https://www.setopati.com/literature/300226
आमाको बजारे लुर्कना
*****************
आमाले प्वावा पैसाले किनेर लगाएको
बजारे सुनौलो रंगको त्यो लुर्कना
जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यती त्यती उज्याली देखिदै गइन् हाम्री आमा।
कति राम्री हाम्री आमा है !कान्छा!
बाबुले चाँदीको लुर्कना आमालाई दिउँला भनेको
सानै देखि सुनेथ्यौं है कान्छा ,हामीले
आमाको कान निकै दिन बुच्चै थियो
आमाको कानको लोती समातेर
त्यो स्यानो छिँडवाट
मैले तँलाई
तैंले मलाई
हेर्ने गथ्यौं है! कान्छा!
कुक्कु!हा! गरेको याद छ कान्छा?
आमा रमाउनु हुन्थ्यो।
जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।
पहिले आमाको कानमा बाँसको सिनका लाग्यो
आमा गोहु गोरी देखिन थालिन्
आमाको कान पाक्यो सिनकाले होला सायद
तेल फुकेर ल्याउनु हुन्थ्यो
जन्तरे बाको घरवाट
हामीले आमाको कानको अनेकौ रूप
देखौ है कान्छा!
जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको
त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।
फ्याँक्यो सूर्यले किरण एकाबिहानै
झन् टल्कियो आमाको लुर्कना
फुर्कियौं हामी
कति तेजिलो है हाम्री आमा!कान्छा!
पूर्णिमाको रातमा आमाको लुर्कना टल्कियो
जून लुक्यो लाजले
आमाको लुर्कना झन् तेजिलो जून भन्दा
बादलले छोप्याे जूनलाई
जति जति रंग गएर सेतो हुँदै गयो लुर्कना
त्यती त्याती हाम्री आमा उज्याली देखिदै गइन्।
देखिनु थाल्नु भयो हाम्री आमा हीरा जस्ती
लगाएको त्यो बजारे लुर्कनालेनै
झन् सुनको लुर्कनना भए त!
बर्मामा रहेका मावलाका हजुरबाले
सुनको लुर्कना दिनु हुन्छ भन्नु हुन्थ्यौ आमा!
कसले बनाइदिने पासपोर्ट
कसले देला भीसा
यता हामी
बर्मामा मावला!
लु जा अन्तरे र कान्छा मावला!
कता वाट आवोस सुनको लुर्कना
हाई!हाम्री आमा!
मेरो माइती! मेरो माइती! भन्दै गइन् हाम्री आमा!
थिएन कुनै प्यावा पैसा आमाको।
जति जति रंग गएर सेतो हुँदै गयो त्यो बजारे लुर्कना
त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी, आसाम,भारत
२२/४/२३