लिडेँ गोरु
*******
लगभग दस वर्ष उमेर भयो उस्को
कति बाली लगायो
कति हलो जोत्यो
दाहिने तिरको जुवामा सधैँ
अचानक बीमार लागेर
लिडेँ भयो, पुच्छर गयो।
रमाई रहेका छन झिँगाहरु
उसमा बुई भएर।
ऊ पुच्छर नहल्लाई चौरमा बसेको बेला
गिद्धहरू माथिबाट हेर्छन
कतै मरेको त हैन भनेर!
कान हल्लाउँदा छक्क पर्छन् गिद्ध।
आज घरको नातिनीको दस कक्षाको
परिणाम निस्केको दिन
सारै राम्रो परिणाम!राज्यमा प्रथम!
गाउँ घरमा सबै मिष्ठान्न लिएर आउनेको धुइरो
उनीहरूको घरमा।
छक्क पर्छ कथुरे लिडेँ गोरु
के भएको आज यस्तो भनेर!
उनीहरूको पोको तिर नजर लाउँछ
उस्ले खाने कुरा केही देख्दैन!
काम नलाग्ने बुढो भएको छ ऊ
मायाँ गर्ने वृद्धहरू सबै स्वर्गवास भए।
एकदिन नातिनीले आमालाई
"म इन्जिनियर भएर यस्लाई
कृतिम पुच्छर लगाइदिन्छु आमा"
भनेको सुनेको थियो कथुरे ले।
नातिनी कहिले अभियन्ता हुनु र
उसलाई एउटा कृतिम पुच्छर लगाइदिनु!
उस्को एउटा रहर!
कठै!लिडेँ गोरु!
(फोटो सांकेतिक राखियो)
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
८/६/२२