मेरो साथी बिर्खे भन्छ:

 मेरो साथी बिर्खे भन्छ:

एक सर्को तान्यो समस्या खतम!!

*************************

बिहे गर भनेर सधैँ गनगन, कचकच,फतफत

न बिहे नै गर्न छ

न छोराछोरी नै पाल्न छ

गोठ बस्यो

एक सर्को तान्यो समस्या खतम।


बैरङ्ग चिठ्ठी जस्तो यो प्रेम भन्छन 

पैसा तिर्यो चिठ्ठी लियो

त्यो पनि डबल खर्च

ढुक्क छ मलाई

एक सर्को तान्यो समस्या खतम।


समस्याको समाधान दिने

अनेकौँ बाबा र वैद्यहरू

परेन मलाई

समस्या भए पो मेरो!

पैसा निकै हुनेको समस्या निकै हुन्छ भन्छन

काम गर्यो,रमायो

न निन्द्राको समस्या

न भोकको समस्या

न डाक्टरकोमा न धामीकोमा 

निरोगी छ काया

त्यही बिहे त गरिन!!

अरु के नै बिगार गरेँ र मैले

मरे गर्दिन बिहे!

बिहे गर्नेले केनै पो फत्ते गरेका छन् र!

एक सर्को तान्यो समस्या खतम।


बिहे गर,ससुराल जा,

अस्पताल कुद

कोक्रो बना 

लै लै ला भन

आफैंमा भुल्नु रे!

उता

सालीको बिहे

सालाको जनै सुपारी

सासु आमैको चौरासी

जेठी सासुको घरमा पूजा

काका ससुराको तीर्थ यात्रा

हैट!समस्याको लामो सूची 

मरे गर्दिन बिहे

ब्रह्मपुत्रको किनार

चिसो हावा

स्वच्छ वातावरण

बाँचि रहे दुधभात

मरे ब्रह्मपुत्रको तीर

एक सर्को तान्यो समस्या खतम।

टन्टा साफ!

गोठालो मान्छे, सिधा कुरा।

जय श्रीकृष्ण,

जय भोले।

*********

(विधिसम्मत चेतावनी:लागु पदार्थ सेवन स्वास्थ्यको निम्ति हानिकारक हो)

***********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

३१/७/२०२३