चिठ्ठी आयो

 चिठ्ठी आयो 

*********

बाबुलाई पैसा मांगेर लेखेको चिठ्ठी

आमाले बर्मा मावला पठाउनु भएको चिठ्ठी

दाजुले भाइलाई राम्ररी पढेस् भनेर लेखेको चिठ्ठी

बुबा आमा दुई मैनाको तीर्थयात्रामा जाँदा

विभिन्न ठाउँ ठाउँ वाट

पठाएको कुशल भएको पोस्ट कार्ड

अहा! दिनहरू गए बितेर!


अदालत वाट आएको पत्र

जागीर भएको सूचना पत्र

धागोले बेरेको दुःखद पत्र

टिकट नभेटेर पठाएको त्यो बेरङ्ग पत्र

नववर्षको शुभकामना कार्ड


हुलाक वाट आएको

फौजी भर्तिको पत्र

डल्लीले पठाएको प्रेम पत्र

हर्केले भेटेको प्रेम पत्र

त्यो रातो ढ्वाङ सारै प्यारो

हराउँदै जाँदैछ पत्र पेटी

मोबाइलमा बन्द भएको छ

प्रेम,सूचना साथै अनन्त कथा।


जन्तरे बा,खन्तरी आमै 

कान्छा गोदार,गोठालो माइला

साइँलो झाँक्री, काईलो माहाजन

सबै मोबाइलमा व्यस्त

डाँक अस्त व्यस्त।।

*****

अन्तरे दाहाल

२७/८/२२

जयतु भाषा जननी

 जयतु भाषा जननी

**************

जङ्गलमा दाउरा  लिन जाँदा बोलेको त्यो भाषा

हलो जोत्दाको हलगोरुसंग बोलेको भाषा

कोक्रोमा नानी सुताउँदा बोलेको भाषा

धामीले जोखना हेर्दा बोलेको भाषा

धान रोपाइँमा बोलेको भाषा 

गोठमा बोलेको ठेट भाषा 

बीमारी हुँदाको भाषा

सीलोकेको भाषा

भव्य हाम्रो भाषा

अहा हाम्रो भाषा

प्यारो भाषा!

विश्वको सबै भाषामा महानतम हाम्रो भाषा।

प्राण नै हाम्रो भाषा

जयतु भाषा जननी!

(सम्पूर्णमा भाषा दिवसको शुभकामना)

****

अन्तरे दाहाल

२०/८/२२

बाँकी सब ठीक छ

 बाँकी सब ठीक छ

*************

हिजो राति मथुरे गोरु हरायो

कान्छी गाई पनि थाक्यो 

लिंडे कुकुर बिरामी भएको छ

बाँकी सब ठीक छ


आमाको  बरखी  आएको छ

बाबुको श्राद्ध पनि आउन लाग्यो

भदौ लागि सक्यो, बारी बाँझै छ

बाँकी सब ठीक छ


बारीमा नाम सब्जी छैन

बाँदरले सबै स्वाहा पारे

किनेर खानु पर्छ सब्जी ,बाँदर रुङ्गाई चलेको छ

बाँकी सब ठीक छ


हिजोआज बिजुली छैन

गर्मीले हाल बेहाल छ

टावर नाआएको निकै दिनपो भएको छ

बाँकी सब ठीक छ


चाडबाड आयो भन्छन नानीहरू

खसी दुईटा बेच्नु परेको छ

लुगाफाटा किनिदिनु परेको छ

बाँकी सब ठीक छ


सालीको  विहेपो आएको छ

धरबुढीको एउटा खुट्टा माइत तिरै छ

श्रृंगारको समान किन्ने मेरो भागमा परेको छ

बाँकी सब ठीक छ


झसङ्ग विउँझिन्छु निद्राबाट कहिले कँही 

मन बिरहले विचलित भएको छ 

परेलीमा निकै सपनाहरूकोको ओइरो  छ 

एउटा आँखाले अर्को आँखालाई सोध्छ

के हालखबर छ सखा ?

झिमिक्क पार्दै अर्को आँखा भन्छ 

म तिमीलाई देख्दिन?

बाँकी सब ठीक छ।


अन्तरे दाहाल

गुवाहाटी, आसाम

१८/८/२२

तिरंगा

 तिरंगा

*****

यसपटक मिरिचपडीमा

स्वाधीनता दिवस मनाउने तैयारी चल्दै छ

सर्वमुठ दसवटा गोठ

कान्छा गोदार, कालिकोटे खंड्का

उजुरे बा,दुलाल कान्छा,दंगालजेठा,

जन्तरेबा, ठुलोभाइ,कोइराला माइला,

उकिल कान्छो र फेताबे साइँलाहरुको गोठ।

सुसेली र सिटी मार्ने प्रतियोगिता पनि छ 

माजन माइला र प्रितम गोठालो

निर्णायक मण्डलीमा।


झण्डाको खिरिलो बाँस ल्याउने

ठुलोभाइको भागमा परेको छ

खाडल खनेर ठाउँ बनाउने गोदार कान्छा।

पुष्प ल्याउने भट्टराई जेठा।

डोरोको जिम्मा खत्रीबाले आफैं लिए।

जन गन मन सबैलाई शुद्ध सिकाउन गौतम जेठा।

"অ মোৰ আপোনাৰ দেশ"

संगीतमा गाउँने रहर सबैको।

गोलाघाट सहरवाट शिक्षित युवक

खत्री बाले आफ्नै नातिलाई बोलाएका छन् 

झण्डा पनि उसैले लिएर आउने कुरा।


विशिष्ठ बक्ता वृद्ध गोले बा

उनी विश्वयुद्धमा ब्रिटिश आर्मीमा

सिपाही थिए

सधैं कम्बरमा खुकुरी भिरेको हुन्छ

तिघ्रामा गोली लागेको दाग देखाउँछन्

विरत्वको कथा भन्छन।


बिहानै गाईबाछा लाएर

सबैलाई चाडैँ तैयारी हुन

फरमान जारी गरेका छन्

गुरु कोइराला बाले।

अतिथि हरुलाई खाने बस्नेको प्रवन्ध

कान्छा गोदारको गोठमा

सबै अतिथिहरूलाइ एक एक हरलिस्कको बोतलमा

गाईको घिऊ दिने दुलाल कान्छा।

झण्डा उत्तोलन गर्न

वनस्पति माजनलाई बोलाएका छन्,

उनी सारै विद्वान 

अगाध वनस्पति सम्बन्धी ज्ञान

एकरात बस्दै आउने रे।

सहर वाट 

माजन माइला,ठुला माजन

देवी गुरु पनि आउने पक्का भयो।

विभिन्न प्रान्तका

आमन्त्रित अतिथि हरूको

फोटो अन्तरेले राखेको देखेर गोठाला हरू 

सारै आनन्दित छन्।

यो स्यानो ब्रह्मपुत्रको टापु "मिरिछपडी"मा

पन्द्रह अगस्तको दिन

त्यो फहरिने झण्डालाई

हेलिकप्टरवाट फोटो लिए

कस्तो देखिन्थ्यो होला?

हाम्रा निमन्तृत अतिथि

हाम्रो गोठ,हाम्रो भाषा,हाम्रो देश

हाम्रो तिरंगा

कति प्यारो!!!

***

अन्तरे दाहाल

मिरिचापडी ,धौला-सदिया 

आसाम 


“অ' মোৰ আপোনাৰ দেশ'': आसामको

जातीय संगीत:State Anthem of Assam.


*आमन्त्रित अतिथिहरूले बसवाट  धौला सदिया सेतुको

वारि रहेको "खेम धाबा"मा उत्रे गोठ लाने ब्वावस्था गरिने 

छ।ब्रह्मपुत्र नदी सानो ढुङ्गामा तर्नु पर्ने हुनाले नदीमा डराउने व्यक्तिले तमाम हौसलाका साथ आउनु पर्ने जानकारी पनि गराइयो

तित्रीको वोट

 तित्रीको वोट

*********

मैले बैँशमा लेखेको थिएँ

तिम्रो नाउँ बालुवाको छेउमा रहेको

त्यो तित्रीको वोटमा।

हामीले भातभात

र 

घरघर खेलेको याद आयो

थुप्रै प्रकारको घर बनाएको याद आउँछ

तर 

दुईतले घर बनाउन सकिएन बालुवामा

त्यसैले होला अहिले पनि म

भुइँ घरमानै छु 

आरामको साथ।


सुन्दैछु तिमी त पक्काको तलेघरमा

एक्लै छौ भनेर

प्रेमीले धोका दिएको समाचार सुनें ।


आउ तिमी,

त्यो तित्रीको वोटमा

पाकोके तित्री लटरम्म छ

उमेर ढल्केर के भो

पुनर भातभात

घरघर खेलौं

त्यही ठाउँमा

"आजादीको अमृत महोत्सव"मनाउँदैछ देश।

****

अन्तरे दाहाल

गुवाहाटी


७/८/२२