इस् बस्छु अब तिम्रो गोठमा!

 इस् बस्छु अब तिम्रो गोठमा!

*********************

माजन!बीस वर्ष भयो बसेको तिम्रो गोठमा 

पहिले पाँच वर्षको दस माउ गाई दिने बाचा थियो

त्यो पनि दिएनौ

बिहे गरिदिने कबुल थियो

त्यो पनि गरेनौ

वर्षको पन्द्रह दिन छुट्टी दिन्छु भन्थ्यौ

गरेनौ केही,दिएनौ केही

इस् बस्छु अब तिम्रो गोठमा!


दसैँमा एकजोर नयाँ लुगा दिने

एक सेर खसीको मासु दिने

जुत्ता नयाँ किनिदिने

हातखर्च पनि दिने 

तीनदिन घर जान छुट्टी पनि दिने

गरेनौ तिमीले भने जस्तो

इस् बस्छु अब तिम्रो गोठमा!


तिहारमा भाइटीकाको खर्च दिने

आमालाई सारी किनि दिने

गोठैमा लिङ्गेपिङ बनाई दिने

केही भएन भने जस्तो माजन!

इस् बस्छु अब तिम्रो गोठमा!


नुहाउने साबुन र कपडा धुने साबुन

अलगै अलगै दिने कुरा थियो

लुगा धुने साबुन आयो

नुहाउने साबुन कहिलेइ आएन

नुहाउनु पर्यो लुगा धुने साबुनले

कपाल झर्यो

शरीर कालो भयो

छालामा खटेरा निस्कियो

जिन्दगी झिरिप भयो

इस् बस्छु अब तिम्रो गोठमा!


दस वर्ष पछि चारहल - 

रोजी रोजी बहर दिने

दुई लैनो गाई दिने

नयाँ कोट र पेन्ट किनि दिने

कालो चस्मा किनिदिने

केही भएन भने जस्तो, हजुर!

इस् बस्छु अब तिम्रो गोठमा!


हर मैना एकजोर टर्चको बेटरी दिने

रेडियो किनि दिने

मैनाको दस पेकेट चुरोट दिने

भित्री लुगा छ छ महिनामा किनि दिने

जीउमा लाउन नरिवल तेल दिने

चप्पल दिने

फूलतेल दिने

केही पाइएन भने जस्तो हरे!

इस् बस्छु अब तिम्रो गोठमा!


अ आ क ख सिकाई दिने

इंग्लिश टकिङ पनि सिकाई दिने

गोठमा खान नरम चामल दिने

पियाज र आलु मैनाको- 

दुई दुई किलो दिने

शुद्ध तोरीको तेलको भुटुन दिने

कुरा मात्रै गर्यौ प्रभु!

भएन भनेजस्तो!हैट!

इस् बस्छु अब तिम्रो गोठमा


कान्छा म र भगीरथ 

तिनैजना गोठाला नबस्ने अब गोठमा

हिसाब गर, पञ्च राख

तिम्रा जेठी र कान्छी बुढी दुवैलाई साक्षी राख

साँचो कुरा भन

गोठाला नमार माजान!

सय माउ गाई उहिले 

पाँच सय भए अहिले 

तिम्रो प्रगति भयो

हाम्रो दुर्गति भयो

ब्रह्मपुत्रको छेउमा जिन्दगी बित्यो!

इस् बस्छु अब तिम्रो गोठमा माजन!!!!

*********

अन्तरे गोठाला( पुरूषोत्तम उपाध्याय दाहाल)

मिरीछपडी

धौला सदिया

आसाम

२८/५/३०२३

             हाम्रो प्यारो गोठाला र माजन परिवार

             बीचमा हामीलाई भाषा सिकाउने देबी गुरु!