रहर( ८)

 


रहर( ८)

कतिहो कति अनन्त रहर

साल्दाइले बहर दाएको हेर्ने रहर

माल्दाइले बीउ काढेको हेर्ने रहर

ठुल्दाइले घर छाएको हेर्ने रहर

काल्दाइले सुसेलि मारेको हेर्ने रहर

अन्तरेले लाप्पा खेलेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


आमाले मही पारेको हेर्ने रहर

दिदीले जुम्रा हेरेको हेर्ने रहर

ढाड़ी चम्कनो,लिखा र फुस्रे लिखा हेर्ने रहर

गोले भेनाले जाँड बनाएको हेर्ने रहर

पाख्रिङ बा मातेर प्रेम गीत गाएर हिंडेको हेर्ने रहर

भत्खोरोलाई पिडालुको माला लाएको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


गोरुले बाली खाएको हेर्ने रहर

बाली खाए वाबद बिर्खेले अर्मल तिरेको हेर्ने रहर

टून्न भएर सुब्बा बा ले फुच्चे केटाहो भनेको हेर्ने रहर

कक्षामा मञ्जरीले आई लव यू भनेको सुन्ने रहर

तिहारमा ठुलो कान्छाले कौडी खेलेको हेर्ने रहर

बराल बा ले च्याखे थापेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


कान्छोले लुतो कनाएको हेर्ने रहर

राम्रो हुनलाई मुखमा तर लगाएको हेर्ने रहर

जीप गाडी चलाएर गोरा साहब सिकारमा आएको हेर्ने रहर

खत्रिनी आमोईले खोसेलाको सुर्ती बेरेको हेर्ने रहर

अल्गुनि आमै ले हुक्का तानेको हेर्ने रहर

जलेश्वर बा ले जालमा माछा पारेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


आमाले धुङ्ग्रीले आगो फुकेको हेर्ने रहर

जाँतोमा कालो दाल र बेसार पिसेको हेर्ने रहर

खाडलमा गोडाले गुन्द्रुक खादेको हेर्ने रहर

बिहेमा खडकुडामा भतेर पकाएको हेर्ने रहर

डल्लिको फर्फराउँदो त्यो कालो केश हेर्ने रहर

पुक्क परेको उनीको गालामा डन्डिफोर हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


डोको बोक्दा मोतीसरी पसिना बगेको हेर्ने रहर

हातको मेहन्दी हेर्ने रहर

कानको लुर्कना हेर्ने रहर

निधारको बिन्दी हेर्ने रहर

बुच्चो नाक पनि हेर्ने रहर

कतिहो कति अनन्त रहर।

कतिहो कति अनन्त रहर।


पुरूषोत्तम उपाध्याय दाहाल

अमृतसर ३/५/२२





लिडेँ गोरु

 लिडेँ गोरु

*******

लगभग दस वर्ष उमेर भयो उस्को

कति बाली लगायो

कति हलो जोत्यो

दाहिने तिरको जुवामा सधैँ 

अचानक बीमार लागेर 

लिडेँ भयो, पुच्छर गयो।

रमाई रहेका छन झिँगाहरु

उसमा बुई भएर।

ऊ पुच्छर नहल्लाई चौरमा बसेको बेला

गिद्धहरू माथिबाट हेर्छन

कतै मरेको त हैन भनेर!

कान हल्लाउँदा छक्क पर्छन् गिद्ध।


आज घरको नातिनीको दस कक्षाको

परिणाम निस्केको दिन

सारै राम्रो परिणाम!राज्यमा प्रथम!

गाउँ घरमा सबै मिष्ठान्न लिएर आउनेको धुइरो

उनीहरूको घरमा।

छक्क पर्छ कथुरे लिडेँ गोरु  

के भएको आज यस्तो भनेर!

उनीहरूको पोको तिर नजर लाउँछ

उस्ले खाने कुरा केही देख्दैन!

काम नलाग्ने बुढो भएको छ ऊ

मायाँ गर्ने वृद्धहरू सबै स्वर्गवास भए।

एकदिन नातिनीले आमालाई

"म इन्जिनियर भएर यस्लाई

कृतिम पुच्छर लगाइदिन्छु आमा"

भनेको सुनेको थियो कथुरे ले।

नातिनी  कहिले अभियन्ता  हुनु र

उसलाई एउटा कृतिम पुच्छर लगाइदिनु!

उस्को एउटा रहर!

कठै!लिडेँ गोरु!

(फोटो सांकेतिक राखियो)

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

८/६/२२

उरिमको रुख

 उरिमको रुख

**********

हजुरबा र बाले रोपेको त्यो

पँधेरोको छेउको बुढो उरिमको रुख 

घर भएको छ निकै प्राणीको।

माथि रुखको ढ्वाङमा मौरी छन 

अलिक तल अरिङ्गालको चाको

तल विभिन्न रंगको पुतलीहरू नाच्ने गर्छन

बीचमा रुपी र ढुकुरको गुँड

अलिक तल बारुलाको चाको

एउटा डालीमा फिस्टो चरीको दुई बच्चा

तलको ढ्वाङमा दुई चुलबुले लोखर्के।

नातिकेटा निकै पढेर आएको छु भन्छ

आधुनिक पद्धतिले बाली लाउने रे।

सेप भयो भन्छ रुखले,ढाल्ने रे उरिमको वोट!

दाउरा बेचेर मोबाइल किन्छु भन्छ।

मोबाइल वाट नै आह्वान गर्ने रे

"हरियो बन धरतीको धन"

उस्को नारा हुन्छ रे!

निकै दिन भयो उरिमको रुखले

केही नखाएको!

मृत्युकला सिक्दैछ ऊ!

*******

(विश्व परिवेश दिवसको अवसरमा हार्दिक शुभकामना )


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

५/६/२२

 पुरानो दिनको यादले सबैलाई सताउँछ

यसैले सबै कथाहरू जीवन्त बताउँछ

जीवनमा भेटघाट ले मायाँ सबैलाई जीवन्त बनाउँछ अन्तरे !

यसैले त निरन्तर सुनमा सुगन्ध बढाउँछ!


अन्तरे दाहाल

वेरका,अमृतसर

31/05/2022

रहर ( ७)

 रहर ( ७)

****

कतिहो कति अनन्त रहर

जंगलमा गएर बिमिरो टिप्ने रहर

बिमिरो साँधेर खाने रहर

खागोको मह काडने रहर

बडेरोको टुसा ल्याउने रहर

निगुरो टिप्ने रहर

कतिहो कति अनन्त रहर।


सिमलको रुखमा बसेको बरटुकुला हेर्ने रहर

सिनो खान आउने राजा गिद्ध हेर्ने रहर

फिस्टो चरीको त्यो राम्ररी बुनेको गुँड हेर्ने रहर

तामे ढुकर र सिमकुखुरा पनि हेर्ने रहर

तामूलको रुखमा तारे चराको गुँड हेर्ने रहर

कतिहो कति अनन्त रहर।


बनढ़ाडेले तमाङबाको कुखुरा लगेको हेर्ने रहर

गुलेलीले उस्लाई मटेंग्रा हानेको हेर्ने रहर

सुगाको हुल रात्रि बासझाँगमा बास बसेको हेर्ने रहर

साइँला दाईले हलसारो भैंसी दुहेको हेर्ने रहर

बुबाले बाँसको कलमले चिना लेखेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


चखेवा जोडी रमाएको हेर्ने रहर

जोडी ढुकुरले प्रेम आलाप गरेको हेर्ने रहर

बकुल्लो को हुल बेलुकि घर फर्केको हेर्ने रहर

घोडाले जोर लात्ती हानेको हेर्ने रहर

जन्तरे बा दुवै श्रीमतीसँग सँगै बसेको हेर्ने रहर

कतिहो कति अनन्त रहर।


खोलामा बल्छी मार्ने रहर

खत्री दाजुले ढिकी कुटेको हेर्ने रहर

आमाले घान लगाएको हेर्ने रहर

बिहेमा भुइँमा बसेर मासुभात खाने रहर

राति आकाशमा धुब्रतारा हेर्ने रहर

डल्लीको गाजलु आँखा हेर्ने रहर

कतिहो कति अनन्त रहर।

********

बरटुकुला =(हाडफोरा )

पुरूषोत्तम उपाध्याय दाहाल

पटना एयरपोर्ट, पटना, बिहार

३१/५/२२