रहर( ८)

 


रहर( ८)

कतिहो कति अनन्त रहर

साल्दाइले बहर दाएको हेर्ने रहर

माल्दाइले बीउ काढेको हेर्ने रहर

ठुल्दाइले घर छाएको हेर्ने रहर

काल्दाइले सुसेलि मारेको हेर्ने रहर

अन्तरेले लाप्पा खेलेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


आमाले मही पारेको हेर्ने रहर

दिदीले जुम्रा हेरेको हेर्ने रहर

ढाड़ी चम्कनो,लिखा र फुस्रे लिखा हेर्ने रहर

गोले भेनाले जाँड बनाएको हेर्ने रहर

पाख्रिङ बा मातेर प्रेम गीत गाएर हिंडेको हेर्ने रहर

भत्खोरोलाई पिडालुको माला लाएको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


गोरुले बाली खाएको हेर्ने रहर

बाली खाए वाबद बिर्खेले अर्मल तिरेको हेर्ने रहर

टून्न भएर सुब्बा बा ले फुच्चे केटाहो भनेको हेर्ने रहर

कक्षामा मञ्जरीले आई लव यू भनेको सुन्ने रहर

तिहारमा ठुलो कान्छाले कौडी खेलेको हेर्ने रहर

बराल बा ले च्याखे थापेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


कान्छोले लुतो कनाएको हेर्ने रहर

राम्रो हुनलाई मुखमा तर लगाएको हेर्ने रहर

जीप गाडी चलाएर गोरा साहब सिकारमा आएको हेर्ने रहर

खत्रिनी आमोईले खोसेलाको सुर्ती बेरेको हेर्ने रहर

अल्गुनि आमै ले हुक्का तानेको हेर्ने रहर

जलेश्वर बा ले जालमा माछा पारेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


आमाले धुङ्ग्रीले आगो फुकेको हेर्ने रहर

जाँतोमा कालो दाल र बेसार पिसेको हेर्ने रहर

खाडलमा गोडाले गुन्द्रुक खादेको हेर्ने रहर

बिहेमा खडकुडामा भतेर पकाएको हेर्ने रहर

डल्लिको फर्फराउँदो त्यो कालो केश हेर्ने रहर

पुक्क परेको उनीको गालामा डन्डिफोर हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


डोको बोक्दा मोतीसरी पसिना बगेको हेर्ने रहर

हातको मेहन्दी हेर्ने रहर

कानको लुर्कना हेर्ने रहर

निधारको बिन्दी हेर्ने रहर

बुच्चो नाक पनि हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


पुरूषोत्तम उपाध्याय दाहाल

अमृतसर ३/५/२२





लिडेँ गोरु

 लिडेँ गोरु

*******

लगभग दस वर्ष उमेर भयो उस्को

कति बाली लगायो

कति हलो जोत्यो

दाहिने तिरको जुवामा सधैँ 

अचानक बीमार लागेर 

लिडेँ भयो, पुच्छर गयो।

रमाई रहेका छन झिँगाहरु

उसमा बुई भएर।

ऊ पुच्छर नहल्लाई चौरमा बसेको बेला

गिद्धहरू माथिबाट हेर्छन

कतै मरेको त हैन भनेर!

कान हल्लाउँदा छक्क पर्छन् गिद्ध।


आज घरको नातिनीको दस कक्षाको

परिणाम निस्केको दिन

सारै राम्रो परिणाम!राज्यमा प्रथम!

गाउँ घरमा सबै मिष्ठान्न लिएर आउनेको धुइरो

उनीहरूको घरमा।

छक्क पर्छ कथुरे लिडेँ गोरु  

के भएको आज यस्तो भनेर!

उनीहरूको पोको तिर नजर लाउँछ

उस्ले खाने कुरा केही देख्दैन!

काम नलाग्ने बुढो भएको छ ऊ

मायाँ गर्ने वृद्धहरू सबै स्वर्गवास भए।

एकदिन नातिनीले आमालाई

"म इन्जिनियर भएर यस्लाई

कृतिम पुच्छर लगाइदिन्छु आमा"

भनेको सुनेको थियो कथुरे ले।

नातिनी  कहिले अभियन्ता  हुनु र

उसलाई एउटा कृतिम पुच्छर लगाइदिनु!

उस्को एउटा रहर!

कठै!लिडेँ गोरु!

(फोटो सांकेतिक राखियो)

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

८/६/२२

उरिमको रुख

 उरिमको रुख

**********

हजुरबा र बाले रोपेको त्यो

पँधेरोको छेउको बुढो उरिमको रुख 

घर भएको छ निकै प्राणीको।

माथि रुखको ढ्वाङमा मौरी छन 

अलिक तल अरिङ्गालको चाको

तल विभिन्न रंगको पुतलीहरू नाच्ने गर्छन

बीचमा रुपी र ढुकुरको गुँड

अलिक तल बारुलाको चाको

एउटा डालीमा फिस्टो चरीको दुई बच्चा

तलको ढ्वाङमा दुई चुलबुले लोखर्के।

नातिकेटा निकै पढेर आएको छु भन्छ

आधुनिक पद्धतिले बाली लाउने रे।

सेप भयो भन्छ रुखले,ढाल्ने रे उरिमको वोट!

दाउरा बेचेर मोबाइल किन्छु भन्छ।

मोबाइल वाट नै आह्वान गर्ने रे

"हरियो बन धरतीको धन"

उस्को नारा हुन्छ रे!

निकै दिन भयो उरिमको रुखले

केही नखाएको!

मृत्युकला सिक्दैछ ऊ!

*******

(विश्व परिवेश दिवसको अवसरमा हार्दिक शुभकामना )


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

५/६/२२

 पुरानो दिनको यादले सबैलाई सताउँछ

यसैले सबै कथाहरू जीवन्त बताउँछ

जीवनमा भेटघाट ले मायाँ सबैलाई जीवन्त बनाउँछ अन्तरे !

यसैले त निरन्तर सुनमा सुगन्ध बढाउँछ!


अन्तरे दाहाल

वेरका,अमृतसर

31/05/2022

रहर ( ७)

 रहर ( ७)

****

कतिहो कति अनन्त रहर

जंगलमा गएर बिमिरो टिप्ने रहर

बिमिरो साँधेर खाने रहर

खागोको मह काडने रहर

बडेरोको टुसा ल्याउने रहर

निगुरो टिप्ने रहर

कतिहो कति अनन्त रहर।


सिमलको रुखमा बसेको बरटुकुला हेर्ने रहर

सिनो खान आउने राजा गिद्ध हेर्ने रहर

फिस्टो चरीको त्यो राम्ररी बुनेको गुँड हेर्ने रहर

तामे ढुकर र सिमकुखुरा पनि हेर्ने रहर

तामूलको रुखमा तारे चराको गुँड हेर्ने रहर

कतिहो कति अनन्त रहर।


बनढ़ाडेले तमाङबाको कुखुरा लगेको हेर्ने रहर

गुलेलीले उस्लाई मटेंग्रा हानेको हेर्ने रहर

सुगाको हुल रात्रि बासझाँगमा बास बसेको हेर्ने रहर

साइँला दाईले हलसारो भैंसी दुहेको हेर्ने रहर

बुबाले बाँसको कलमले चिना लेखेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


चखेवा जोडी रमाएको हेर्ने रहर

जोडी ढुकुरले प्रेम आलाप गरेको हेर्ने रहर

बकुल्लो को हुल बेलुकि घर फर्केको हेर्ने रहर

घोडाले जोर लात्ती हानेको हेर्ने रहर

जन्तरे बा दुवै श्रीमतीसँग सँगै बसेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


खोलामा बल्छी मार्ने रहर

खत्री दाजुले ढिकी कुटेको हेर्ने रहर

आमाले घान लगाएको हेर्ने रहर

बिहेमा भुइँमा बसेर मासुभात खाने रहर

राति आकाशमा धुब्रतारा हेर्ने रहर

डल्लीको गाजलु आँखा हेर्ने रहर

कतिहो कति अनन्त रहर।

********

बरटुकुला =(हाडफोरा )

पुरूषोत्तम उपाध्याय दाहाल

पटना एयरपोर्ट, पटना, बिहार

३१/५/२२

रहर (६

 रहर (६)

*****

दुःखका ती दिनहरूमा

अनन्त थिए रहरै रहर

फूलतेल र पाउडर किन्ने रहर

लाली र अत्तर लगाउने रहर

चुरा र लुर्कना ल्याउने रहर

कतिहो कति अनन्त रहर।


आमाको ,नानीहरू हुर्काउने रहर

बाबुको ,सबैलाई भलो मान्छे बनाउने रहर

तर हामीलाई भन्न नसक्ने उनीहरूको रहर

सायद अधुरो नै रह्यो होला रहरै रहर!

कठै! कति बेग्लै बेग्लै थियो

हाम्रो र

उनीहरूको रहर!

कतिहो कति अनन्त रहर।


निस्तेज छ अहिले हाम्रो प्रेमील रहर

बस,प्रभू पुकार गर्ने मात्रै रहर

समय समय को अलग अलग रहर

बालक

जौवन 

बृद्धको

तमाम फरक फरक रहर

कतिहो कति अनन्त रहर।

तमाम अधुरो हाम्रो रहर!


पुरूषोत्तम उपाध्याय दाहाल

रामोजी फिल्म सिटी 

हैदराबाद 

२४/५/२२

रहर (५

 रहर (५)

****

कति हो कति रहर

सानो बालक हुने रहर

आमा बुबु खाने रहर

आमाको काखमा सुत्ने रहर

कोक्रोमा हल्लिने रहर

लै लै ला सुन्ने रहर।

रहरै रहर अनन्त रहर।


प्रेम गर्ने रहर

राम्रो प्रेमी पाउने रहर

ह्वाटअप र एस.एम. एस गर्ने रहर

ससुराली जाने रहर

सालीसँग घुम्ने रहर

नानी खेलाउने रहर

नानीहरूले सधैँ राम्रो नम्बर पाउने रहर

रहरै रहर अनन्त रहर।


अनन्त सम्पति कमाउने रहर

हवाई जहाजमा उड्ने रहर

फोटो मारेर देखाउने रहर

कालो चस्मा लगाएर दुवै फोटो मार्ने रहर

"देखेउ कति राम्रो बुढा भेटेउ" भन्ने रहर

स्वर्गमा बनेको जोडी भन्ने रहर

रहरै रहर अनन्त रहर।


कहिलेइ बुढो/ बुढी नहुने रहर

ब्युटी पार्लर जाने रहर

चिटिक्क श्रृंगाररिने  रहर

भोटे कुकुर पाल्ने रहर

मेरो कुकुर यस्तो उस्तो भन्ने रहर

सधैँ प्रेमील भएर बस्ने रहर

रहरै रहर अनन्त रहर।


सायद उनीहरूसँग नमिल्ला मेरो रहर!

मन भित्र राख्ने रहर

मन मिल्ने काव्यकारलाई मुटुमा राख्ने रहर

सँधै कथा कविता सुन्ने रहर

त्यसैमा रमाउने रहर

पढेर सुनेर मन भुलाउने रहर

साहित्य चर्चा गर्ने रहर

मञ्चमा तल बसेर खुब सुन्ने रहर

"जय साहित्य "भन्ने रहर

"जयतु भाषा जननी" भन्ने रहर

रहरै रहर अनन्त रहर।

रहरै रहर अनन्त रहर।


पुरुषोत्तम उपाध्याय दाहाल

लोकमान्य तिलक रेल स्टेशन

मुम्बई :२१/५/२२

रहर (४

 रहर (४)

******

बैंशमा म ब्रह्मपुत्रमा

डुबेको कथा

भन्ने रहर मेरो बुढीलाई

तर 

सुन्न मान्दिनन् उनी

बितेको दुःखद कथा

आज नौका विहार गर्दा

सतायो पुरानो यादहरुले

"आयुको छोरालाई वायुके खाँदैन"

भन्नु हुन्थ्यो हजुर बा।

हालै आगो, पानी,हावा बतासले 

केही बिगार नगर्ने

गोले बा झाँक्रीले दिनुभएको

बोझोको बुटी बाँधेको छु

रहर त्यो कथा भन्ने

अधुरो नै छ।


पुरूषोत्तम उपाध्याय दाहाल

सतपुरा,गुजरात

२०/५/३३

रहर (३

 रहर (३) 

******

हाम्रो प्रेमको निरन्तरतामा

कति हो कति बाधाहरु थिए

भेटघाट गर्न नै गार्हो थियो

समय त्यस्तै थियो।

तिमीले लेखेको चिठी पो याद आयो:

"आउनु ल मन्दिरमा राति

एकादशीको किर्तनमा

रुमाल साटासाट गरौंला

मैले आफैँ फुलबुट्टे रुमाल बनाएकी छु

प्रसाद दिने निहुँले हजुरले भने जस्तै

हजुरको रुमाल पनि दिनु

म पनि दिन्छु"!

लौ आज फेरि 

त्रम्बकेस्वर मा

रुमाल साटासाट गरौ

पुरानो यादमा

आखिर मन त साटि सकेका छौँ

हाम्रो रहर,कति मिलेको!

"Better together"


पुरूषोत्तम उपाध्याय दाहाल

त्रम्बकस्वर ,महाराष्ट्र

१९/५/२२

रहर (२

 रहर (२)

तिमीले भनेकी थियौ

केही लेखेकी छु भनेर

औंसीको अँधेरी रातमा

सुनाउने रहर

याद आयो आज।

हिज्जे,शब्द,व्याकरण

केही जान्दिनँ भनेको याद आयो

प्रेमले व्याकरण मान्दैन प्रिये!

तिमीले जानेको शब्दहरुको

माला बनाएर राख

म आउने छु औंसीको अँधेरी रातमा

तिम्रो तगारो छेउमा

एक अर्कालाई नदेखे पनि

सुन्ने छु, तिम्रो पहिलो

प्रेमील कविता।

गुञ्चिययोस प्रेमील कविताको झंकार

औंसीको अँधेरी रातमा

रमाउन जुनकिरीहरु

कस्तो मिलेको तिम्रो र मेरो

रहर!


पुरूषोत्तम उपाध्याय दाहाल

घृष्णेस्वर ज्योतिर्लिङ्ग औरङ्गावाद

महाराष्ट्र १९/५/२२

रहर

 रहर

***

मेरो एउटा रहर छ

मात्र एउटा रहर

एकमात्र एउटा

जुनेलीमा तिमी आउनु

या

म आउँछु तिमीले आग्रह गरेमा

पवित्र मन लिएर आउँछु

तिमी जस्तै।

पूर्णिमाको पूर्ण जूनलाई

साक्षी राखेर रहर पूर्ण गर्ने छु

सुस्तरी सुस्तरी गाएर

बस एउटा

कविता सुनाउने रहर

अनन्त जीवनको कविता

मेरो पहिलो सिर्जना कथा कविता ।


पुरूषोत्तम उपाध्याय दाहाल

ज्योतिर्लिङ्ग ,भीमाशंकर,महाराष्ट्र

१८/५/२२


(कविता राख्ने बित्तिकै मैले थाहै नपाई मेरो प्यारो भतिजाले असमिया मा अनुवाद गरीदिएकोको धेरै धेरै मायाँ साथै आशीर्वाद।)


হেঁপাহ

***

মোৰ এটাই হেঁপাহ,

মাত্ৰ এটা,

একমাত্ৰ,

জোনাকী নিশা তুমি আহিবা

নাইবা

মই যাম তুমি বিচৰাৰ দৰে

এক পবিত্ৰ মন লৈ

তোমাৰ দৰে।

পূৰ্ণিমাৰ পূৰ্ণ জোনক সাক্ষী কৰি

পূৰণ কৰিম

ধীৰে ধীৰে

এটি কবিতা শুনোৱাৰ হেঁপাহ

মোৰ প্ৰথম সৃষ্টি

এটি কথা কবিতা।


কৱিতা অনুবাদ:শ্ৰী মিণ্টো উপাধ্যায়

हामी गोठाला

 हामी गोठाला

**********

हाम्रो कुनै डिग्री छैन

मञ्च माथि बस्छन सबै डिग्रिधारी

हामी सुनिरहछौँ तलावाट भुइँमा बसेर 

अगाडि र पछाडि डिग्री भएकाले लेखेको कथा

मुस्काइ रहछौँ हामी मानौं एक पागल स्रोता

बेला बेला हाँछौ,मुस्कुराउँछौँ

सम्झिन्छु गोठालाले भोगेका ती दिनहरू

उनीहरू नदीमा डुबेको गोठालाको

कविता भन्छन मञ्चवाट,ताली बज्छ

म आँफै दुईपटक ब्रह्मपुत्रमा डुबेको गोठालो

जान्दिन लेख्न कथा - कविता

मेरै कथा म सुनि रहन्छु भुइँमा बसेर।


कति चिसो हुन्छ त्यो ब्रह्मपुत्रको पानी!

मान्छे जाडोले पो मर्छ लामो समय डुबे

उनीहरू पानीमा भएको तत्व भन्छन

हामी भोगेको तत्व जान्दछौँ

तर हामी तल उनीहरू माथी हुन्छन्।


हामी गोठाला भन्न सक्छौ- 

कहिले गाई वियाउँछ?

कहिले मौरीको मह हुन्छ?

पशुलाई चरचरे बीमार लाग्दा के गर्नु पर्छ?

पखाला लाग्दा के खुवाउनु पर्छ?

विगौते दुध किन ठेका दिनु हुदनै?

तरवाट धिऊ,दुधवाट कुराउनी ताजा कसरी बन्छ

बाछी,कोरली, लइनो,साँड र बकेर्नो पशुको कथा

अनेकौ छन् हामीमा

भर्खर जन्मेको बाछो ,गाईले नलिँदा के गर्नु पर्छ?

खोर्यात लागे के गर्नु पर्छ?

गाई हेरेर दूधालु हो कि हैन भनि दिने नै हामी

कति दाँते बहर जोत्न राम्रो, सुनाउने नै हामी

अर्ना भैंसी तह लाउने नै हामी

हाम्रो न अघि न पछि केही डिग्री नै छ

सुनि रहन्छौ तलबाट

भन्छन उनीहरू माथिबाट।

दुःख छैन हामीलाई 

तर कतिपय कथाले वास्तव भन्दैन

पढेर सुनेर मात्रै राम्रो

हामी भोगेकाले भन्न कहिले पाइएला?

फेरि मञ्चमा चडदा राम्रो लुगा लाउनु पर्ला?

भयो!कथा सुन्ने र फोस्रो आनन्द लिने अब

आफनै कथा, मञ्चवाट

भन्छन विज्ञजन

गोठाला हरूको!

हामी गोठाला!

कठै बरा!


पुरूषोत्तम उपाध्याय दाहाल

मिरि छपढी, धौला, तिनसुकिया

६/५/२२

कस्तो सपना

 कस्तो सपना!

**********

झरि र वादल साथै चट्याङ पनि

निदाएछु भुसुक्कै

देखेछु सपना:

माथि मञ्चमा सबै कविहरू विराजमान

नारी र पुरुष स्रष्टा

तल

देश चलाउने सबै राजनेता,

छर्लङ्ग पारे सबै देशको चित्र कवितामा

बिलकुल बजेन ताली तलावाट

गुन्ज्यो ताली माथिबाट

दुई - चार नेताले ताली बजाए हुलमा

अरुले आँखा तर्काए उनीहरूलाई।

गरिबीको उन्मूलन गर्ने ठुलो परिकल्पना

लोकार्पण गर्न छ भन्दै

हिँडे सबै नेताहरु आ - आफ्नो कारमा

यता कविहरु 

काव्यसन्ध्या सकेर 

पैदल नै लागे बस स्टेण्ड तिर

झसङ्ग विउँझिए

आज आकाश उज्यालो छ

सायद शुभ सङ्केत होला

देश विकासको।

सुन्दैछु मेरो साथी बिर्खे

बिहानै चाम्रेभात र गुन्द्रुकको अचार खाएर

आईतबारे पशु बजारमा

गएको छ रे चारदाँते

हलगोरु किन्न।

*****

पुरूषोत्तम उपाध्याय दाहाल

१५/५/२२