हन्बेर्नो



मासु को झोल भकभकी उम्लिएको

कराई पनि कालो अनि तातो

हतार हतार निकाल्नु पर्ने चुलोबाट

नयाँ दुलही तिमी ,युगल जीवनको सुरुवात

यता उता हेरेर मलाई खोज्यौ

तिमीलाई मैले तातो ले डाम्न बचाएँ 

मेहदी लगाएको हत्केला कति मुलायम।


अस्ति त ओलन नै पोखियो तातो ले

हतार हतार मलाई खोजेर पुस्नु पर्यो

निकै दिन पछि मेरो याद आयो र धोयेउ पनि

मैले पोखिएको सबै ओलन सुकाएँ

तिमीलाई मैले केहि त सुरक्षा त अवश्य गरें

मेहदी लगाएको हत्केला कति मुलायम।


तिम्रा ति मुलायम हत्केला पोल्न दिईन

हात स्पर्श गर्ने प्रेमीले जानेनन् ति कुराहरु

भनेनौ तिमीले, सम्पूर्ण भुलेऊ मलाइ

मुलायम हात को तारिफ गरे  होला उनीले ,

तर मेरो यो सुचारु कार्य को उल्लेख छैन् कहिँ

मेरो त याद नै पो आएन कि कसो?

मेहदी लगाएको हत्केला कति मुलायम।


म च्यातिएर धुजा धुजा भएँ

अनि फ्याँकि दियेउ मलाई

बारीको पल्लापटि को खाडलमा

झुम्रो नामाकरण भयो मेरो

तिमी मुलायम को मुलायम तर म पो फ्याँकिये

अर्को  हन्बेर्नो आयो होला फेरि

तारिफ गरे होला फेरि प्रेमीले

म फगत भएको छु खाडल मा

मेहदी लगाएको हत्केला कति मुलायम।


कुनै दिन अवस्य डाम्ला नि तिमीलाई ?

फोको उठ्ला नि दुवै हातमा

चिसो पानी ले हराउदैनन डामहरु

चुला त सम्भालनै पर्यो कि कसो?

उनीले सुमसुमाउदैनन् होला तिम्रो हात

डामेको र पोलेको हुनाले , बस्ला नि खत

तिम्रो दुःख बुझ्ने फगत म नै होला सायद

याद आउँछ होला सायद मेरो ।


मेहदी लगाएको हत्केला  कति मुलायम।


पुरुषोत्तम उपाध्याय दाहाल

तेज़पुर 

18/6/21