उरिमको रुख

 उरिमको रुख

**********

हजुरबा र बाले रोपेको त्यो

पँधेरोको छेउको बुढो उरिमको रुख 

घर भएको छ निकै प्राणीको।

माथि रुखको ढ्वाङमा मौरी छन 

अलिक तल अरिङ्गालको चाको

तल विभिन्न रंगको पुतलीहरू नाच्ने गर्छन

बीचमा रुपी र ढुकुरको गुँड

अलिक तल बारुलाको चाको

एउटा डालीमा फिस्टो चरीको दुई बच्चा

तलको ढ्वाङमा दुई चुलबुले लोखर्के।

नातिकेटा निकै पढेर आएको छु भन्छ

आधुनिक पद्धतिले बाली लाउने रे।

सेप भयो भन्छ रुखले,ढाल्ने रे उरिमको वोट!

दाउरा बेचेर मोबाइल किन्छु भन्छ।

मोबाइल वाट नै आह्वान गर्ने रे

"हरियो बन धरतीको धन"

उस्को नारा हुन्छ रे!

निकै दिन भयो उरिमको रुखले

केही नखाएको!

मृत्युकला सिक्दैछ ऊ!

*******

(विश्व परिवेश दिवसको अवसरमा हार्दिक शुभकामना )


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

५/६/२२