साथीको वेदना

 साथीको वेदना

***********

मेरो बाल्य सखा बिर्खे भन्छ -----

अन्तरे!!!

बुबाले गाउँको स्कुलमा नाम लेखाई दिनुभयो

खुशी भएँ 

स्कुल जा भन्नुभयो, गएँ

पढ् भन्नुभयो

सके सम्म पढेँ

बिहे गर भन्नुभयो ,गरेँ

जागीर गर भन्नुभयो

प्रयास निकै गरेँ 

तर भेटिन 

नाति नातिनाको मुख हेर्छु भन्नुभयो

जन्मिए त्यो पनि

वर्षेनीका दुई,छोरा र छोरी

अब विदेश जा कमाउन भन्दै हुनुहुन्छ

जान्न भने!!!

फर्काएँ जवाफ।

कति भनेको मान्नु हौ अन्तरे,हैट 

भनेर पो गयो 

रिसले चुर भएको रहेछ ऊ।

म गोठतिर चल दिएँ 

ऊ पाडा लिन चल दियो।

****

पुरूषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी , आसाम।

२१/६/३०२३

गोठको वधु विज्ञापन

 गोठको वधु विज्ञापन

****************

डोको बोक्ने, थुन्से बोक्ने,घाँस काट्ने चाहियो

ताक परे रुख चड्ने बयर टिप्ने, चाहियो

बियाड रुङदा गुलेलीले उफ्री उफ्री चरी खेद्ने 

अल्छी लाग्दा कहिले काँही बाघचाल खेल्ने चाहियो।


नदीमा गै थ्याच्च बसी लुगा धुने चाहियो

परालको तेन्द्रा लिई गुन्द्री बुन्ने चाहियो

लागो लाग्दा कुद्दै कुद्दै धामी डाक्न आँट गर्ने 

टाउको दुख्दा फूलतेल लाउने दर्हो हात चाहियो।


दुःख पर्दा ढिंडो खाने बलियो मन चाहियो

चोर डाका आईपरेमा खुकुरी बोक्ने चाहियो

दुधको तर, तोरी तेल,मास लगाई  श्रृंगार गर्ने

एउटा मुटु एउटा मन भएकी नै चाहियो।


छड्के नजर लाउनेलाई मुक्का मार्ने चाहियो

ढिकी कुटी चिउरा पार्ने दर्हो गोडा चाहियो

अभर पर्दा मात्रै मात्र माइत जान ईच्छा गर्ने

चौबन्दीको तुना बाँधने नरम हात चाहियो।


नदी खोला तर्न सक्ने पौडी खेल्ने चाहियो

धान रोप्ने,बीउ काड़ने हिलो खेल्ने चाहियो

कुटे लिई सब्जी गोड्ने खोस्रिने हात भए राम्रो

कीर्तन गर्दा ढोल मञ्जिरा घन्काउने चाहियो।

*****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी , आसाम

१३/६/२०२३

पार्टी

 पार्टी

****

कान्छा!

सुन न् 

ती बलभद्र बाको नाति,नेत्रे

निकै पढेर बम्बईवाट आएको रे

हिजो भगीरथको गोठमा भेट भयो

टाई लगाएको थियो

मलाई भेटेर अचानक

"तपाईं पार्टीमा भाग लिनुहुन्छ"काका पो भन्यो

के पार्टी भनेको उसले कान्छा!

मैले सुनेको त:

कीर्तने पार्टी,

डाका पार्टी,

भी डी पी पार्टी

विजेपी पार्टी

कांग्रेस पार्टी

कमिनिस्ट पार्टी

बेण्ड बाजा पार्टी

गोठाले पार्टी

माजन पार्टी

धेउसे पार्टी

गाँजा पार्टी

गुन्डा पार्टी

मदिरा पार्टी

विवाह पार्टी!

जुवाडे पार्टी!

के भनेको उसके बुझेर आइज त कान्छा!

हैट!

गोठाला हुनु र नजान्न पनि लाजमर्दो भयो कान्छा!

केही बुझिँदैन

हिजो अस्तिको केटा मलाई फ्याट्टै 

"तपाईं पार्टीमा बस्नुहुन्छ" पो भन्यो"

*********

अन्तरे दाहाल

मिरी चपडी

धौला सदिया

४/६/२०२३

फरक छ हामी र उनीमा ******************* कान्छा!!! फरक छ हामी

 फरक छ हामी र उनीमा

*******************

कान्छा!!!

फरक छ हामी र उनीमा!

उनी मञ्चमा,हामी भुइँमा

हाम्रो कथा अनन्त छ

पाखुराको कथा छ

पसिनाको कथा छ

फरक छ हामी र उनीमा।


उनी चन्द्रमाको शीतल छायाँमा

हामी तातो घामको गर्मीमा

हामी सृष्टि गर्छौ

उनी विनाश गर्छन

फरक छ हामी र उनीमा।


उनी पैसा हेर्छन

हामी हृदय हेर्छौ

उनी गाजल हेर्छन

हामी निधार हेर्छौं

उनी लिनेमा छन् 

हामी दिनेमा छौं 

हामी राखिएको हौँ

उनी हुकुमे हुन् 

फरक छ हामी र उनीमा

निकै अमिल छ हामी र उनीमा!!!


**अन्तरे गोठालो

४/६/२०२३

को ठुलो

 को ठुलो!

******

एक(१) ले शून्य (0) लाई भन्यो,

हेर,मवाट नै प्रारम्भ,

म शुभ संख्या,

मेरो कति गुणगान छ,

तेरो सारै बद्नाम छ

बस् त्यति।

सुन्य(0) एकछिन मौन भएर

एक (१)लाई भन्यो!

म शून्य त हो

तर जोड्दै जाउ तिम्रो पछि

म ब्रह्माण्ड हुन सक्छु

ममा प्राणी जगतलाई

विलीन गर्न सक्ने क्षमता पनि त छ!

तिमी शब्द ब्रह्म भनि ठान्छौ आँफैलाई

म नाद ब्रह्म हुँ!

ठट्टा नगर!

बस् त्यति।

******

पुरूषोत्तम उपाध्याय दाहाल 

२/६/२०२३

इस् बस्छु अब तिम्रो गोठमा!

 इस् बस्छु अब तिम्रो गोठमा!

*********************

माजन!बीस वर्ष भयो बसेको तिम्रो गोठमा 

पहिले पाँच वर्षको दस माउ गाई दिने बाचा थियो

त्यो पनि दिएनौ

बिहे गरिदिने कबुल थियो

त्यो पनि गरेनौ

वर्षको पन्द्रह दिन छुट्टी दिन्छु भन्थ्यौ

गरेनौ केही,दिएनौ केही

इस् बस्छु अब तिम्रो गोठमा!


दसैँमा एकजोर नयाँ लुगा दिने

एक सेर खसीको मासु दिने

जुत्ता नयाँ किनिदिने

हातखर्च पनि दिने 

तीनदिन घर जान छुट्टी पनि दिने

गरेनौ तिमीले भने जस्तो

इस् बस्छु अब तिम्रो गोठमा!


तिहारमा भाइटीकाको खर्च दिने

आमालाई सारी किनि दिने

गोठैमा लिङ्गेपिङ बनाई दिने

केही भएन भने जस्तो माजन!

इस् बस्छु अब तिम्रो गोठमा!


नुहाउने साबुन र कपडा धुने साबुन

अलगै अलगै दिने कुरा थियो

लुगा धुने साबुन आयो

नुहाउने साबुन कहिलेइ आएन

नुहाउनु पर्यो लुगा धुने साबुनले

कपाल झर्यो

शरीर कालो भयो

छालामा खटेरा निस्कियो

जिन्दगी झिरिप भयो

इस् बस्छु अब तिम्रो गोठमा!


दस वर्ष पछि चारहल - 

रोजी रोजी बहर दिने

दुई लैनो गाई दिने

नयाँ कोट र पेन्ट किनि दिने

कालो चस्मा किनिदिने

केही भएन भने जस्तो, हजुर!

इस् बस्छु अब तिम्रो गोठमा!


हर मैना एकजोर टर्चको बेटरी दिने

रेडियो किनि दिने

मैनाको दस पेकेट चुरोट दिने

भित्री लुगा छ छ महिनामा किनि दिने

जीउमा लाउन नरिवल तेल दिने

चप्पल दिने

फूलतेल दिने

केही पाइएन भने जस्तो हरे!

इस् बस्छु अब तिम्रो गोठमा!


अ आ क ख सिकाई दिने

इंग्लिश टकिङ पनि सिकाई दिने

गोठमा खान नरम चामल दिने

पियाज र आलु मैनाको- 

दुई दुई किलो दिने

शुद्ध तोरीको तेलको भुटुन दिने

कुरा मात्रै गर्यौ प्रभु!

भएन भनेजस्तो!हैट!

इस् बस्छु अब तिम्रो गोठमा


कान्छा म र भगीरथ 

तिनैजना गोठाला नबस्ने अब गोठमा

हिसाब गर, पञ्च राख

तिम्रा जेठी र कान्छी बुढी दुवैलाई साक्षी राख

साँचो कुरा भन

गोठाला नमार माजान!

सय माउ गाई उहिले 

पाँच सय भए अहिले 

तिम्रो प्रगति भयो

हाम्रो दुर्गति भयो

ब्रह्मपुत्रको छेउमा जिन्दगी बित्यो!

इस् बस्छु अब तिम्रो गोठमा माजन!!!!

*********

अन्तरे गोठाला( पुरूषोत्तम उपाध्याय दाहाल)

मिरीछपडी

धौला सदिया

आसाम

२८/५/३०२३

             हाम्रो प्यारो गोठाला र माजन परिवार

             बीचमा हामीलाई भाषा सिकाउने देबी गुरु!

बिचरो चरी *******

 बिचरो चरी

*******

एउटा चरी

सिमलको रुखमा मात्र बस्छ

उसको परम्परा नै त्यो

पुर्खौ देखि।


मासियो सिमलको रुख!


ऊ उडेको उडै छ रे

एउटा सिमलको रुखवाट उडे पछि

अर्को सिमलको तरु भेट्न

उडेको घन्टौँ भयो रे रुखको खोजीमा

न भुइँमा बस्छ

न अरू कुनै रुखमा

लखतरान भएको 

समाचार आएको छ कान्छा!


काव्यकारहररूको कुनै सभामा गएर

मर्न चाहन्छ रे ऊ

सन्देश फैलाई दिनु पर्ने रे

उसको बिडम्बनाको 

काव्यकार हरूले!

काव्यकारहरू

काव्य सम्मेलन नै गर्न छोडे

हिजोआज फेरि!भन्दैछ रे ऊ !


इच्छा प्रकट गरेन उसले

कुनै नेताहरूको सभामा झर्न!!!

वाह!

काव्यकारहरूमा विश्वास राख्ने

चरी! कठैबरा!

दानव मान्छे!!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

हिलागुडी छपडी

धौला सदिया

आसाम

२७/५/३०२३

ठुली गरौं कान्छा! **************

 ठुली गरौं कान्छा!

**************

कान्छा!

पपुवा न्युगिनीको एउटा दृश्य!

हेर हेर!

ठुली गर्दा कोही स्यानो हुँदो रहेनछ

देखिस! ठुला व्यक्तिहरुको व्यक्तित्व!

मन छोएर आउँछ

आँखा रसाएर आउँछ!


अब हामी पनि

ठुला,मान्यजन,बाबु-आमा

सबैलाई ठुली गर्नुपर्छ ल !

गोठमा सबैलाई सुनाई दे कान्छा

यो भव्य समाचार!


हाई,हेल्लो भन्छन नानीहरू

हैट!

बस् त्यति।

********

पुरूषोत्तम उपाध्याय दाहाल

२४/५/२३

म चैतको एउटा हुरी मात्र

 म

**

म चैतको एउटा हुरी मात्र

बस् त्यति,

बिजुलीको 

एक चम्काई मात्र

त्यति।

(स्व.हरिभक्त कटुवाल )


मेरो गोठको बाल्यसखा विर्खै भन्छ:- 


ईश्वर!अर्को हरिभक्त जन्माई देऊ!

************************

ईश्वर!

म तैयार छु

नारी बन्न

तैयार छु आमा बन्न

भ्रूण भित्र्याउन

पाठेघरमा राख्न

नौ नौ मैना गर्भाधान गर्न

मातृ पीडा सहन् 

या

सरोगेट आमा बन्न

तर

एउटा सर्त छ पभु!

जन्माउनु पर्छ तर

अर्को हरिभक्त कटुवाल

जन्माईदेऊ 

काव्यरस फैलाईदेऊ 

विश्व मगमगाई देऊ साहित्यले

बस् त्यति!!!!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी,आसाम 

२३/५/३०२३

लुकाउ सरकार लुकाउ! ठुलो नोट लुकाउ

 लुकाउ सरकार लुकाउ!

ठुलो नोट लुकाउ

********

कान्छा!

सुनिस् नि दुई हजारको नोट

अब फेरि बन्द हुन्छ रे!

कति राम्रो है!

गोठमा बसेको बीस वर्ष भयो

सयको नोट सम्म चै छुन र देख्न पाइयो!


माजनले एकदिन हामीलाई

"दुई हजारको नोट यस्तो हुन्छ केटाहो"

भनेर देखाएको तर छुन नदिएको

याद छ कान्छा!!!!

यो नोट पनि कति

कुक्कु हा गरेर लुकामारी खेलेको है!


कान्छा!हिजो रेडियोमा 

देशको विकास

कालो धन निर्मुल 

राम्राे अर्थ व्यवस्था 

प्रगति र समृद्धिको निम्ति

यस्तो गरेको भन्यो है

के भनेको त्यो?

केही बुझिएन!

गोबर गणेशपो भइयो,हैट!गोठमा बसेर

सुनिस् कान्छा!हाम्रो माजनकोनि

थुप्रै दुई हजार टक्के नोट छन् रे

हाम्रो पाउने रकम दिँदैनन्

पाउने पैसा माग्दा-- 

"लोखर्के जस्थो स्यानो भएर आएको थिईस्

अहिले सुँगुर जस्तै पहलमान भइस्"भन्छन

भेटे मज्जा!गज्जब भयो है!

गोठालालाई दुई छाक खान

एकसरो लाउन पाए भयो अब

टन्टा साफ 

कि के कान्छा?

लुकाउ सरकार लुकाउ!

ठुलो नोट लुकाउ!

******

पुरूषोत्तम उपाध्याय दाहाल

मिरि छपडी

धौला- सदिया

आसाम 

२१/५/२०२३

हाम्रो गोठमा हरायो कविता **

 हाम्रो गोठमा हरायो कविता

*********************

कान्छा!

तैंले एउटा कविता लेख्नु न

अन्तरे दाजु!भनेर आग्रह गरिस!!!


हिजोआज कविता नै आउँदैन कान्छा!

रुखो भएको छ मन

लुथ्रुक्क भिजेको छ तन

आँखा रसाई रहन्छन्

कसैको आँखा प्रेमील देख्दिनँ

कविता छैन कान्छा हिजोआज।

बरु खत्री बाको गोठमा गएर

"केही सिलोक भन्नुन बा"भन

सुनेर आइज केही सिलोक

केही तृष्णा मेटिएला तेरो

म सँग हिजोआज

कविता छैन कान्छा!!!

आउँदैन कविता,मेरो भाइ !

रुखो भएको छ मन

उराठ भएको छ वसन्त!

बिरानो भएको छ गोठ!!!!!

****

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१६/५/२०२३

फोटो सौजन्य:गोठालो कान्छा।

कस्तुरी गाई

 कस्तुरी गाई

*********

कान्छा!लैनो गाई कस्तुरी

राति गोठमा नआउँदा

आमा नसुतेको र रोएको याद छ?

अहिले तिनकोरी वर्ष पछि

बल्ल थाहा लाग्यो

आमा किन रोएकी भनेर

चरन सकिएको थियो

उनी चर्न टाढा गएकी रहेछिन

त्यसैले ढिलो भएको रहेछ।

अहिले न त गोठ छ

न आमा नै हुनुहुन्छ

गाई घरको सबैभन्दा प्यारो

सानामा खाएको त्यो दुधले होला

हड्डी दर्हो छ हाम्रो कान्छा!

कसले बुझ्ने त्यो अनन्त वेदना!

हिँड गोठ जाऊ

कान्छा!

*****

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

हल्ला चलेको छ

 (स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  हल्ला चलेको छ

                  ************

जूनले जुनकिरीलाई "नाथे तेल नभएको टुकी" भनेर भनेको हल्ला चलेको छ

बस् त्यति

जुनकिरीले पनि"नाथे  औँसीमा प्राण नभएको भकुण्डो"

भेनेर भनेको हल्ला चलेको छ

बस् त्यति

*******

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१३/५/२३