तिरंगा

 तिरंगा

*****

यसपटक मिरिचपडीमा

स्वाधीनता दिवस मनाउने तैयारी चल्दै छ

सर्वमुठ दसवटा गोठ

कान्छा गोदार, कालिकोटे खंड्का

उजुरे बा,दुलाल कान्छा,दंगालजेठा,

जन्तरेबा, ठुलोभाइ,कोइराला माइला,

उकिल कान्छो र फेताबे साइँलाहरुको गोठ।

सुसेली र सिटी मार्ने प्रतियोगिता पनि छ 

माजन माइला र प्रितम गोठालो

निर्णायक मण्डलीमा।


झण्डाको खिरिलो बाँस ल्याउने

ठुलोभाइको भागमा परेको छ

खाडल खनेर ठाउँ बनाउने गोदार कान्छा।

पुष्प ल्याउने भट्टराई जेठा।

डोरोको जिम्मा खत्रीबाले आफैं लिए।

जन गन मन सबैलाई शुद्ध सिकाउन गौतम जेठा।

"অ মোৰ আপোনাৰ দেশ"

संगीतमा गाउँने रहर सबैको।

गोलाघाट सहरवाट शिक्षित युवक

खत्री बाले आफ्नै नातिलाई बोलाएका छन् 

झण्डा पनि उसैले लिएर आउने कुरा।


विशिष्ठ बक्ता वृद्ध गोले बा

उनी विश्वयुद्धमा ब्रिटिश आर्मीमा

सिपाही थिए

सधैं कम्बरमा खुकुरी भिरेको हुन्छ

तिघ्रामा गोली लागेको दाग देखाउँछन्

विरत्वको कथा भन्छन।


बिहानै गाईबाछा लाएर

सबैलाई चाडैँ तैयारी हुन

फरमान जारी गरेका छन्

गुरु कोइराला बाले।

अतिथि हरुलाई खाने बस्नेको प्रवन्ध

कान्छा गोदारको गोठमा

सबै अतिथिहरूलाइ एक एक हरलिस्कको बोतलमा

गाईको घिऊ दिने दुलाल कान्छा।

झण्डा उत्तोलन गर्न

वनस्पति माजनलाई बोलाएका छन्,

उनी सारै विद्वान 

अगाध वनस्पति सम्बन्धी ज्ञान

एकरात बस्दै आउने रे।

सहर वाट 

माजन माइला,ठुला माजन

देवी गुरु पनि आउने पक्का भयो।

विभिन्न प्रान्तका

आमन्त्रित अतिथि हरूको

फोटो अन्तरेले राखेको देखेर गोठाला हरू 

सारै आनन्दित छन्।

यो स्यानो ब्रह्मपुत्रको टापु "मिरिछपडी"मा

पन्द्रह अगस्तको दिन

त्यो फहरिने झण्डालाई

हेलिकप्टरवाट फोटो लिए

कस्तो देखिन्थ्यो होला?

हाम्रा निमन्तृत अतिथि

हाम्रो गोठ,हाम्रो भाषा,हाम्रो देश

हाम्रो तिरंगा

कति प्यारो!!!

***

अन्तरे दाहाल

मिरिचापडी ,धौला-सदिया 

आसाम 


“অ' মোৰ আপোনাৰ দেশ'': आसामको

जातीय संगीत:State Anthem of Assam.


*आमन्त्रित अतिथिहरूले बसवाट  धौला सदिया सेतुको

वारि रहेको "खेम धाबा"मा उत्रे गोठ लाने ब्वावस्था गरिने 

छ।ब्रह्मपुत्र नदी सानो ढुङ्गामा तर्नु पर्ने हुनाले नदीमा डराउने व्यक्तिले तमाम हौसलाका साथ आउनु पर्ने जानकारी पनि गराइयो

तित्रीको वोट

 तित्रीको वोट

*********

मैले बैँशमा लेखेको थिएँ

तिम्रो नाउँ बालुवाको छेउमा रहेको

त्यो तित्रीको वोटमा।

हामीले भातभात

र 

घरघर खेलेको याद आयो

थुप्रै प्रकारको घर बनाएको याद आउँछ

तर 

दुईतले घर बनाउन सकिएन बालुवामा

त्यसैले होला अहिले पनि म

भुइँ घरमानै छु 

आरामको साथ।


सुन्दैछु तिमी त पक्काको तलेघरमा

एक्लै छौ भनेर

प्रेमीले धोका दिएको समाचार सुनें ।


आउ तिमी,

त्यो तित्रीको वोटमा

पाकोके तित्री लटरम्म छ

उमेर ढल्केर के भो

पुनर भातभात

घरघर खेलौं

त्यही ठाउँमा

"आजादीको अमृत महोत्सव"मनाउँदैछ देश।

****

अन्तरे दाहाल

गुवाहाटी


७/८/२२

कठै! मेरी आमा! बरै!हाम्रो घर!

 कठै! मेरी आमा!

बरै!हाम्रो घर!

************

हाम्रो पुरानो त्यो छोडेको घर

आज बार्धक्यले गर्दा

अचानक ढल्यो।

सफाइको काम चलि रहेको छ

अचानक अगेनाको माथिको

त्यो धुवाँचाङतिर मेरो नजर गयो

एउटा स्यानो कागजको पोल्ठो

त्यसमा बेरेको फर्सीको बियाँ

कालो भएको भए पनि निर्जिव देखिएन।

त्यो बियाँ बेरेको कागजमा

विगत आमाले भनेको र मैले 

जानिनजानी लेखेको

पसलवाट ल्याउने सामान सूची:

चिनी २ रुपियाँको

संकटमोचनको सिसी १

आनन्दकर टेबलेट २

मिठातेल ५ रुपियाँको

सियो १

सिन्दुर १ पुडिया 

चियापत्ती ५ रुपियाँको

दन्त मञ्जन १

किरासन तेल ३ रुपियाँको।

सायद 

अतिथि आउँदा सत्कार गर्न

चिनीचिया !

भुँडी दुख्दा खाने संकटमोचन!

टाउको दुख्दा खाने आनन्दकर!

थाङ्ग्नो सिलाउने सियो!

चिल्लो लाउने तेल!

सधवाको सिन्दुर!

रात्रि कुपी जलाउन किरासन तेल।

एक सफल गृहिणी मेरी आमा!

सायद त्यस्तै थिए होलान सबैका आमा!


लगभग पैंतालिस वर्ष अघिको

मेरो हस्ताक्षर!आमाको सूची।

आज मुद्रास्फिति खित्का छोडेर

अट्टहास गरि रहेको छ

बुझ्दैनन् अहिलेका पिँढी!

खल्लो लाग्दैन मलाई

मेरो जन्मथलो।

हाई!मेरी आमा!

कठै! मेरी आमा!

बरै!हाम्रो घर!


अन्तरे दाहाल

धौला, बोकापथार

१/८/२२

लोखर्के

 लोखर्के

******

आज लोखर्के सारै रमाएका छन्

अन्तरेको घरमा कोही छैनन्

सबै भागवत कथा सुन्न गएका छन्

फलफूलको रुखमा घुमेका छन् लोखर्केहरू 

स्वाधीन भएको छ बगैंचा

खुब रमाएका छन्

कथावाचक गुरुलाई बधाई दिएका छन्

फेरि गाउँमा तुलफूल पनि त लाउन छोडे

मानिस अल्छे भए

अकाल पो लाग्छकि क्याहो!


अन्तरेले पासो किन्न बजार पठाएको छ

गोदार माइलालाई

"हात्तीलाई विष हालेर मार्ने मान्छेको

कुनै भरोसा छैन" भन्छ बुढो लोखर्के

इच्छा मृत्युको आह्वान गरेर

बनदेवता भाकेर 

चित्रगुप्त मार्फत

सांकेतिक संदेश पठाएका छन्

सृष्टिकर्तालाई।


यता अन्तरे कथामा कृष्णजन्मोत्सव हुनाले

नाचेको नाचै छ

अब रुक्मिणी विवाहको दिन

सबै गाउँ कथामा व्यस्त हुन्छन्

खुब रमाउँछन्

लोखर्केहरु पनि 

केहीदिन रमाउलान बगैंचामा।


गोदार माइलोले

पासो किनेर लिएर आएको देख्यो

बुढो लोखर्केले

दिनकाल नराम्रो आएको ठान्यो

आज बेलुकी आमसभा छ

उनीहरूको!!!


अन्तरे दाहाल

२७/७/२२

उमङ्ग

 उमङ्ग

****

बादलले आज जूनलाई

ढक्क ढाकेको छ

जूनको किरण फैलाउने ईच्छा 

पानीपानी भएको छ

बादल मान्दैन

लुकाउने प्रबल ईच्छा छ जुनलाई

जुनकिरी पनि छैनन् धरामा

जून क्रोधित

बादल गर्वित

अन्तरेको नेपथ्य प्रिया

आज आउने मुहूर्त छ!हे बादल !

ढाक जूनलाई

जूनमा मान्छेले कदम

चालि सकेका छन्

प्रिये!

तिमी निर्धक्क भएर आऊ

औंठी साटासाट गरौ!

फैलियोस् धरामा प्रेमको 

प्रफुल्लित उमङ्ग!

*****

अन्तरे दाहाल

गोले बाको अर्थी

 गोले  अर्ती

*************

ऋण लिएको छौ?

नलिनु पनि

बरु

नुनभात र निगुरो खानु

जागीर छ?मस्ती नगर्नु

गोठ छ?नछोड्नु

घर घडेरी छ?सम्भाल्नु

खेत माटो छ?बिरुवा लाउनु

व्यवसाय छ?घरका सबैले मद्दत गर्नु

गृहिणी हो?सकेसम्म कम्ति घर खर्च गर्नु

दुई नम्बरी आय पनि छ?नफुरकिनु

बाँस- खरको घर छ?ढुक्क हुनु

पक्काको ठुलो घर छ?विद्यार्थीलाई बस्न दिनु

रोग लागे ऋणी हुइन्छ:स्वास्थ्य बीमा गर्नु

प्रभुले दुई हात दिएका छन्

रमाएर मेहनत गर्नु

खुब रमाउनु

प्रभुमा विश्वास राख्नु।


अन्तरे  दाहाल

गुवाहाटी

२१/६/२२

तिमी

 तिमी

****

सधैँ उदाएको घाम नै तिमी

फुलेको पुष्प तिमी

मगमगाउने वास्ना तिमी

चार दिशा नै तिमी

स्वर्ग र मर्त्य नै तिमी

मृदु पवन पनि तिमी

हावाको झोंका पनि तिमी

कविता तिमी

वाचिका पनि तिमी

सर्जक पनि तिमी

पुस्तक पनि तिमी

प्रकाशक पनि तिमी

सम्पादक पनि तिमी

पाठक पनि तिमी

अक्षर,पंक्ति र हरफहरू पनि तिमी।


रुख पनि तिमी

छायाँ पनि तिमी

फल पनि तिमी

सर्वस्व तिमी।

म त एउटा  वरमालामा फुर्किएको

र 

गोत्र उच्चारण गरिएर 

गुरुवरको संकल्पमा रमाएको 

कुनै ऋषिको गोत्र भएको

फगत

मान्छे!


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी 

१८/६/२२