हे कलि!धपक्क बलि"

 हे कलि!धपक्क बलि"

***************

"शान्त बसेर हेर

नबोल,

सानो हौ,

चुप्प लागेर रमिता हेर"

भनेर गयो खत्री कान्छा!!!

"अब

रमिता हेर्ने दिन छ 

प्रभुले निर्णय गर्छन"

भनेर गए ढुङ्गाना जेठा।

"म" भन्ने शब्द खतरा हो 

विनाश गर्छ यस्ले"

भनेर गईन काली दिदी।

"विनाश काले विपरीत बुद्धि"

भनेर जानुभयो गुरुबा।

"यो धरती कस्ले बनायो

कलको पानी रक्सी गनायो"

भनेर गए मुक्तान जेठा।


अङ्ग्रेजीमा" हु आर यू " भनेर गए

माजन जेठा।

"गाउँमा सबै ज्ञानी भएका छन् 

तर

सकेनन् कसैले दुष्कर्म पचाउन"

भनेर गईन खत्रिनी आमै"!

"सुनारेको सय चोट 

लुहारेको एक चोट "

भनेर गए गोले बा।

गाउँमा भागवत पुराण चल्दैछ रे!

कृष्ण भए निरोला माइला 

रुक्मिणी भइन् मञ्जरी 

विबाह उत्सव मनाए!

नयाँ र ताजा समाचार भाइरल भई रहेको छ गाउँमा!

निरोला माइला र मञ्जरी

भागेर

वृन्दावन पुगे रे!

कसैले

हल्ला चलेको भने!

कसैले"ओरिजिनल विबाह नै पो श्रीकृष्ण र रुक्मिणीको"

साक्षात् देखियो" भनेर खुसुक्क भने।

"तै चुप मै चुप" भने दाहाल बाबैले।

तर

"दुवै गाउँमा छैनन 

दुवैको मोबाइल स्विच अफ छ "

भन्ने खबर ल्यायो

दोकाने काइँला ले!

राधे कृष्ण 

राधे कृष्ण,भने

सबै गाउँका मान्छेले।

बेलुकी कथाको महात्म भनेनन् गुरुले!

"कठै! हाम्रो समाज!

कठै! यो जनता,मेरो कथा ब्यर्थै गयो "भन्दै

गुरुले "हे कलि धपक्क बलि"

भन्नुभयो भन्ने हल्ला चलेको छ!

"महाभारत अर्जुनको गीता 

हेर हेर घरगाउँको रमिता"

गाना बज्यो भगीरथको मोबाइलको रिङटनमा!!!

****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी

31/5/2024