सुन्न तँ बिनु!
रहेनन् कोहि मनको कुरा
भन्ने र सुन्ने
नानीहरू मोबाइलमा व्यस्त
श्रीमान कर्म र लेपटपमा
मलाई चै फोटो नआउने त्यो स्यानो
मोबाइल दिएका छन्
को सँग कुरा गर्नु मनको?
दुईचार दिन बस्दै आइज न बिनु!
सुन्न, सानामा एकदिन
तैँले र मैले
केटाको लुगा लगाएर
आमालाई तर्साएको याद छ?
दाउरा लिन जाँदा जङ्गलमा
बिमिरो टिपेर खाएको याद छ?
खोलामा पौडी खेल्दा
तामाङ बा ले लौरो लिएर
खेदेको याद छ?
सारै सताउँछ पुराना यादहरूले
दुईचार दिन बस्दै आइज न बिनु!
दाजु - भाइ भएनन् भनेर
हामी रोएको याद छ?
कसरि बित्यो दिनहरू यति चाँडै
वर पिपल को छाँयामा बसेर
कत्ति कुरा गर्थिऊँ
यौबन् र प्रेमको
जीवन र जीवन साथीको!
दुईचार दिन बस्दै आइज न बिनु!
सुन्न तँ बिनु!छोरीले अस्ति खुसुकै भनि
बाबु सुटुक्कै कोहि केटी सँग
व्हाटआपमा चेट गर्नु हुन्छ रे!
छक्क पर्नु, हो या होइन?
सुल्किन बेर छैन बुढा मान्छे!
लाग्यो बाबु छोरीको निकै
म केहि बोलिन, बोलि सक्नु छैन,
कसलाई भन्नु मनको कुरा
दुईचार दिन बस्दै आइज न बिनु!
सुन्न,म लेपटप, मोबाइल
राम्ररी चलाउन नै जान्दिन
फेरि लक गरेको हुन्छ
हाम्रै जमाना नै ठिक थियो
चिठी पठायो, रेडियो सुन्यौ
एकादशी र औंसीमा
मन्दीरमा किर्तन गर्यो
हाँस्यो ,खेल्यो,खुब रमायो,
दुईचार दिन बस्दै आइज न बिनु!
बाबु आमाको यादले सारै सताउँछ
फोटो हेर्न बाहेक केहि रहेन अब
गाउँ घर, गोठ गोठाले,दुध कुराउनी
सबै सपना हुन गए
केटाकेटीहरू जन्मथलो जाउँ भन्दा
टावर नआउने ठाउँ
को जान्छ त्यहाँ भन्छन
सताउँछ यादले सारै
दुईचार दिन बस्दै आइज न बिनु!
पुरुषोत्तम उपाध्याय
गुवाहाटी, आसाम, भारत
5/9/21