बुढा
***
बुढा!कान्छी र माइली नातिनि
छुट्टीमा आएका छन्
कान्छी डाक्टर पढदै
माइली इन्जिनियर गर्दै
मलाई बीचमा राखेर ओछ्यानमा
दुई तिर दुवै नातिनि सुतेको छन्
हजुरको बैँसको र आचरणको कुरा सोध्नन्
मलाई गाउँखाने कथा पनि भन्नु भन्छन
तिमी ध्रुवतारा मेरो जीवन यात्राको।
छत्र छायाँ थियौ तिमी
तीनवोटी छोरीनै छोरी जन्मिँदा पनि
कहिले हेरेनौ छड्के नजरले मलाई
बरु मलाईपो छोराको आशा थियो
तिमीले सम्झाउने गर्थ्यौं मलाई
"लक्ष्मी हुन छोरी" भन्थेउ
मेरो परिवार नियोजन गर्दा
निकै दिन रिसले बोलिन म हजुरसँग
पछि त छोराको आभास नै भएन
छोरा छोरी एउटा हुन भन्नु हुन्थ्यो
तमाम थियो हजुरको त्यो जीवन युद्ध समाजमा!
मानौं छोरा त समाजलाई पो चाहिने!
तिमी ध्रुवतारा मेरो जीवन यात्राको।
गोदारनी आमोई आएर
चुरा नलगाउन
लसुन पियाज नखान
सेतो वस्त्र लाउन
सधैँ कपाल मुडुलो पार्न
कसैको शुभकार्यमा नजान
भनेर गइन्,विधवाको नियम रे!
नातिनिहरूले झाँको झारे आमैको
"तिमीले केही बार्नु पर्दैन
जस्तो लाए पनि हुन्छ" भनेको र
"प्रेम श्रद्धाको न आभास हो, देखाउने हैन"
भनेको कुरा मनन् गरेकी छु मैले
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
तिमीले अन्तिम समयमा
तिनै छोरी ज्वाइँलाई
भनेर गएथौ
आमाको ख्याल राख्नु भनि!
केही दुःख छैन मलाई
हाम्रो पुर्खा र तिम्रै संस्कारको फल होला सायद
राम्रो सेवा चाकरमा छु म
खान लाउनमा केहि प्रतिबन्ध छैन
तिमीले भने जस्तै जीवन यात्रा छ मेरो
रमाएको छुव म, छोरी,ज्वाइँ र नानीहरू सँगै
तिमी ध्रुवतारा मेरोजीवन यात्राको !
कपासको बाती बनाउन थालेकी छु
लाखबत्ती जलाउने इच्छा छ
हजुरको आठौं वार्षिकमा।
लगभग पचास हजार बाती
बाटीसँके मैले
रहेको छोरी, नातिनि र सम्धिनीले र
छिमेकी हरुले बाटी दिने रे!
असारको मैना पञ्चमी तिथिको दिन
पूजा र लाखबत्ती बाल्ने।
म आकाशको ध्रुवतारा हेर्छु त्यो दिन
तिम्रो यादमा
तिमी धरतीतिर हेर्नु ल!
सबै भेला हुन्छन्
तिम्रो यादमा
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
दाँत सबै झरे त मेरो बुढा!
मिठो गीलीभात पकाउने कुकर ल्याएको छन्
दाँत लगाई दिए हालै ज्वाइँछोरीले
मलाई च्यास् अलिक बिसन्चो हुँनुहुदैन
तिनै छोरी ज्वाइँ र नातिनिहरू तैनात हुन्छन्
नातिनिले आँखा पनि जँचाई दी
अहिले अलि अलि देख्छु
कान अलि अलि सुन्छु
यस्तै हुन्छ बृद्ध उमेरमा भने डाक्टरहरूले
आनन्द छ मलाई
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
हामी तीर्थ जाँदा किनिल्याएको
सेतो चन्दनको गिँडो
घोटिएर स्यानो भएको छ
त्यही घोटेर लगाउने गर्छु सँधै
चनौटो पनि खिएर स्यानो भएको छ
हजुरको यादको चिनो भएको छ
ठुलो नातिले "हुईल चेयर" ल्याईदिएको छ
बिहान घाम ताप्न तुलसाको मोठसम्म
लगीदिन्छे नातिनिले
तुलसीमा पानी चढाउँदा एकपटक
आकाशतिर नजर लाउँछु
तिम्रो याद सारै आउँछ
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
मेरो तेस्रो गर्भधान हुँदा
सबैले भित्रि आग्रह गरेका थिएँ
छोरा कि छोरी हेरि लिनु भनेर
तिमी नमानेको झल्झली याद आउँछ
भ्रूण हत्याको पाप लिएनौं हामीले,हजुरले नै गर्दा!
समाजले किरिया गर्ने मान्छे हुँदैन भने
अहिले कान्छी छोरीको घरैमा छु
सोचेर जिउ जिरिङ्ग हुन्छ
अरू छोरीहरूले पनि मलाई लाँन्छन्
सबै छोरी ज्वाइँ तत्पर छन्
रत्तिभर गुनासो छैन मेरो
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
हाम्रो घर घढेरी
म जिवित छदैं
बेच विखान गरेर ,तिनै छोरी ज्वाइँलाई
तिनभाग गरिदिन आग्रह गरें
झन्नै मारेनन् मलाई
अनाथलय लाई दान पो गरि दिए
हाल निकै अनाथ नानी, बालवृद्धाहरू छन्
हजुरको यादमा अस्ति सबैलाई
भोजन र लुगा दिए सबै मिलेर
छोरीहरू " रत्न"ज्वाइँहरु "हीरा"
नाति नातिना हरू "सुवर्ण" हुन गए
सबै गाउँलेहरू हिजो आज त्यसो पो भन्छन
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
बुढा! हाम्रो लामो जीवन यात्रामा
तिमीलाई कहिले रिस उठेको देखिन्
बुढी कुटेर मर्द हुँ भन्ने जमानामा
कहिलेइ मलाई हात छोडेनौ
मेरो पनि अन्तिम अन्तिम अवस्था छ
विवाहमा गुरुले हामीलाई आज वाट पति पत्नी
"तिम्रो हृदय मेरो,मेरो हृदय तिम्रो"संस्कृतमा
सुनाएको श्लोक याद छ?
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
लाखबत्ती बालेको दिन
तिमी कुलको वायु भएर आउनु
म कोइलाटोमा घिऊको धूप हाल्छू
रमिन्छन नानीहरू
सुनाउनेछन् हजुरको,मेरो साथै
छोरी हुनेहरूको अमूल्य गाथा
"अमर कथा" हुने छ
"अमरनाथ" शिव पार्वतीको जस्तै
केही दुःख छैन मलाई बुढा!
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी, आसाम