कविता कहाँ पाउनु सखा!

 कविता कहाँ पाउनु सखा!

*******************

मैले

गरिबीको मार हुँदा नै

कोर्ने शब्दहरू

बेचीसकेको छु सखा!

त्यसैले गुजारा गर्नु पर्यो

त्यो समयमा

रहेनन् अब केही शब्द मसँग 

अनि सखा

कविता कहाँ पाउनु?

महाभारतको युद्ध पढेर

गीता पढेर के गर्नु बन्धु!

महाभारतको युद्ध

सिद्धान्तको युद्ध भएको थियो भन्छन् 

तर मेरो युद्ध त भोक सँगको थियो र छ

धनुष उठाएर कसलाई मार्नु

के

शंखनाद गर्दा भोक मर्ला र?

त्यसैले सखा

कौरव र पाण्डव भुलेर

कृष्ण र श्रीराम भुलेर

निगुरो र बडेरो टिप्न हिँडेको छु

महीसँग भात खान्छु

गोठैमा बस्छु

आकाशका तारा हेर्छु

तिमीलाई सम्झिन्छु मित्र!

रामराज्य फर्किए पुनः

कविता लेख्ने शब्द भेट्छु सायद

अनि

कविता लेख्छु ल!

हाल श्रीराम त सीताको उद्धारमा

लङ्का गएको पो हल्ला चलेको छ प्रियवर!

अनि

कविता कहाँ पाउनु सखा!

*******

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

१/९/२०२३

रक्षा बन्धन

 सूर्य जतिनै तात्तिए पनि सागर सुकाउन सक्दैन

चस्मा जस्तै भए पनि आँखा लुकाउन सक्दैन

दिदी र भाइको त्यो मधुर सन्मन्ध युगौँ युग रहने छ

मायाँ र आशीर्वादको ऋण कसैले चुकाउन सक्दैन।

********

अन्तरे दाहाल

रक्षा बन्धनको मङ्गलमय शुभकामना

जयतु भाषा जननी

 जयतु भाषा जननी

****************

जङ्गलमा दाउरा लिन जाँदा बोलेको त्यो भाषा

हलो जोत्दाको हलगोरुसँग खेलेको त्यो भाषा

कोक्रामा नानी सुताउँदा बोलेको भाषा

धामीले सातो जाँदा सातो बोलाएको भाषा

धान रोपाइँमा रोपारेहरूको प्यारो भाषा

गोठमा बोलेको ठेट गोठाले भाषा 

दाईं गर्दा बोलेको भाषा

बीमारी हुँदाको दुःखमा बोलेको भाषा

सिलोकेको भाषा

भव्य हाम्रो भाषा

अहा! हाम्रो भाषा!

प्यारो हाम्रो भाषा।

(सम्पूर्णमा भाषा मान्यता दिवसको शुभकामना)

********

पुरूषोत्तम उपाध्याय दाहाल 


२०/८/२३

तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

 तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

मैले लेखेको श्रृङ्गारिक पत्रपनि हावामा हुत्तिएर भागेको छ

बस् शब्दहरूको खेल र मेलको एक तरङ्गले हुण्डरी मचाएको छ धरातलमा सखी!

शब्द नबुझ्ने मनुलाई यहाँ अचम्मको कौतूहल जागेको छ।


तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

मैले लेखेको श्रृङ्गारिक पत्रपनि हावामा हुत्तिएर भागेको छ

शब्दको खेल र मेलको तरङ्गले हुण्डरी मचाएको छ सखी!

शब्द नबुझ्ने मनुलाई यहाँ अचम्मको कौतूहल जागेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१/८/३०


(केही सुधार :बैनी गीताश्री शर्मा )

हार्दिक आभार


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१/८/३०२३

मेरो साथी बिर्खे भन्छ:

 मेरो साथी बिर्खे भन्छ:

एक सर्को तान्यो समस्या खतम!!

*************************

बिहे गर भनेर सधैँ गनगन, कचकच,फतफत

न बिहे नै गर्न छ

न छोराछोरी नै पाल्न छ

गोठ बस्यो

एक सर्को तान्यो समस्या खतम।


बैरङ्ग चिठ्ठी जस्तो यो प्रेम भन्छन 

पैसा तिर्यो चिठ्ठी लियो

त्यो पनि डबल खर्च

ढुक्क छ मलाई

एक सर्को तान्यो समस्या खतम।


समस्याको समाधान दिने

अनेकौँ बाबा र वैद्यहरू

परेन मलाई

समस्या भए पो मेरो!

पैसा निकै हुनेको समस्या निकै हुन्छ भन्छन

काम गर्यो,रमायो

न निन्द्राको समस्या

न भोकको समस्या

न डाक्टरकोमा न धामीकोमा 

निरोगी छ काया

त्यही बिहे त गरिन!!

अरु के नै बिगार गरेँ र मैले

मरे गर्दिन बिहे!

बिहे गर्नेले केनै पो फत्ते गरेका छन् र!

एक सर्को तान्यो समस्या खतम।


बिहे गर,ससुराल जा,

अस्पताल कुद

कोक्रो बना 

लै लै ला भन

आफैंमा भुल्नु रे!

उता

सालीको बिहे

सालाको जनै सुपारी

सासु आमैको चौरासी

जेठी सासुको घरमा पूजा

काका ससुराको तीर्थ यात्रा

हैट!समस्याको लामो सूची 

मरे गर्दिन बिहे

ब्रह्मपुत्रको किनार

चिसो हावा

स्वच्छ वातावरण

बाँचि रहे दुधभात

मरे ब्रह्मपुत्रको तीर

एक सर्को तान्यो समस्या खतम।

टन्टा साफ!

गोठालो मान्छे, सिधा कुरा।

जय श्रीकृष्ण,

जय भोले।

*********

(विधिसम्मत चेतावनी:लागु पदार्थ सेवन स्वास्थ्यको निम्ति हानिकारक हो)

***********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

३१/७/२०२३