डुङ्गा बाम लाग्यो
*************
सल्ल बगेको पानीमा
गहिरो र बाम
थाहै भएन नाउरेलाई
प्रेमको भाखा बोल्छ, बगेको पानी
डुङ्गा बाम लागे पछि मात्रै थाहा भयो
प्रेमिकालाई झुठो प्रेमको आभास
जाँदैन नौका अब
डुङ्गा बाम लाग्यो।
को छ र आफ्नै यहाँ भन्छ डुङ्गा
लास लाँदा त काँध बदलिनु पर्छ
क्षनिकको गहीरो नदी
हिउँदमा सुकेर जान्छ
बाढी र बर्खा त केहिदिन मात्रै न हो
झस्कियो यो अनौठो प्रीत
डुङ्गा बाम लाग्यो।
कति प्रेम गरिस भन्दैन इतिहास?
कति आर्जन र विद्धग्ध भएको कुरा मात्रै सोध्छ
माया र प्रेम त सानामा रम्येको
बेहुला बेहुलीको खेल न हो बालुवामा
भताभुङ्ग भयो कृतिम स्वरूप ,आकृति
लथालिङ्ग भयो त्यो प्रेम
डुङ्गा बाम लाग्यो।
निकै थिए यात्रु, प्रेमी डुङ्गामा
प्रितको जुगल जोडी पनि थिए
बुझेनन् उनीहरुले गहिरो र बामको खेल
अलपत्रो पर्यो चखेवाजोडी बीच धारमा
अनि थाहा लाग्यो,स्वार्थी प्रेमको
झसङ्ग भए प्रेमी युगल
डुङ्गा बाम लाग्यो।
नदी ,हिउँद बर्खालाई दोष दिएर के पो गर्नु
पैसा, धन, गरीब र अहंकारमा पो छ कि क्याहो प्रेम?
सुन्दर र सुन्दरता बुझेन नदीले
ऊ त निरन्तर बग्छ
कसैले बाँध लगाई दिए रोकिन्छ
अनि ठट्टा गर्छ
मैतालु जान लागेको जोडीलाई
नव र बृद्ध दुवै दम्पती निकै तारेको छ उस्ले
पुष्ट र निस्तेज बक्षस्थल दुवै देखेको छ उस्ले!
डुङ्गा बाम लाग्यो।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला,गुवाहाटी
710/21