कस्तो सपना

 कस्तो सपना!

**********

झरि र वादल साथै चट्याङ पनि

निदाएछु भुसुक्कै

देखेछु सपना:

माथि मञ्चमा सबै कविहरू विराजमान

नारी र पुरुष स्रष्टा

तल

देश चलाउने सबै राजनेता,

छर्लङ्ग पारे सबै देशको चित्र कवितामा

बिलकुल बजेन ताली तलावाट

गुन्ज्यो ताली माथिबाट

दुई - चार नेताले ताली बजाए हुलमा

अरुले आँखा तर्काए उनीहरूलाई।

गरिबीको उन्मूलन गर्ने ठुलो परिकल्पना

लोकार्पण गर्न छ भन्दै

हिँडे सबै नेताहरु आ - आफ्नो कारमा

यता कविहरु 

काव्यसन्ध्या सकेर 

पैदल नै लागे बस स्टेण्ड तिर

झसङ्ग विउँझिए

आज आकाश उज्यालो छ

सायद शुभ सङ्केत होला

देश विकासको।

सुन्दैछु मेरो साथी बिर्खे

बिहानै चाम्रेभात र गुन्द्रुकको अचार खाएर

आईतबारे पशु बजारमा

गएको छ रे चारदाँते

हलगोरु किन्न।

*****

पुरूषोत्तम उपाध्याय दाहाल

१५/५/२२