आमाको तस्वीर
************
कान्छा!
आज अलिकति समय निकाल
दुइभाइ मिलेर आमाको तस्वीरलाई
एकोहोरो अपलक दृष्टिले हेरौँ
केही तथ्य खोजौँ।
के छैन त्यहाँ?
के देखिँदैन त्यहाँ ?
कुन रङ्ग छैन त्यहाँ ?
इन्द्रेणीको सात रङ्ग !
हाम्री आमाको हज्जारौ रङ्ग!
सूर्यको एक ज्योति
हाम्री आमाको सहस्र ज्योति
पूर्णिमाको जून जतिनै उज्यालो नहोस किन
हाम्री आमाको गोलो सिन्दुरको टिको त्यो भन्दा उज्यालो।
आमाको तस्वीरलाई अपलक दृष्टिले हेरौँ
केही तथ्य खोजौँ।
हँसिया कर्मको प्रतीक
त्यसैले सायद हामी कर्ममा विश्वास गर्छौं
पहिरनमा आदर्श हाम्री आमा
सियोधागो छ घरमा
फाटे सिलाउनु हुन्छ
लुगा खोलामा धुनु हुन्छ, सफा लुगा लाउनु हुन्छ
एकोहोरो अपलक हेर त आमालाई!
के देखिँदैन त्यहाँ
मानौँ एक महान सृष्टिको साक्षात् देवी
सात दशकको एक युग साक्षी
आइज,आमाको तस्वीरलाई अपलकदृष्टिले हेरौँ
केही तथ्य खोजौँ।
हामी कोहीपनि जन्मिएनौं रे अस्पतालमा
भन्नु हुन्छ आमा---
प्रसव पीडा बारे एकदिन आमालाई सोधेंथेँ
तँ जन्मिँदा दुई धाईले,आमाको दुईहात
अरु दुईले,आमाको दुई गोडा समातेको
कुरा गर्नु भयो
बाँकी भन्न सक्नु भयेन,आँसु झरे आमाका
सायद विगत सारै दुःखदायी थियो होला
पितृसत्ताको चाहनाले निकै पटक
सुत्केरी हुन बाध्य हुनुभयो आमा!
हाम्री आमाको हज्जारौ रङ्ग,हज्जारौ रूप
केही अर्को नाउँ भेटिएला र आमलाई पुकार्ने?
देखिस फोटामा कान्छा!आमाको अनन्त रूप!
पोतेको हरियो रङ्ग
र
डोकोमा भरिएको हरियो घाँसको रङ्ग
एक अर्कामा सधैँ कुरा गर्ने गर्छन
डोको आनन्दले सुन्छ ,उनीहरूको वार्तालाप
त्यही घाँस खाएको कवासी गाईको दुधले
हामी हुर्किएका
जा, नत्र आमालाई गएर सोध
अहिले आमा बाबुलाई गोडामा चिल्लो लाउँदै हुनुहुन्छ
भोलि बिहान सोध्नु
आइज,आमाको तस्वीरलाई अपलक दृष्टिले हेरौँ
केही तथ्य खोजौँ।आहा!हाम्री आमा।
अर्को कुरा कान्छा!
आमाको डँडाल्नो देखिँदैन नि,फोटामा
भोलि आमालाई डडाँल्नोमा
चिल्लो लगाउने निहुले नियाल्नु
त्यहाँ डोको बोक्दा बोक्दा भएको कालो दाग छ
हाम्रो खानदानको इतिहास छ
कथा छ,कविता छ,वेदना छ,चित्कार पनि छ
दिदी,दाजु,भाई सबैको इतिहास छ
साथै
राम्ररी हेर्नु त त्यहाँ, हाम्रो गोत्र पनि छ
तर
मावलाको गोत्र गायब छ।
चल केटा!आमाको तस्वीरलाई अपलक दृष्टिले पुनः हेरौँ
केही तथ्य खोजौँ
आमाको मर्म बुझ्ने प्रयास गरौँ
हाम्री आमा सदैव महान।
**************
पुरूषोत्तम उपाध्याय दाहाल
चेन्नई, भारत
18/11/2023
कविता लेख्न अनुरोध:भाइ प्रितम आचार्य (गोठाले कान्छा)
फोटो सौजन्य :श्रीमान अर्जुन उप्रेती
तस्वीर: : गोठालो कान्छाको ममतामयी माताश्री