लोखर्के
******
आज लोखर्के सारै रमाएका छन्
अन्तरेको घरमा कोही छैनन्
सबै भागवत कथा सुन्न गएका छन्
फलफूलको रुखमा घुमेका छन् लोखर्केहरू
स्वाधीन भएको छ बगैंचा
खुब रमाएका छन्
कथावाचक गुरुलाई बधाई दिएका छन्
फेरि गाउँमा तुलफूल पनि त लाउन छोडे
मानिस अल्छे भए
अकाल पो लाग्छकि क्याहो!
अन्तरेले पासो किन्न बजार पठाएको छ
गोदार माइलालाई
"हात्तीलाई विष हालेर मार्ने मान्छेको
कुनै भरोसा छैन" भन्छ बुढो लोखर्के
इच्छा मृत्युको आह्वान गरेर
बनदेवता भाकेर
चित्रगुप्त मार्फत
सांकेतिक संदेश पठाएका छन्
सृष्टिकर्तालाई।
यता अन्तरे कथामा कृष्णजन्मोत्सव हुनाले
नाचेको नाचै छ
अब रुक्मिणी विवाहको दिन
सबै गाउँ कथामा व्यस्त हुन्छन्
खुब रमाउँछन्
लोखर्केहरु पनि
केहीदिन रमाउलान बगैंचामा।
गोदार माइलोले
पासो किनेर लिएर आएको देख्यो
बुढो लोखर्केले
दिनकाल नराम्रो आएको ठान्यो
आज बेलुकी आमसभा छ
उनीहरूको!!!
अन्तरे दाहाल
२७/७/२२