कठै! मेरी आमा!
बरै!हाम्रो घर!
************
हाम्रो पुरानो त्यो छोडेको घर
आज बार्धक्यले गर्दा
अचानक ढल्यो।
सफाइको काम चलि रहेको छ
अचानक अगेनाको माथिको
त्यो धुवाँचाङतिर मेरो नजर गयो
एउटा स्यानो कागजको पोल्ठो
त्यसमा बेरेको फर्सीको बियाँ
कालो भएको भए पनि निर्जिव देखिएन।
त्यो बियाँ बेरेको कागजमा
विगत आमाले भनेको र मैले
जानिनजानी लेखेको
पसलवाट ल्याउने सामान सूची:
चिनी २ रुपियाँको
संकटमोचनको सिसी १
आनन्दकर टेबलेट २
मिठातेल ५ रुपियाँको
सियो १
सिन्दुर १ पुडिया
चियापत्ती ५ रुपियाँको
दन्त मञ्जन १
किरासन तेल ३ रुपियाँको।
सायद
अतिथि आउँदा सत्कार गर्न
चिनीचिया !
भुँडी दुख्दा खाने संकटमोचन!
टाउको दुख्दा खाने आनन्दकर!
थाङ्ग्नो सिलाउने सियो!
चिल्लो लाउने तेल!
सधवाको सिन्दुर!
रात्रि कुपी जलाउन किरासन तेल।
एक सफल गृहिणी मेरी आमा!
सायद त्यस्तै थिए होलान सबैका आमा!
लगभग पैंतालिस वर्ष अघिको
मेरो हस्ताक्षर!आमाको सूची।
आज मुद्रास्फिति खित्का छोडेर
अट्टहास गरि रहेको छ
बुझ्दैनन् अहिलेका पिँढी!
खल्लो लाग्दैन मलाई
मेरो जन्मथलो।
हाई!मेरी आमा!
कठै! मेरी आमा!
बरै!हाम्रो घर!
अन्तरे दाहाल
धौला, बोकापथार
१/८/२२