कठैबरा!दसैँ!
**********
ऊ आज म्लान र अबोल छ
पुरानो र नयाँ दसैँको फरक देखेर
के थियो चहलपहल उहिले
मौसम आभा आभा हुन थाल्यो
मिठो मसिनो बटुल्न हम्मे हम्मे
के सोच्दो होला आजको तामझाम देखेर दसैँ?
कठैबरा!दसैँ!
बाबु ऋण लिन साहुकामा
आमा कर्केनी आमैकामा
सापट केहि दिनु हुन्छ कि?
नाति आमैलाई सानो गाडी र पेस्तोल भन्छ
हिजो आज त अरिजीनल पो
खेलाउँछन गाडी र पेस्तोल ठिटाठिटीहरू!
छक्क पर्दो हो अहिलेको माहौल देखेर!
कठैबरा!दसैँ!
ढिकीको मुसलको निम्ति नयाँ काठ
खोजी रहेछ दुलाल साइँलो
एउटा ढिकीमा निरन्तर कार्य
गाउँका मानिसहरू
तैँ छाड कि मैं छाड
दिन रात चल्छ ऊ
बनाउँछ चिउरा पातलो ,बाक्लो
मसिनो अनेकौँ धानको
भुट्न व्यस्त,प्रेमालाप, कति हो कति कथा
अहिले रहेन पुरानो रौनक!
कठैबरा!दसैँ!
खसी,बाख्रा, च्याङरो तान्दै लगेको दृश्य
सप्तमी र अष्टमीमा बलि दिएर
बोकाको निकैवटा टाउको
बोकेर घर ल्याएको धामी कान्छाले!
बजारमा नयाँ लुगाको निम्ति
लिडेँढिपी गरि रहेका नानीहरू
गरीबहरू साहुको भरमा
धनीहरू वियाजको स्तरमा!
निष्प्राण देख्छ अहिले माहौल ऊ
सपना भए ती दृश्य!
कठैबरा!दसैँ!
लिङ्गे पिङमा पालो पालो
मच्चिएको पिङ माथिवाट नै नजर,
तल भुमण्डलमा प्रेमिका!
विहङ्गम दृश्य,प्रेमील माहौलको!
दशमीको दिनै टिको लगाएर
यात्रा सुरु परदेशको, बृद्ध आमा बाबुको
दर्शन र आशीर्वादको अभिलाषा!
देख्दैन हिजो आजको दसैँले सायद!
कठैबरा!दसैँ!
ढिँडो,घाङ्ग्रा,मकै,कोदो साथै
मासु बेगर नै फुको चिउराले चाड कटाएको
त्यो गरिबी देखेन अहिलेको दसैँले
कठैबरा!दसैँ!
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला,गुवाहाटी।
९/१०/२१