तिरंगा

 तिरंगा

*****

यसपटक मिरिचपडीमा

स्वाधीनता दिवस मनाउने तैयारी चल्दै छ

सर्वमुठ दसवटा गोठ

कान्छा गोदार, कालिकोटे खंड्का

उजुरे बा,दुलाल कान्छा,दंगालजेठा,

जन्तरेबा, ठुलोभाइ,कोइराला माइला,

उकिल कान्छो र फेताबे साइँलाहरुको गोठ।

सुसेली र सिटी मार्ने प्रतियोगिता पनि छ 

माजन माइला र प्रितम गोठालो

निर्णायक मण्डलीमा।


झण्डाको खिरिलो बाँस ल्याउने

ठुलोभाइको भागमा परेको छ

खाडल खनेर ठाउँ बनाउने गोदार कान्छा।

पुष्प ल्याउने भट्टराई जेठा।

डोरोको जिम्मा खत्रीबाले आफैं लिए।

जन गन मन सबैलाई शुद्ध सिकाउन गौतम जेठा।

"অ মোৰ আপোনাৰ দেশ"

संगीतमा गाउँने रहर सबैको।

गोलाघाट सहरवाट शिक्षित युवक

खत्री बाले आफ्नै नातिलाई बोलाएका छन् 

झण्डा पनि उसैले लिएर आउने कुरा।


विशिष्ठ बक्ता वृद्ध गोले बा

उनी विश्वयुद्धमा ब्रिटिश आर्मीमा

सिपाही थिए

सधैं कम्बरमा खुकुरी भिरेको हुन्छ

तिघ्रामा गोली लागेको दाग देखाउँछन्

विरत्वको कथा भन्छन।


बिहानै गाईबाछा लाएर

सबैलाई चाडैँ तैयारी हुन

फरमान जारी गरेका छन्

गुरु कोइराला बाले।

अतिथि हरुलाई खाने बस्नेको प्रवन्ध

कान्छा गोदारको गोठमा

सबै अतिथिहरूलाइ एक एक हरलिस्कको बोतलमा

गाईको घिऊ दिने दुलाल कान्छा।

झण्डा उत्तोलन गर्न

वनस्पति माजनलाई बोलाएका छन्,

उनी सारै विद्वान 

अगाध वनस्पति सम्बन्धी ज्ञान

एकरात बस्दै आउने रे।

सहर वाट 

माजन माइला,ठुला माजन

देवी गुरु पनि आउने पक्का भयो।

विभिन्न प्रान्तका

आमन्त्रित अतिथि हरूको

फोटो अन्तरेले राखेको देखेर गोठाला हरू 

सारै आनन्दित छन्।

यो स्यानो ब्रह्मपुत्रको टापु "मिरिछपडी"मा

पन्द्रह अगस्तको दिन

त्यो फहरिने झण्डालाई

हेलिकप्टरवाट फोटो लिए

कस्तो देखिन्थ्यो होला?

हाम्रा निमन्तृत अतिथि

हाम्रो गोठ,हाम्रो भाषा,हाम्रो देश

हाम्रो तिरंगा

कति प्यारो!!!

***

अन्तरे दाहाल

मिरिचापडी ,धौला-सदिया 

आसाम 


“অ' মোৰ আপোনাৰ দেশ'': आसामको

जातीय संगीत:State Anthem of Assam.


*आमन्त्रित अतिथिहरूले बसवाट  धौला सदिया सेतुको

वारि रहेको "खेम धाबा"मा उत्रे गोठ लाने ब्वावस्था गरिने 

छ।ब्रह्मपुत्र नदी सानो ढुङ्गामा तर्नु पर्ने हुनाले नदीमा डराउने व्यक्तिले तमाम हौसलाका साथ आउनु पर्ने जानकारी पनि गराइयो