हो!मानिसको क्रम-विकास भएको छ

 हो!मानिसको क्रम-विकास भएको छ

******************************

हजुरबाको गीलोभात पकाउने भाँडो

बेचीएको छ 

हुईल चेयर भाँचिएको छ

सुत्ने कोठाको बत्ती बिग्रिएको छ

उखुम गर्मी छ

हाते पङ्खा छ हजुबाको हातमा

हो!मानिसको क्रम-विकास भएको छ।


विवाह अनलाइनमा भएको छ

माहौल प्रेमील छ

फेसबुक रमाएका छ

फोटा देखिएको छ

आमा बाबु गोठमा छन्

विवाहको खबर गरिएको छ

गोठमा हल्ला फिँजिएको छ

हो मानिसको क्रम-विकास भएको छ।


उहिले सुर्ती र चुरोटको अम्मल हुन्थ्यो

कसै कसैको

अहिले भाङ,गाँजा अफिङ् र ड्रग्स

भेटिन्छ जताततै

सुन्यमा विलीन छौँ हामी भन्छन उनीहरु

कसैको डर छैन

आधा शरीर नाङ्गो छ

बाबु आमाको मन रोएको छ

देश नसामुक्त पार्न देशको बजेट 

दिनौँदिन बढ्दै गएको छ

तर परिस्थिति जस्ताको त्यस्तै छ 

हो!मानिसको क्रम-विकास भएको छ।


एउटा देशको विवाहित नारी

अर्को देशमा आएकी छिन्

नानी केटाकेटी पनि ल्याएकी छिन्

प्रेम भएको कुरा गर्छिन्

केटो यता अर्को देशमा 

तैयार छ आलिङ्गन गर्न

मिडियाले घेरेको छ

कथानक चलचित्र हुन् गएको छ

हो!मानिसको क्रम-विकास भएको छ।


बुहारीको जागीर एउटा सहरमा छ

छोराको जागीर अर्को सहरमा छ

कहिलेकाहीँ भेट हुन्छ

जिन्दगी मसिन जस्तो भएको छ

हजुर आमाको नाति नातिना खेलाउने रहर छ

गाउँलेहरू "उमेर ढल्कियो छोरा बुहारीको आमै!

अब नाति नातिनाको आशा नगर"भन्दिन्छन,

गाउँमा 

आमै जिस्काउने चलन चलेको छ

हो!मानिसको क्रम-विकास भएको छ।


धर्मग्रन्थको भूल व्याख्या गरिएको छ

धुवाँ ननिस्कने, पर्याबरण नबिगार्ने 

अर्जुनको धनुष र श्रीकृष्णको सुदर्शन चक्रलाई 

तोप र मिसाइल भनिएको छ

कुरुक्षेत्र भएको छ धरातल

मानिस एक्ला एक्लै बस्न रुचाएको छ

वृद्धाश्रमको माग प्रचुर भएको छ

मानिस

मात्तिएको छ

च्यात्तिएको छ

हुत्तिएको छ

आत्तिएको छ 

बोल्दैनन् ईश्वर कठै!

हो!मानिसको क्रम-विकास भएको छ।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

11/9/2023