेपाली भाषा बारे निकै जवाब दिन सक्ने भएँ।अन्तमा एकदिन जागीरमा चयन पनि भएँ।जहाँ बसे पनि नेपाली भन्न साथ नेपाली साहित्य बारे जानकारी नहुनु एउटा कलंक रहेछ भन्ने मनमा कुरा रही रह्यो। आफ्नो भाषा साहित्य जान्न सारै जरुरी रहेछ। सबैलाई आफ्नो भाषाज्ञान प्राप्त गर्न अनुरोध पनि गरें।

जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नुहुन्छ ?

मैले जीवनमा सारै नजिकवाट मृत्यु देखुको हुनाले जीवन क्षणिक हो र हामीले भलोकर्ममा आफैलाई लगाउनु पर्दो रहेछ भन्ने विश्वास जागेको छ। दुई दुई पटक मृत्यु वाट नजिक पुगेर फर्केका हुनाले यसको प्रयोग शुभकार्यमा नलगाए पछितो हुने रहेछ। मानिसले सकेसम्म अरूलाई मद्दत पुर्याउने कर्म गर्नु पर्दो रहेछ।कसैलाई केही दिए या दान गरें सहायता गरे मानिस कहिलेइ गरीब हुँदो रहेनछ।सामाजिक कार्य जस्तै, बाटोका कुकुरको उपचार,गरीब विद्यार्थिलाई र बिरामीलाई मद्दत गरे जीवन निकै सफल हुन्छ। हाल दुईटा पुस्तक प्रकाशनको रूपमा व्यस्त छु। एउटा "वर पिपल" रम्बास कविता जसमा ९१ जना भारत, नेपाल र बर्माका काव्यकारहरु संगालेर कविता संकलन प्रकाशित गर्ने जमर्को दाजु खडानन्द दुलालसँग मिलेर गर्ने काम प्राय सम्पन्न हुन गएको छ। अर्को पनि एउटा दीपक सुवेदीज्यूको प्रकाशन गर्न जमर्को गरेको छु। बाँकी प्रभु कृपा।

तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सर्जनाका बारेमा केही जान्न सकिन्छ ?

मलाई उत्कृष्ट लागेको विश्वस्तरीय सर्जक मध्ये मुख्यतः मेक्सिम गोर्की, कवि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा लगायत मेरा बाबुले लेखेको कविता सारै मन पर्छ। मेरी दिवङ्गत आमाले गाएको केहि नेपाली स्तोत्रहरू पनि मलाई विश्वस्तरीय नै लाग्छ। पद्मश्री लिलबहादुर क्षत्रीज्यू पनि मेरो प्रेरणा हुनुहुन्छ। ई स.२९८३ मा म गुवाहाटी कलेज पढ्न आउँदा वहाँको सानिध्यले मालाई निकै प्रेरणा मिल्यो।मालाई सारै मायाँ गर्नु हुन्थ्यो। वहाँको सबै रचना पढेको छु।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले केके गर्नुपर्ला ?

ठुला ठुला नाम गरिएका साहित्यिकहरूले सबैलाई मायाँ गरेर लेख्न उत्साह नदिए हाम्रो साहित्य एक अर्कालाई खुट्टा ताना तानि गर्यो भने फस्टाउन पाउँदैन। गाउँको भित्रि क्षेत्रमा रहेका सुप्त काव्यकारहरुलाई जगाउनु पर्छ। वहाँहरुको रचना संकलन गरेर प्रकाशित गरे अमूल्य खजाना पाउने सम्भावना निकै देखिन्छ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबिचको सम्बन्धलाई कनुरूपमा हेरिरहनु भएको छ ?

शासक र सर्जकबिचको समन्ध राम्रो नभए सबै लथालिङ्ग हुन्छ जस्तो लाग्छ मलाई। शासक मायालु साथै काव्यिक भए जनता सधैँ खुशी हुन्छन्। कुनै कुनै समयमा शासकके सर्जकलाई दमन गरेको उदाहरण देखिए र पनि शासक हारेको नै देखिन्छ। काव्य अमर हुन्छ भन्ने मेरो विचार छ।

आफ्ना रचना वा कृतिलाई सम्झनु परेको खण्डमा कुन रचना वा कृतिलाई सम्झनुहुन्छ ?

मेरो कविता "बुढी" लगभग दस लाख पाठकले पढेर हजारौ कमेन्ट गरेको रचनालाई सारै सम्झिन्छु।मलाई यो कविताले निकै प्रेरणा दियो मनपराईदिने सबै पाठकहरुलाई हार्दिक आभार दिन चाहन्छु।मालाई गोठको कविता रारै राम्रो लेख्नु हुन्छ भनेर सधैँ प्रेरणा दिने वरिष्ठ कवि, लेखक मोहन सुवेदीज्यूले बारम्बार पुस्तक निकाल्ने प्रोत्साहान दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। कहिले काँही फोन गरेर मेरो कविता सुन्ने आग्रह गर्नु हुन्छ। म सारै आनन्दित हुन्छु।

जीवनका लेखकीय भावी योजना के के छन् ?

अहिले जागीरमा व्यस्त भए पनि भविष्यमा कथा, कविता उपन्यास लेखने जमर्को गर्दै छु।अरु निकै कविता पनि छन् । समय मिले प्रकाशित गर्ने इच्छा पनि छ अदिर्वाद गर्नुहोला।

साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?

साहित्यमा लागेर मैले गुमाएको त केही छ जस्तो लाग्दैन।जीवन युद्ध गर्ने कला पो साहित्य वाट पाएँ जस्तो लाग्छ।साहित्य नै रहेछ अन्ततः मनलाई राम्रो खोराक दिने विधा जस्तो लाग्छ मलाई।यो त बुझ्नेलाई प्राणवायु पो रहेछ।साहित्यले मनमुटु पूर्ण हुने अक्सीजेन प्रदान गर्ने काम गर्दो रहेछ।सारै आनन्द आउने।

नवोदित स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?

म सल्लाह दिने स्तरको सर्यक भएको छु जस्तो मलाई लाग्दैन र पनि आग्रह गर्न सक्छु।खुब लेख्नुहोस।जे मनपर्छ त्यही लेख्नुहोस।एकदिन अवश्य रचना खारिएर  पनि आउँछ साथै अध्ययन गर्न सारै जरुरी छ । वाचन राम्रो भए कविता जीवन्त हुन्छ।वाचन गर्नुहोस या नमिले गराउनुहोस्।यसको आनन्द तमाम हुन्छ। पुस्तकभित्र रहेको कविता के गर्नु ? वाचन गरे जीवन्त हुन्छ।

कोक्रो र पिङ

 कोक्रो र पिङ 

**********

सानोमा आमा र काकी आमाले सुताएको त्यो कोक्रो

खत्री कान्छाले बनाईदिएको

बोरामा बाँसको लठ्ठी लगाएको।

त्यो फाटे पछि

बाँसको चोयाले गोले बा ले बनाएको कोक्रो

घरैमा अचार्य मामाले बाटेको दाम्लो

पिँडीमा झुन्ड्याइएको त्यो कोक्रोमा

लै लै ला ,बाबु ला,निन्ना लौ भनेर

सुताएको  झुलाएको

पटुवाको दाम्लोले अम्बाको रुखमा बनाएको 

पिङमा झुले जस्तो आनन्द र उल्लास 

रत्तिभर छैन 

हिजोआजको यी आधुनिक

तथाकथित भव्य पिङमा

कठै मेरी आमा र काकी आमा!


पुरूषोत्तम उपाध्याय दाहाल

१४/४/२२

भूतनाथको भैरव

 भूतनाथको भैरव

************

हो हामी भूतनाथको भैरव

कृपया कुकुर नभनेर भैरव भन्दा फरक पर्दैन

हामीहररूलाई कुकुर भनेको पटक्कै मन् पर्दैन

यो शब्दको अपप्रयोग भएको देख्छौं

खादैनौं कुनैपनि मादक द्रव्य

प्रभूभक्त,विश्वासी, सन्तोकि

भोको भए मात्र रिसाउँछौ किनकि 

सरकारवाट  रसदपानी भेट्दैनौ हामी

गृहआवास योजना छैन हाम्रो

स्वास्थ्यबीमा छैन

प्रसूति पीडा देख्दैनन् कोही

हक माँग्न सक्दैनौँ ,सबै छै छै गर्छन

खुइले भए पनि

न डिप्रेसन न कोरोना

न खोकी न रुगा 

मस्त आनन्द निद्रामा छौँ 

खरानीमा लुटुपुटु हाम्रो औशधी

भूतनाथमा।

हामी भूतनाथको भैरव।


हे मलाम आउनेहरू 

सायद लामो आयु होला हजुरहरुको

एकछिन हेर्नुहोस हाम्रो विश्राम

केही सोच्नुहोस प्राणीको निम्ति

नहान्नुहोस झटारो ,नगर्नुहोस लाठो-मुङ्ग्रो

नभन्नुहोस कसैलाई "कुकुरको जात"

"कुकुरको जस्तो बेहोरा", "साला कुक्कुर"

"कुकुरको पुच्छर बार वर्ष ढुङ्ग्रोमा राखे पनि सोजिन्न"

हाम्रो पुच्छर बाङ्गो भएर के भो?

हजुरहरू ताक परे सर्वाङ्ग बाङ्गो क्षणभरमा

दिनकाल सारै राम्रो छैन है तथाकथित जीवश्रेष्ठ!

हामी त भूतनाथको भैरव!

हजुरहरू त भाग्य बिधाता!

को महान?

भैरव कि मानव ?

हामी भूतनाथको भैरव।


पुरूषोत्तम उपाध्याय दाहाल

भूतनाथ ,गुवाहाटी

१३/४/२०२२

मलाई एउटा बास्ने भाले कुखुरो चाहिएको छ

 मलाई एउटा बास्ने भाले कुखुरो चाहिएको छ

********************************

हिजो आजको घडीले प्रहर भन्न जान्दैन

सुनेको भए पो! प्रहर जान्ने बस्तु जरुरी भएको छ

प्रथम कुखुराको डाकमा आमा उठ्नु हुन्थ्यो

दोस्रो कुखुराको डाकमा बाबु उठ्नु हुन्थ्यो

म सुतुवा कुम्भकर्ण भएको छु

प्रहर प्रहर मा बास्ने,कुखुरी काँ गर्ने

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


अब फेरि ल्याउनु कसरी होला

लुकाएर ल्याउनु कि पेरुङ्गामा हालेर

देखने छन् सबैले रातो भाले

आम्मै! "गुरुबाको छोराले भाले ल्यायो" भन्लान्

दोधार मा छु म कठै!

सारै खाँचो भएको छ  प्रहर प्रहरमा बास्ने भालेको

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


धढीको अलराममा प्राण नै छैन

भालेको जस्तो परवाट जीवन्त स्वरको।

भाले चारैतिर घुमी घुमी बास्छ

उस्को स्वरको तरङ्ग हुन्छ धरालमा

घढी त निष्प्राण स्वरको फगत एउटा वस्तु न हो

तर

भालेको डाकले सम्झाउँछ प्रत्येक प्रहर

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


 फेरि भाले एक्लै नबस्ला

 साथी त सबैलाई जरुरी हुन्छ

 उस्को साथी पोथीपनि एउटा जरुरी हुन्छ सायद

 नत्र नबसला उ एक्लै

 दुःख  छ हौ मलाई 

 कसो गरौं होला

 बाहुनले कुखुरा पाल्यौ भन्लान् फेरि

 भालेको डाकमा उठ्ने बानी लगाई गए बुबा आमा

 घडी त त्यसबेला हुनेखानेको घरमा मात्रै हुन्थ्यो

 मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


अब भाले- पोथी भए पछि खोर बनाउनु पर्ला

चारो समय समयमा दिनु पार्ला

अहो!पोथी अाेथरा बस्ला फेरि

अण्डा पार्ला ,चल्ला पार्ला, हुर्काउला

चीलले चल्ला लैजाला

चल्ला छोप्ने डोको चाहिएला

तमाम विपरीत परिस्थिति भए पनि

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


समस्याहरू आउलान् निकै तर पाल्छु पाल्छु

कुनैदिन मेरो फाैजी बाल्यसखा घिसिङ कान्छा आउला

ए कुखुरा पलिछस त "बाहुन काठा"राम्रो गरिस भनेर भन्ला

लौ रातो भाले काट रमसँग खानु पर्छ भन्ला

मैले भाले बास्नपो राखेको भन्दा 

"बौलाएको त छैनस हौ समय डाक्ने घडी छ त"भन्ला

नमान्ला उ अन्तमा पोथी ले नै काम चलाउनु पर्ला

फेरि एक्लो भाले यो बैँशमा बस्न नमानला

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


छाेरी आउली फेरि मधेशवाट निकै वर्षमा

"सबै वैष्णव छन् हाम्रो घरमा"

भनेर गुनासो गर्ली

भाले नखाको निकै वर्ष भयो बाबु भन्ली!

काट्नु न भाले खाउ भने पछि के लाग्यो र

सारै दुःख परेको छ हौ मलाई

धर्म संकटमा छ यो अन्तरे

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


अब तीनचारवटा भाले पो पाल्नु पर्छ ठानेको

"हुँदैन जुधेर मर्छन भाले भाले "

भन्छ मेरो वाल्य साखा तमाङ माइलो

विकट स्थितिमा परेको छु हौ म त

तर प्रहर प्रहरमा डाक्ने भाले जरुरी छ मलाई

मलाई भालेको डाकमा नै उठ्नु छ

किंकर्तव्यविमूढ़ भएको छु म हजुर!

मलाई एउटा बास्ने भालेकुखुरो चाहिएको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

७/४/२२

कविता: मेरी आमा

 कविता: 

मेरी आमा

*******

"कुखुरो नभएको देशमा पनि उज्यालो 

 हुन्छ"

 भन्नु हुन्थ्यो मेरी आमा

 कठै मेरी आमा!

भूतनाथको भैरव

 भूतनाथको भैरव

************

हो हामी भूतनाथको भैरव

कृपया कुकुर नभनेर भैरव भन्दा फरक पर्दैन

हामीहररूलाई कुकुर भनेको पटक्कै मन् पर्दैन

यो शब्दको अपप्रयोग भएको देख्छौं

खादैनौं कुनैपनि मादक द्रव्य

प्रभूभक्त,विश्वासी, सन्तोकि

भोको भए मात्र रिसाउँछौ किनकि 

सरकारवाट  रसदपानी भेट्दैनौ हामी

गृहआवास योजना छैन हाम्रो

स्वास्थ्यबीमा छैन

प्रसूति पीडा देख्दैनन् कोही

हक माँग्न सक्दैनौँ ,सबै छै छै गर्छन

खुइले भए पनि

न डिप्रेसन न कोरोना

न खोकी न रुगा 

मस्त आनन्द निद्रामा छौँ 

खरानीमा लुटुपुटु हाम्रो औशधी

भूतनाथमा।

हामी भूतनाथको भैरव।


हे मलाम आउनेहरू 

सायद लामो आयु होला हजुरहरुको

एकछिन हेर्नुहोस हाम्रो विश्राम

केही सोच्नुहोस प्राणीको निम्ति

नहान्नुहोस झटारो ,नगर्नुहोस लाठो-मुङ्ग्रो

नभन्नुहोस कसैलाई "कुकुरको जात"

"कुकुरको जस्तो बेहोरा", "साला कुक्कुर"

"कुकुरको पुच्छर बार वर्ष ढुङ्ग्रोमा राखे पनि सोजिन्न"

हाम्रो पुच्छर बाङ्गो भएर के भो?

हजुरहरू ताक परे सर्वाङ्ग बाङ्गो क्षणभरमा

दिनकाल सारै राम्रो छैन है तथाकथित जीवश्रेष्ठ!

हामी त भूतनाथको भैरव!

हजुरहरू त भाग्य बिधाता!

को महान?

भैरव कि मानव ?

हामी भूतनाथको भैरव।


पुरूषोत्तम उपाध्याय दाहाल

भूतनाथ ,गुवाहाटी

१३/४/२०२२

আমাৰ বাৰীৰ উৰীয়াম গছজোপা:***

 **আমাৰ বাৰীৰ উৰীয়াম গছজোপা:***


ককা দেউতা আৰু দেউতাই মিলি ৰোৱা,

নলীনাদৰ ওচৰত থকা উৰীয়াম গছজোপা,

আসীৰ দেউনা পাৰ হল চাগে,

সাক্ষী হৈ ৰৈ আছে এই বুঢ়া বয়সতো

মন মাৰি থাকে ,বুঢ়া চামক নেদেখি।

এদিন মায়েঁ কৈছিল গছজোপা কাটিবলৈ,

বুলো ছাঁৰ বাবে খেতি নহয় বাৰীডৰাত,

দেউতাই মানা কৰিছিল আমাক "খবৰদাৰ"

দেউতা আৰু মই মিলি ৰুৱা গছজোপা,

"দেউতা আৰু মোৰ ভাবুক সম্বন্ধক

নামাৰিবি বোপাই" !

এতিয়াৰ চামে নাজানে এই তিনিতৰপিয়া

অনুভূতি আৰু তাৰ ঘাত-প্ৰতিঘাত ।

সৌ সিদিনা মোৰ লৰাই ফোন কৰি কয়,

পাপা গছজোপা কাটি খৰিৰোৰ বেচিদিম নে কি

স্কুলৰ মিড -ডে ৰান্ধনী শালত?

মাঁ ,দেউতা আৰু ককাদেউতাৰ মৃত্যুৰ পাছত

এই তপস্যী গছজোপাক আমি নতুনচামৰ পৰা

বচাব নোৱাৰিম চাগে।


পুৰুষোত্তম উপাধ্যায়

বেলতলা,গুৱাহাটী

फेरि युद्ध सुरु भयो त बुबा!

 फेरि युद्ध सुरु भयो त बुबा!

*******************"

बुबा! हजुरले दोस्रो विश्वयुद्धमा

झेलेको कथा

कथा झैँ लाग्थो

सुनी रहन्थौँ हामी

युद्ध कहिलेई नहोस भन्नु हुन्थ्यो

फेरि युद्ध सुरु भयो त बुबा!


बर्माको मचिना सहरमा

युद्धको बेलामा प्राण बचाउन

गोरु गाडामा आश्रय लिन जङ्गल तिर जाँदा

जापानी तोपको गोलाले

बमबहादुरको टाउको नै लागेको कुरा

हजुरले कामक्रिया जङ्गलमा नै गरेको भन्दै

रुनु हुन्थ्यो

फेरि युद्ध सुरु भयो त बुबा!


हजुरलाई जापानी फौजले

ब्रिटिश सेनाको गुप्तचर ठानी

रुखमा बाँधेर टुप्पी काटेको कथा

अनेकौ कथा रुँदै भन्नु हुन्थ्यो

चीन ,जापान र ब्रिटिश सबै फौजमा

काम गर्नु परेको कथा

युद्ध अब नहोस भन्नु हुन्थ्यो

फेरि युद्ध सुरु भयो त बुबा!


जापानले युद्ध हारे पछि

जेद्रो जापान सरेनडर नगर्ने पटक्कै

ब्रिटिश सेनाका तजि दाहाल बा ले

मकैबारीमा भोकले मकै खाँदै गरेका 

तीनवटा जापानी सेनालाई

थ्री नट थ्री राइफलले

एक एक गोलीमा  ठहरै मारेको दृष्यले

अनिद्रा ल्याउँछ भन्नु हुन्थो हजुर

फेरि युद्ध सुरु भयो त बुबा!


कति हो कति अव्यक्त कथा

लेखापानीवाट परिवार लिन

स्टीलवेल रोड वाट हिँडेर बर्मा जाँदा

सात दिन हिँडे पछि बाटैमा बिरामी भएर

उन्तिस दिन स्यानो कटेरामा बिताएको व्यथा

साथीहरुले छोडेर गएको कथा

भन्दै रुँदै गर्नु हुन्थ्यो तपाईँ

फेरि युद्ध सुरु भयो त बुबा!


स्वस्थानीको साङ्गे गरेर

ठुलीआमा घाँस काट्न जाँदा

जापानले फ्याँकेको पुरानो ग्रेनेड 

आमाले हँसियाले ट्वाक्क हान्दा पड्केर

ठाउँ को ठाउँ ठहरै भएको कथा

भनेर डाको छोडेर रुनु हुन्थ्यो

फेरि युद्ध सुरु भयो त बुबा!



युद्धबन्दी ब्रिटिशको ठुला दुईजना सेना अधिकारी

जापानी सेनाको बेरेकमा

झाडु मार्दै गरेको दृश्य

हजुरलाई देखेर उनीहरूको

अश्रु भरिएको नयनयुगल

आफन्त झै ठानेर कुरा गर्न आएको

कथा भन्दै भावुक हुनु हुन्थ्यो

फेरि युद्ध सुरु भयो त बुबा!


आफन्तहरु बर्मामै रहे

हजुरको र आमाको बर्मामा भएका

आफन्त भेट्न सपना साकार नभएको व्यथा

बिथोन्नु सम्म विथल्यो युद्धले भन्नु हुन्थ्यो

हजुर र आमा सधैँ

फेरि युद्ध सुरु भयो त बुबा!


हजुर र आमा छिटै वैकुण्ठधाम जानुभयो

ठिकै भए जस्तो पो लाग्न थाल्यो

युद्ध देखेको भए सायद सताउने थियो होला

पुराना यादहरुले

भक्कानो फोरेर आउँथ्यो होला उद्गार

जगत ध्वंसको कगारमा छ अहिले

होडबाजी छ एक अर्कामा

अर्को हिरोसिमा काण्ड हुन्छ होला फेरि

गिद्ध प्रकितिवाट हराए जस्तै

अब मानिसहरू पनि हराउने तर्खरमा

विभत्स रूप छ यहाँ बुबा

कुन भनौ, कुन नभनौ

प्रतिदिन कम्पन हुन्छ धरती

बम, गोला र मिसाइलको शब्दले

धरती,आकाश र जल सबैमा

बारुदको गन्ध छ

कसैको गुहार कोही सुन्दैनन्

राष्ट्रहरू एक अर्कालाई  नै गन्दैनन्

त बीर कि म बीर 

लाखेश तँलाई यसले उसलाई

हजुर त अनन्त यात्रामा

हामीपो अभरमा छौ बुबा!

फेरि युद्ध सुरु भयो त बुबा!

फेरि युद्ध सुरु भयो त बुबा!

******

पुरुषोत्तम उपाध्याय दाहाल

धौला बोकापथार

तिंसुकिया, आसाम

भो जान्न सहर

 भो जान्न सहर

************

भो जान्न सहर

तेलको मूल्य बढेको छ रे

यात्रु किराया पनि आकाश लम्बी रे

चौतर्फी मूल्यवृद्धि

घरैमा बस्छु

हात खुट्टा काटिए ईलामे र तितेपाती लाउँछु

जान्न अस्पताल

दाम बडेर औसधी किनि नसक्नु भएको छ रे

आँखा बिझाए सुत्केरी आमाको दूध हाल्छू

मुटु दुखे अर्जुनको छाला खान्छु

खोकी लागे मह तुलसी खान्छु

टाउको दुःखे जन्तरे बालाई फुक्न लाउँछु

पखालो लागे अम्बाको पत्ता खान्छु

निद्रा नलागे खीरमा जाइदाना हालेर खान्छु

हड्डी भाँचिए बाँसको काम्रो सिउँडी पिसेर लाउँछु

गानो गए धामीकान्छावाट बुटी माग्छु

किन्दिन दामी साबुन

खरानिले काम चलाउँछु

किन्दिन् लुगा 

दाने लुगाले काम चलाउँछु

कपालमा रिठ्ठो लगाउँछु

मुखमा हल्दी र दुधको तर लाउँछु

सब्जी घरैमा लाउँछु

भो जान्न सहर!


नानीहरूको वही-खाता देलानि राज्यले

सबै शिक्षित हुनुपर्छ भन्छ राष्ट्र

मोबाइलको रिचार्ज पनि निकै दामी भयो रे

भो चलाउँदिन मोबाइल

बरु भागवत कथा सुन्न जान्छु 

संगीतमा रमाउँछु ,नृत्य गर्छु

भो जान्न सहर!


अब पुस्तक पढ्छु

कविता कोर्छु।

जनताको सरकार रे

के भएको यस्तो

जुका झै चुसेको चुसै छ त

दिन्न भोट !

जान्छु गोठतिर

उतै रमाउँछु

मरे टन्टा साफ

उता दाउरा पनि सितैंमा पाइन्छन् 

भो जान्न सहर!

*****

पुरूषोत्तम उपाध्याय दाहाल

3/4/22

वाह! मेरी आमा

 वाह! मेरी आमा

************

"तिमीहरू भोक लागे

भाँडामा पकाउनु बसाएको भात

पनिउँले चलायेको चालायै गर्छौ

हुँदैन त्यसरी पाक्दैन छिटो

कट्मिरो हुन्छ भात

राम्रो ,खरो दाउरा ल्याएर ठोस"।

आज पनि दरिलो छु म

सानोमा राम्ररी पाकेको अन्न खाएर।

कठै मेरी आमा!

वाह!मेरी आमा!

फागु

 फागु

****

बांँसको पिचकारी,

कराईको कालो मोसो,

दुधको तरमा मोलेर

फागु खेलोको,याद छ तिमीलाई?

तिमीले त चौलानी पानीले नै काम चलायौ,

म बयेरको रुख माथि चडेँथे,सकिनौ तिमीले छेप्न

पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले

रुखमाथिबाट हेरि रहें तिमीलाई

तिम्रा गाजलु नयनयुगल

तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा

कहाँ गए ति दिन र कहाँ छौ तिमी?

यादहरूले सारै सताउँछ

बाडुली लागेर मेरो याद आए ,

तलको नंबरमा फ़ोन गर ल!

चिनेउ मलाई ? म तिम्रो बाल्य सखा,अन्तरे दाहाल

गुरुबाको छोरो।


(होली को पावन अवसरमा मङ्गलमयl शुभकामना सबैलाई)


पुरुषोत्तम उपाध्याय दाहाल

बोकापथार ,धौला

तिनसुकिया

पातको फिरफिरे

 पातको फिरफिरे

************

फागुनको यो मौसममा

फिरिरि हावा चल्यो

रुखहरु तरुण छन्

मन्द मन्द मुस्कान् प्रक्रितिको

हिँड सबै बाल्य सखाहरू

को कहाँ छौं

कति बस्छौ सहरमा

गाउँ जाउँ जाउँ लाग्दैन?

घरको छेउको त्यो उमेर भएको

उरीम र आँपको रुखहरूले

सानोमा पातको फिरफिरे बनाउने नानीहरुलाई

सम्झेर बोलाई रहेका छ्न्

बृद्ध आमा घरैमा छिन

आमाले टपरी बनाउने सिन्का

एक एक लिएर

पातको फिरफिरे बनाएर

"लुखुरी आइज कुखुरी'

रमाएर खेलौं

बैंश गएर के भो र?

यादहरूले सारै सताउँछ

सताउँछ सपनीले पनि

डन्डिफोर नभएको गाला देखेर

कति रमाउँछन् होला रुखहरू

पातको फिरफिरे र हामीलाई देखेर।

आउ सखा को कहाँ छौ

पातको फिरफिरे खेलौं।

***


पुरुषोत्तम उपाध्याय दाहाल

गुहार

 गुहार

*****

यो युद्धको माहौलमा

बाहिर प्रसन्न देखिए पनि

भित्रि मन रोएको छ

तोप बम र मिसाइलको शब्दले

प्रकृति रोएकी छिन्।


हे सूर्यदेव!

मात्र एकदिन नउदाई देउ प्रभु!

थाहा पाउन सबै मानवले 

सृष्टि कस्को हो भनेर!

जुनतारा र हावालाई 

प्रयोजन भए

परे पछि गुहार गरौंला।

युद्ध

 युद्ध

****

यो हाम्रो बाबुको

सत्य कथामा

युद्धको परिणाम भोगेको 

प्रतक्ष्य बोलेको छ

प्रत्येक हरफमा।


सबै बिथोलिन्छ प्रभु!

प्रकितिको पुकार,मानवको पीडा

दुईटा विश्वयुद्धले देखाई सकेको छ

किन आतुर हजुरहरू?

सम्झेर रुनु हुन्थ्यो बुबा!

अहिले पनि हाम्रा आफन्त

विछोडिएका नै छन् 

हे राष्ट्रप्रधानहरू समय छ

नहुत्तियाउ बम्,नगर युद्ध

बरु लाप्पा खेल बिना बारुदको

अर्को हिरोसिमा र नागासाकी

नबनाऊ हजुर

भयो युद्ध चाहिँदैन

युद्ध चाहिँदैन!


पुरूषोत्तम उपाध्याय दाहाल

२/३/२२

वर-वधू विज्ञापन

 वर-वधू विज्ञापन

************

राम्रो,लामो लगभग बाइस वर्षको

गोहुँगोरो ,पुष्ट विश्वासी

गोठको गोठालो

दाम्लो बाट्ने,डुङ्गा चलाउन

पौडिन जान्ने

गोठको सबै काम जान्ने

बाबु आमा नभएको टुहुरो

स्पष्टवादी,कर्मठ ,निरोगी

आफ्नै पनि दसमाउ गाई भएको

ढकाल थरी,मावली ढुंगाना

बुढा मावली निरोला (आमाको)

बुढा मावली तिम्सिना (बाबुको)

भीम छपडी गोठमा बस्ने

नेत्रे(नेत्र प्रसाद ढकाल)को निम्ति


राम्री,निरोगी

गोठको काम जान्ने

डोको ,थुन्से बोक्न सक्ने

जङ्गल दाउरा लिन जान नडराउने

खोला,नदी र डुङ्गामा रमाउने

साग सब्जी साथै

गुन्द्रुक ,सिन्की खाडलमा हाल्न जान्ने

दुध, दही र मक्खन सन्मन्धी काम जान्ने

झरि वादललाई उछिन्ने

लगभग केटाकै उमेरको

टिकोटालो मन्दिरमा गर्न मान्ने

वधू चाहिएको छ।


वि: द्र:गोठाला टुहुरो हुनाले टिपन छैन।

         नाउँ वाट ज़ुर मिले हुन्छ।

******

सम्पर्क टुंगो: रत्नबीर गोदार महाजन 

भीम छपडी

धौला सैखुवा

तिनसुकिया, असम

२०/२/२२

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी।

बा!म गोठ बस्तिन

 बा!म गोठ बस्तिन !

*************

त्यो हरियाली

त्यो चरन र जीवन्त कथा भन्ने

अनेकौँ रुखहरू

स्वाहा भए सब

वर्षेनी आउने हजारौं चखेवा र

अनेकौँ चराहरू आउँदैनन् हिजोआज

गिद्ध मासिए,मरेको पशु पूर्नु पर्छ हिजोआज

अनेकौँ समस्याहरु

बा! म गोठ बस्तिन    !


ब्रह्मपुत्र पनि म्लान छन् हिजोआज

तुजुक देखाउन पानी नै छैन

चाईनाले पानी रोक्यो भन्छन

न भेल आउँछ न दाउरा मुडा बगाएर ल्याउँछ

फागत रित्तो छ छपडी 

बा!म गोठ बस्तिन!


ब्रह्मपुत्रको शिशु,तरुण र बृद्ध रूप

छैन हिजोआज

एकै रूपमा सँधै ऊ

मेरो मनको उन्माद पनि हरायो

लोहित सुस्त भए झैं

बा! म गोठ बस्तिन  !


न दुध, न चरन !

मेरो कलमले कवितानै कोर्दैन यहाँ

कति भन्नु दुःखका कथाहरू

कथा कविता बेगरको यो चौर

बिमारले तड्पिएको पशुहरू

डाले घाँस खान नपाउने बाछाहरू

हेरि रहन्छन् मेरा आँखातिर

ब्रह्मपुत्रले अर्को बाटो लिएका छन्

कुन गाउँतिर जाने तर्खरमा हो जान्दिन

बा!म गोठ बस्तिन !


ब्रह्मपुत्र माथिको पुल हेर्न आउँछन् सबै

पर वाट केमेराले गोठको दृश्य हेर्छन

खुब रमाउँछन् पर्ज्यटकहरू

अहा!अहा! भन्छन

बस त्यति नै रहेको छ गोठ

त्यो केमेराको सुन्दर दृश्यमा

मन लाग्दैन हिजोआज

बा ! म गोठ बस्तिन!!!


पुरूषोत्तम उपाध्याय दाहाल

मिरिछपडी,धौला

१७/२/२२

कहाँ हुनुहुन्छ

 कहाँ हुनुहुन्छ?

***********

पुरानो सुतीको साडी

एउटा सानो सुई लिएर

बाबुको चस्मा लगाएर

नानीहरूको थाङ्ना सिउने

आमा  कहाँ हुनुहुन्छ?


जाडोमा नानीहरुलाई खुवाउन

तुलसीपत्ता हालेर पकाएको मह

पाखनबेत,बेसार र तातो सोल्लर पकायेर

खान दिने मायालु मातृ

कहाँ हुनुहुन्छ?


जाडोको रात्रिमा बाहिर निस्किन पर्दैन

भित्रै हुन्थ्यो चुठुवा

त्यहीं सु सु गराउने

अनि सिलाएको त्यो न्यानो

थाङ्ग्नोमा सुताउने माताश्री

कहाँ हुनुहुन्छ?


अहिलेको आधुनिक साधनहरू

पटक्कै याद आउँदैन

पुच्छरमा डाइपर बाँधिएर नानीहरू

आका आयो भन्नै पो जान्दैनन्

पुरानो लुगालेनै छोराछोरी हुर्काउने ममतामयी

कहाँ हुनुहुन्छ?


पुरूषोत्तम उपाध्याय दाहाल

धौला, बोकापथार

आसाम

मौन नदी र लुप्त कविता

 मौन नदी र लुप्त कविता

******************

मैले बैँशमा लेखेको केही कविता

मनको उद्गारहरु कोरेको

प्रेमील भावनाहरू

साँचेर राखेको थिएँ

गोठको एउटा काठको बाकसमा।


पहिलो ,दोस्रो बाढीमा 

सुरक्षित थियो

तेस्रो बाढीले बगाएर लग्यो सम्पूर्ण।


छैन त्यो उन्माद मेरो अहिले

याद छैनन ती प्रेमील सिर्जनाहरू

आज ब्रह्मपुत्रको छेउमा बसेर

नदीतिर हेरि रहेको छु

कतै भेटिन्छन् कि ती रचनाहरू!


सपनीमा नदीले भाक्यो

हड्डी बुढो भयो आज

अनि याद आयो रचनाको र मेरो?

म बगेर सागरमा मिल्छु ,थाहा छैन?

सागरलाई गुहार अन्तरे!

सागरलाई गुहार!


अन्तरे दाहाल

मिरी छपडी

१/२/२२

भुईँचालो

 भुईँचालो

*******

निकै हलिदैछ धरती हिजोआज

अट्टालिकाहरू थर्किन थाले

वस्तुवादी संसारमा रम्येकाहरू

डराउन थाले,राति आउँदैन निन्द्रा।


ढकाल कान्छा खोजी रहेको छ

बाँस, खरले झोपडी बनाउने मान्छे

दुईचार माउ गाई ,बाख्रा पालेर

स्यानो झोपडीमा बस्न चाहन्छ ऊ

निर्धक्क भएर

आनन्दका साथ

मानिसहरू गाउँमुखी हुनबेर छैन अब

भुईँचालोको डरले

तर बाँस र खर मासिए गाउँमा

न यता न उताको

हुन्छनहोला मानिस

"सुनारेको सय छोट

लोहारेको एक चोट"

भन्दैछिन् धरती।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२२/१/२२

हेलो हेलो

 हेलो हेलो

*******

कहिले कँही विरक्ति लाग्छ

मोबाइल को यो हेलो हेलो सुनेर

म सुनेर अघाएँ तर उनीले सुनै पाउनु भएन

चिठी एउटा  माइत वाट आएको

त्यो पनि बर्मा वाट हजुरबाले लेखेको

"बाई एयर मेईल" लेखिएको

प्रतिदिन पढ्न लाउनु हुन्थ्यो आमा!

सिरानीमा राख्नु हुन्थ्यो चिठी

थिएन त्यो मोबाइलको 

हेलो हेलो।


कति कुरा गर्नु हुन्थ्यो होला

मोबाइल भएको भए

उता हजुरबा, यता आमा

दुवै तिरको मिल्दो बिम्ब

हामी रमाएर हेर्ने थिउँ होला

दुवै जनाको मिल्दो नाक र निधार

हेलो हेलो।


उता सानिमा फेरि यता आमा

एउटै जस्तो देखिने नाक र आँखा

बोली र आउभाउ एउटै

उता सबै सानिमाको परिवार

यता हाम्रो परिवार

हेलो हेलो।


उता कान्छा हजुरबाको छोरी

थिएनन छोरा ,फुपु मात्रै एउटी

उता लामिछाने फुपु, यता बाबु

उता चेली यता माइत

चेलीको आँखामा आँसु

बाबुको बोलीमा भावुकता

कति हुन्थ्यो होला गन्थन

हेलो हेलो।


नौ वर्षको उमेरमा बिहे

त्यो पनि बर्मामा,विश्वयुद्धको समय

आउनुभयो बाबुले लिएर आमालाई

बिथोलियो परिवार

भयेन पुनर सम्पर्क

बेकार लाग्छ सम्झेर मलाई अहिले

हेलो हेलो।


हेलो हेलो "यो गृह मन्त्रालय हो?"

म अन्तरे दाहाल

मेरो पासपोर्ट छ,भिसा आवेदन गरेको थिएँ

बर्मा जाने,आमाको जन्मथलो हेर्ने

आफन्त भेट्ने

किन दिनुहुन्न भिसा प्रभु!दया गर्नुहोस्

फोन काटियो मन्त्रालय वाट

फगत मेरो त्यो आवाज गुन्जियो

हेलो हेलो।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२१/१/२२

विचरा अाधुनिकता!

 विचरा अाधुनिकता!

**************

हजुरबाको समयको बन्चरो

आज निस्ताएको छ

न उद्यायेको कैयौं वर्ष भयो

न रुख न दाउरा

खिया लागेको छ उसलाई

ऊ हेरि रहन्छ गेसको सिलिन्डर तिर

सिलिन्डर त आयो ठीक छ

रुखहरू मासिए बेठीक छ!


अब लुहा लक्कड़ किन्नेलाई

बेच्न चाहन्छ त्यो बन्चरो नातिले

उसलाई किन्न सापट लिएर किनेको कुरा

जान्दैन नातिले

बोल्दैन बन्चरो

बुझ्दैन नाति!


पल्लो गाउँमा आधुनिक आराले

ठुलो रुख ढालेको खबर आयो

बन्चरो बिँडलाई भन्छ

साथी!अब कोदालो ,खन्ति पनि

जान्छन् होला लुहा लक्कड़ेको हातमा।


उता सिरानेको पुरानो खुकुरी पनि

झसङ्ग  झसङ्ग हुन्छ हिजोआज

जाँतो ढुङ्गा हुनाले बिक्दैन रे

बाहिरियो ऊ उहिलेई

सारै रमाइलो लाग्छ आधुनिकता

नाति हरूलाई।

अक्सिजेनको ढुङ्ग्रो डँडाललोमा बोकेर

हिँडेको हुन्छन् होला आगामी पुस्ताहरू

भव्य देखिन्छ होला आधुनिकता।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

२०/१/२२