गोठालो भगीरथलाई "गोठ रत्न"पुरस्कार

 गोठालो भगीरथलाई "गोठ रत्न"पुरस्कार

 ********************

अमेरिकाको मोरङ्गे विश्वविद्यालयले भगीरथलाई गोठरत्न पुरस्कार दिने निर्णय गर्यो गऱ्यो।त्यो के पुरस्कार हो,के वस्तु हो,पाए के हुन्छ, भगीरथलाई केही थाहा छैन्। चाँजो मिलाउने हाल दिल्ली बस्ने गोठको उक्कील बाको नाति बिस्ने थपलिया। गोठैमा हुर्किएको।


भगीरथले बाँसुरी बजाएर बेलुकी गाई गोठमा बोलाउन सक्छ।बाँसुरी बज्यो कि सबै गाई वस्तु गोठ फर्किन्छन्।त्यो धुन उसैले रचेको।त्यो धुन बारे मोरङ्गे विश्वविद्यालयले सोध गऱ्यो।छक्क परे उनीहरू।"रिएली भगीरथ दा ग्रेट" भने!


जस्तै पनि दुध लुकाउने गाईलाई गीत गाएर पघार्न सक्छ भगीरथ।त्यो गाउने गीतको बोल स्यानो स्वरमा हुन्छ,अरूले बुझ्न सक्दैनन्।जस्तै - हाम्री गौरी आमा लै लै ला।

    अब दुध देऊ

     नुन चाटी लेऊ

     हरिमाया भागिन्

     मेची पारी लागिन् 

     तिहारमा माला

     के हो तिम्रो चाला।

यसमा गीतको शब्दको भन्दा गाउने तरिकाले नै गाई मुग्ध भएर दुध दिन थाल्छन।अरु कुनै गोठालाले यो गाई पघार्ने किटिप सिक्न सकेनन्।छन्द , लय र वेशभूषाले गाई वस्तुलाई बोलाउने कला जान्ने भगीरथलाई "गोठ रत्न पुरस्कार"दिन अमेरिकाको मोरङ्गे विश्वविद्यालवाट चारवटी पशु विज्ञानीलाई हेर्ने सारै रहर गोठाला र महाजनहरुको।सबै इंग्लिश बोल्ने।हैट!भन्यो गोठालो गोरे कान्छाले।


गोदारनी आमैले सबै गोठाला र महजनहरूलाई नम्र भएर उत्ताउलो नहुन,विदेशी केटीहरुको आँखामा हेरी न रहन,बार बार आँखामा नहेर्न आदि प्रशिक्षण दिँदै हुनुहुन्छ।गोठाला प्राय सबै अविवाहित छन् र प्रेम लहरी गाउन जान्दछन्।एउटा प्रेम लहरी र बाँसुरीको धुन भगीरथलेनै गाउने निर्णय भयो।स्वर उस्को सारै राम्रो।मुसुक्क हाँस्दा आँखा चिम्रो हुन्छ। दाँत मोती जस्ता।सुर्ती खाँदैन।बेला बखत गोठैमा उम्रिएर सुकाएको गाँजा तानेर हाँसेको हाँसै गर्छन मिलेर सबै।


पाख्रिङ झाँक्री बाबैले एउटा धामी पोसाकमा काम्दै फलाकेको दृश्य पनि अनुष्ठानमा छ तर थान नबनाई उनी ढेंग्रो बजाउँदैनन्।धुपौरे थारु कान्छो।एउटा गोठालाले ढेंग्रो साथै काँसको थाल पनि बजाउनु पर्ने।"दिउँसो धामी कामदैनन्, हैट"भनेर गयो ठूलो भाईले।


सबै भन्दा आकर्षण पहलमान देखिने खबतरी साइँलाले एक वर्षको कथुरे बहर काँधमा बोकेर गोठ घुमाउँछ।सानै देखि बोक्ने बानी गरेको हुँनाले आज कथुरे बहर र खबतरी साइँलाको दोस्ती छ।बहरलाई अघिल्लो दिन नदीमा लगेर नुहाउने काम गोठालो कन्ठे,जनके र निरौला बाहुन दाई।यो दृश्यले पक्कै पनि अतिथिहरू रमाउने छन्।


सबै गोठालाहरुलाई आ - आफ्नो माजनहरुले नयाँ लुगा,बुटजुत्ता, कम्बरको पेटी र गोठालाकाे सरीरवाट गोबरको गन्ध नआवोस भनेर राम्रो अत्तर पनि जीउमा छर्ने काम काली दिदीको।काली दिदीले बेरेर तान्ने सुर्तीको तलतल भएको खण्डमा एउटा पोकोमा लङ्ग र इलाईचि बोक्ने सल्लाह दिनुभयो वृन्दावननी आमैले।


मोरङ्गे विश्वविद्यालयले पुरस्कार तैयारीको निम्ति अग्रिम रकम भा.रु एक लाख दिएको र त्यो रकमको ३०,०००/ उक्कील बाको नाति बिस्नेले झ्याप पारेको भन्ने हल्ला चलेको छ।बिस्नेले सबैको अगाडी एउटा कसम खाएर रिसाई दिए सब ठण्डा हुन्छन् भनेर भन्नुभयो उजुरे बाबैले।बिस्नेको भएर बोल्ने ४ जना गोठको माजनहरूलाई भनेर रम चार बोतल दुईदिन अघिनै बिस्नेको माध्यमवाट गोठ पुगेको कुरा गरिन् फयरमान बाबैका कान्छी सिरिमतीले।हक्की छिन् उनी।


यो गोठ रत्न"पुरस्कारमा भ्रष्टचारको बक्रपथ पक्कै चलेको छ भनेर गए श्रीमान भीम बहादुर सुतार कार्की बाबैले।


यो अनुष्ठानमा सबैलाई निम्तो रहेपनि ब्रह्मपुत्र खोला तर्नु परेको हुनाले नदी तर्न डराउने, हाते डुङ्गामा चड्न डराउने व्यक्ति कृपया न आउन हुन अनुरोध गर्दछौँ।अङ्ग्रेजी २ जनवरी २०२५ मा हुने अनुष्ठानमा सबैलाई निम्तो रह्यो।


आउनुहोस,एउटा यस्तो एक विश्वप्रसिद्ध,होनहार गोठाला भगीरथको

गोठ रत्न"पुरस्कार अनुष्ठान सफल बनाएर हाम्रो पुर्खाको गोठ पालन दस्तावेज विश्व दरबारमा लिएर जाउँ।साथै "गोठ"शब्द पनि गोर्खालीले पेटेन्ट र ट्रेडमार्क भनेर सबैलाई ज्ञात गराउँ।

जय गोठ ।जय गोठाला।

**

गोठ उन्नयन समितिको भएर

गोठालो अन्तरे र बाहुन नानी

माइला माज र ढुंगाना माजन

काली दिदी र श्रीप्रसादनी आमै

**

वि:द्र: सुगरको बीमार रहेका महानुभाव हरुलाई बिना चिनीको ढकने र खीरको व्यवस्था पनि छ।कृपया अग्रिम सूचना दिन अनुरोध गरियो।जाडोको मौसम हुनाले ओड्ने कम्बल या चादर पनि पनि लिएर आउन अनुरोध गरियो।

फोटो सौजन्य:कवि श्रीमान भीम धमला।