गोठको खत्रिनी आमैलाई पीएचडी डिग्री

 गोठको खत्रिनी आमैलाई पीएचडी डिग्री 

     *********************

खत्रीनी आमै:उमेर ८६ !भैँसी गोठमा जन्मिएर गोठैमा अझसम्म बसिरहनुभएकोअनुभव!भैँसी ब्याउने बित्तिकै पाडा आमासँग १५ दिन जङ्गलमै बस्छन्।बीच बीचमा गोठमा आउँछन्,निमक चाट्न।त्यसपछि पाडालाई १५ दिनपछि समात्नुपर्छ।पाडा समात्दा भैँसी झम्टिन्छन्।लौरो,दाम्लो लिएर गोठालाहरूले पाडा समातेर टाट्नमा बाँध्नुपर्छ।अत्यन्त दु:साहासिक काम।घाँटीमा बाँधेको दाम्लोले पाडालाई घाउ पनि हुनसक्छ।अल्झिएर मर्न पनि सक्छ।माउ भैसीले अलिकदिन चित्कार गर्छ।त्यसपछि बिस्तारै बिस्तारै टाट्नोमा बाँधेर राख्दा आफन्त हुन्छन्।भैंसी दुहुन सुरु हुन्छ।गोठाला माजन सबै रमाउँछन्।डांग्रेको पूजा पनि हुन्छ।


पाडा टाट्नमा रहन्छन्।भैँसी चर्न जङ्गल जान्छन्।जङ्गलमा बाघ पनि लाग्छन्।बिहान बेलुकी माउ भैँसी गोठ आउने गर्छन्।केही कारण माउ भैँसी गोठ आएनन् भने कतै अभर पऱ्योकि भनेर गोठाला खोज्न जान्छन्।कहिलेकाहीँ माउभैँसी दुई तीन दिनमा फर्केर आउँदा भैँसीको फाँँचो दुधले रन्किएको हुन्छ।कति दूध दुहुने कति पाडालाई दिने।यो सबैको निर्णय गर्ने अनुभव छ गोठकी खत्रीनी आमैको।चुर्ना परेको हुनाले पाडालाई तुथो खुवाउनुपर्छ।तुथोको मात्रा कति हुनुपर्छ, तोरीको गेडा जति,या मकैको गेडा जति,खत्रिनी आमैलाई नसोधी निर्णय लिन सक्दैनन् गोठालाहरू।पाडाको शरीर गठन हेरेर तुथो दिनुपर्छ।मात्रा तलमाथि भए पाडालाई असर हुनसक्छ।पाडाको मृत्यु पनि हुनसक्छ।


यस्तो अगाध अदम्य अनुभव भएकी खत्रिनी आमैलाई गोठालो विश्वविद्यालयले पीएचडी डिग्री दिन गइरहेको छ रे।न कुनै थेसिस न कुनै गाइड।एक सिङ्गो अनुभव लगभग ८० वर्षको कार्य हेरेरनै त्यो डिग्री दिने रे। त्यसपछि विदेशबाट आएका पशु विज्ञानीले उनीलाई लिएर आफ्नो देशमा केही शोधकार्य गर्न लाने रे।आमैले "म यो उमेरमा कतै जान्न"भनेर भनेको हल्ला चलेको छ।त्यो विदेशको "बाघे टापु" विश्वविद्यालयका रे।


वरिष्ठ प्रोफेसर ड.कर्णधार सापकोटा पनि अनुष्ठानमा सामेल हुने हल्ला चलेको छ। खत्रीनी आमैले हलसारो भैँसी कसरी दुहुने, थुनमा थुनेलो हुँदा के उपाय गर्ने,अर्ना भैँसीले आक्रमण गर्न आउँदा डन्ठाले कुन ठाउँमा प्रहार गर्दा ठाउँको ठाउँ भैंसी लड्छ त्यो विद्या पनि हासिल गरेकी छिन् ।खोऱ्यात लाग्दा र दुध लुकाउने भैँसीलाई के उपाय गर्दा पग्रिन्छ त्यो विद्यामा पनि कसैले सक्दैनन् उनीलाई। कुनैकुनै गाई भैँसीले ब्याउने बित्तिकै बाछो नलिँदा के गर्नुपर्छ त्यसको तन्त्र विद्या साथै प्राकृतिक औषधि जान्दैनन् अरुले।थुरु खत्रिनी आमैकहाँ आउँछन्।अम्रो नझर्दा कुन रुखको पात कति मात्रामा दिँदा एक घण्टाको भित्रमा झर्ने ग्यारेन्टी पनि दिन्छिन् उनी।"खत्रिनी आमै आफैं एक सिङ्गो विश्वविद्यालय हुन" भनेर जानु भएछ जेठा तामाङ दाईका मित प्रख्यात कथावाचक घनश्याम काफ्ले गुरुले।


कोल छपडी, भीम छपडी, सुर्के छपडी, माथानी, सिंहासन टापु, बोगे टापु, देबु टापु सबै छपडीबाट गोठालाहरु भेला हुनेछन्।यो अनुभवको डिग्रीलाई समर्थन गर्ने बागे टापु विश्वविद्यालयका वरिष्ठ प्रोफेसर ड.कर्णधार सापकोटा एउटा विदेशी टोलीको साथनै आउने रे।


उनीको भनाइ अनुसार" कुनै थेसिसनै नभए कसरी पीएचडी डिग्री दिन्छन् भन्ने दिनकाल गयो" रे।खोइ थेसिस?खै गाइड? खै तथ्य सम्बन्धित फोटोहरू!यस्ता प्रश्नहरूको जवाफ उनीसँग छ भनेर खबरी कागजमा निस्किएको पनि छ रे।उनीले गर्ने प्रत्येक प्रश्नको जवाफ खत्रिनी आमैले ठाउँको ठाउँ दिन्छिन् रे।उहिलेइ एकपल्ट यो तथ्य प्रमाण डाक्टर सापकोटाले गरेर जानुभएका रे।


ड.कर्णधार सापकोटाले विदेशबाट एकजना अब्बल पशु विज्ञानी पनि लिएर आउने रे।ऊ अङ्ग्रेजी मात्र बोल्न जान्दछन् रे।एउटा गोठालालाई गोठाले गीत पनि गाउन गोठालो अन्तरेले तयार गरेर राखेको छ भन्छन्।लेख्ने गोठालो अन्तरे,गाउने गोठालो कान्छो, नाच्ने भद्रे, थारु जेठो, मुक्तान माइलो, सिपाही ठुले, चस्मे कान्छा, ठुलो भाइ, काली दिदी, मञ्जरी, बस्नेत जेठा र गोठका पुरेत बा।


विदेशबाट आएका पशु विज्ञानीले अङ्ग्रेजी मात्रै बोल्न जान्दछन् भन्दा खत्रिने आमै यसो भन्नुहुन्छ:भाषा एउटा माध्यम न हो।अनुभव एउटा धुरी खाँबो।


भैँसीको माउले र पाडाले खत्रिनी आमैलाई लात्ती हान्दा शरीरको विभिन्न ठाउँमा रहेको दाग देखाउने छिन्।६ पुस्ता एउटै परिवारका भैंसी ,जस्तै रामकली - श्यामकली-कुसुम कली- हरि कली- सीता कली - राधा काली!सबै पुस्ताहरुको कथा एकएक गरेर विस्तार गर्न सक्नुहुन्छ खत्रीनी आमैले सासै नफेरी। यसरी प्रत्येक पुस्ताको अनुसार अलगअलग नाम राख्ने चलन कुनै देशमा छैन भनेर भनेर गए रे सहरमा बस्ने निकै पढेको गोठका वकिल बाबैको नाति खम्बु सिंह दाहालले।


थेसिस लेखेर,रात रात अनिदो बसेर,गुरु चेला परम्परा बहाल राखेर,आर्टिकल छपाएर डिग्री लिँदालिँदै बिहे गर्ने उमेर नै कटिसकेका पशु चिकित्सक ड.कर्णधार सापकोटाले आफूले पाएको पीएचडी डिग्री पनि उहाँलाईनै अर्पण गरिदिन्छु भनेर भनेको सुन्ने खुद गोदार कान्छो।"मेरो पढाइले आमैको अनुभवको एकछेउ पनि पुग्न सक्दैन"भनेर भनेको हल्ला पनि चलेको छ।"डिग्री र अनुभवमा तफाक छ" भनेर भन्नुहुन्छ जन्तरे गुरुबा।जन्तरे गुरुबा उहिले संस्कृत टोलमा पढ्नु भएको व्याकरण शास्त्री।कसैले अङ्ग्रेजी बोल्छन् ,कसैले संस्कृत बोल्छन्,कसैले प्रान्तीय भाषा बोल्छन्।"अंग्रेजी बोल्दैमा कोही ठूलो मान्छे हुँदैन", भनेर थर्काए रे!गोठको ५० वर्षे अविवाहित लाटो माइलाले मुखले नबोले पनि सबै भैँसी गोठको एकएक अनुभव हासिल गरेको छ।उस्लाई पनि "गोठ रत्न"भन्ने डिग्री दिने भनेर भनेको सुन्ने खुद खोलाघरे आमै।


किताबको ज्ञान, पढेको ज्ञान र अनुभवको ज्ञान सबै मिलेर सहकार्य गरे अब्बल हुने थियो भनेर गए रे धामी कान्छा।देश र जनताले दुःख पाएको कारणनै डिग्रीले हो भनेर गए रे ९० वर्ष उमेरका एउटै पनि दाँत नझरेका हरिभक्त बाबैले।अझै ठेट्ना मकै राम्ररी चबाउनु हुन्छ हरिभक्त बा।


लामो टुप्पी पालेका भर्खर बनारसबाट आएका बाहुन नानीले 

पाँच वर्ष गोठमा बसेर अनुभव लिएर मात्रै निर्वाचनमा लड्न सक्ने कानुन बनाउनुपर्छ देशमा भनेर औँलो ठड्याएर गए भन्ने घुइ घुइती हल्ला चलेको छ।"नेताले देश सखाप पारे"भनेर भनिन् रे बृन्दावनवाट आएकी बाल विधवा नरमाया दासीजीले। जाए जन्म भएन भनेर श्रीमानले अर्की बिहे गरेपछि उनी वृन्दावनतिर लागेकी हुन्। हाल गोठैमा आएर एउटा कुटी बनाएर बसेकी छिन्।


अशोकाष्ठ अष्टमीको दिन, मङ्गलबार,अंग्रेजी सन् २७ अक्टोबर २०२४ मा हुने यो अनुष्ठानमा सबै गोठाला महाजन साथै गोठ मन पराउने,अनुभव मन पराउने,तमाम व्यक्तिहरुलाई गोठालो सम्मेलनले सामेल भएर आमैलाई पीएचडी डिग्री प्रदान गर्न पुष्पमाला लिएर आउन हुन अनुरोध गर्दछ।खत्रीनी आमैको जीवन्त कथा सुन्ने र क्यामेरामा कैद गर्ने एउटा टोली पनि आउने हल्ला चलेको छ। टोलीले नगद रकम पनि केही दिन्छन् भनेको सुन्ने बित्तिकै निकै दिन हराएको खत्रीनी आमैको कान्छो नाति पनि आएको छ रे। गुरुबाले झाँको झारेछन्। लवस्तरो,धन्धुकारी पनि भने रे। रम नभई हुँदैन रे उसलाई। "गोठालाहरूको दिन अब राम्रो आउँछ जस्तो जोखाना आयो"भनेर गए रे कम्युनिस्ट पार्टीको नेता मुग्धबोध चापागाईंले।दुईजना कमरेड पनि लिएर आएका थिए रे।

*******

*कृपया महिलाहरूले पनि यसैलाई निमन्त्रण ठानिदिनुहुन गोठाला सम्मेलनले अनुरोध गर्यो।

जय गोठ,जय गोठाला;

गोठालो अन्तरे 

मिरीछपडी