किन कसैलाई हेर्न मन लाग्छ ?
*********************
कान्छा!
हिजोआज मोबाइल छ
भिडियो केमेरा छ
देश विदेशमा कुरा गर्न सकिन्छ
सबै साधन छ
र पनि
किन कसैलाई हेर्न मन लाग्छ??
किन कसैलाई भेट्न मन लाग्छ??
किन कसैलाई अँगाल्न मन लाग्छ??
मर्ने अघि हजुरबाको नाति नातिना हेर्ने ईच्छा
हजुरआमाको नातिनी बुहारी हेर्ने मन
अनेकौँ छन् ईच्छाहरू
उमेरले नेटो काटेको छ
देख्ने र हेर्ने मन अनन्त छ
किन कसैलाई हेर्न मन लाग्छ??
बिदेश गएर मालामाल भएको छन् कोही
अन्तमा बुढो हुँदा
जन्मथलो जान र वाल्य सखा हेर्न खोज्छन्
रुख हेर्न खोज्छन्
खोला हेर्न खोज्छन्
घरको मह खान खोज्छन्
त्यहीँ अन्तिम यात्रा गर्न पनि खोज्छन्
तर
भन्न सक्दैनन्।
कान्छा!किन कसैलाई हेर्न मन लाग्छ??
बाँझो खेत छोडेर गएको थियो ऊ
अहिले झन् बाँझो देख्छ
खेतको अन्न खान खोज्छ
बारीको सब्जी खान खोज्छ
खोलाको माछा खान खोज्छ
तर
कान्छा!
किन हिजोआज
कोही कोही नेता छोडेर
बाँकी सबथोक हेर्न चाहन्छन् ?
मैले सोचेर पार पाइन
तँ भनिदे कान्छा!
किन कसैलाई हेर्न मन लाग्छ??
किन कसैलाई भेट्न मन लाग्छ??
किन कसैलाई अँगाल्न मन लाग्छ??
***
पुरूषोत्तम उपाध्याय दाहाल
4/2/2024