कस्को फोटो खिचें होला मैले

 कस्को फोटो खिचें होला मैले

*********************

म सँग मात्रै केमराको एउटा रील थियो

भनौं मैले कस्को फोटो खिँचे होला त्यसबेला।



नेपथ्य प्रेमिका थिइन मेरी

प्यारो हजुरबा पनि हुनुहुन्थ्यो

मेरी प्यारी आमा 

मायाँ गर्ने बाबु साथै

मेरा साथी मखे,तीखे,विदुरे,डल्ली र मञ्जरी सँग

एउटा ग्रुप फोटो

कस्को फोटो खिचे होला मैले?

म सँग मात्रै केमरामा एउटा रील थियो


दिदी मेरी जुम्रा हेरि दिने सानोमा

नुहाइ दिने,लुगा लगाई दिने

बैनी मेरी प्यारी सँगै खेल्ने बाल्यापनमा

मलाई गुलेली र मटेंग्रा बनाई दिने

गोठाला दाजु बस्नेत माईला

कस्को फोटो खिचे होला?

म सँग मात्रै केमराको एउटा रील थियो?


मेरो सारै प्रिय साथी बिर्खे

मेरो प्रेमपत्र लाने र उनीको ल्याउने

मेरो मुटुको धड्कनको योगसूत्र 

बुबा बजार जाँदा मलाई चडाई लाने

गाउँको प्रथम साइकिल पनि थियो घरमा

गाउँको पहिलो रेडियो पनि थियो

कस्को फोटो खिचे होला?

म सँग मात्रै केमराको एउटा रील थियो


गोठभरी गाईबाछा

हामी सबैलाई दुध खुवाएर

पुष्ट पारेको 

दस बेते बुढी कान्छी गाई

अब पूर्ण थारो भइन् ऊ , म खेल्थे उनीसँग

हाल हलो जोत्न नसक्ने तर समयमा

तमाम हलो जोत्ने बुढो कथुरे गोरु

मैले हातले रोटी दिँदा दगुरेर आउने

दुई हल बहर गोरु 

बाख्राको पाठा पाङ्ग्रे रङ्गका

कस्को फोटो खिचे होला?

म सँग मात्रै केमराको एउटा रील थियो।


भुलेछु मैले सानोमा हामीलाई 

अन्नको परीबन्ध पारी दिने

ढिकी र जाँतोको कुरा

जाँतो पिस्दा म आमाको छेउमा हुन्थेँ

अनि हाम्रो प्यारो प्रहरी लिडे र पाङ्ग्रे कुकुर

म दोधारमा परेको थिएँ

एउटा रील थियो मसँग केमेरमा

कस्को फोटो खिचे होला?

को खिचिक्का पस्यो होला

मेरो केमेरामा !

म सँग मात्रै एउटा रील थियो।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी , आसाम

२४/१/२२


भुईँचालो

 भुईँचालो

*******

निकै हलिदैछ धरती हिजोआज

अट्टालिकाहरू थर्किन थाले

वस्तुवादी संसारमा रम्येकाहरू

डराउन थाले,राति आउँदैन निन्द्रा।


ढकाल कान्छा खोजी रहेको छ

बाँस, खरले झोपडी बनाउने मान्छे

दुईचार माउ गाई ,बाख्रा पालेर

स्यानो झोपडीमा बस्न चाहन्छ ऊ

निर्धक्क भएर

आनन्दका साथ

मानिसहरू गाउँमुखी हुनबेर छैन अब

भुईँचालोको डरले

तर बाँस र खर मासिए गाउँमा

न यता न उताको

हुन्छनहोला मानिस

"सुनारेको सय छोट

लोहारेको एक चोट"

भन्दैछिन् धरती।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२२/१/२२

हेलो हेलो

 हेलो हेलो

*******

कहिले कँही विरक्ति लाग्छ

मोबाइल को यो हेलो हेलो सुनेर

म सुनेर अघाएँ तर उनीले सुनै पाउनु भएन

चिठी एउटा  माइत वाट आएको

त्यो पनि बर्मा वाट हजुरबाले लेखेको

"बाई एयर मेईल" लेखिएको

प्रतिदिन पढ्न लाउनु हुन्थ्यो आमा!

सिरानीमा राख्नु हुन्थ्यो चिठी

थिएन त्यो मोबाइलको 

हेलो हेलो।


कति कुरा गर्नु हुन्थ्यो होला

मोबाइल भएको भए

उता हजुरबा, यता आमा

दुवै तिरको मिल्दो बिम्ब

हामी रमाएर हेर्ने थिउँ होला

दुवै जनाको मिल्दो नाक र निधार

हेलो हेलो।


उता सानिमा फेरि यता आमा

एउटै जस्तो देखिने नाक र आँखा

बोली र आउभाउ एउटै

उता सबै सानिमाको परिवार

यता हाम्रो परिवार

हेलो हेलो।


उता कान्छा हजुरबाको छोरी

थिएनन छोरा ,फुपु मात्रै एउटी

उता लामिछाने फुपु, यता बाबु

उता चेली यता माइत

चेलीको आँखामा आँसु

बाबुको बोलीमा भावुकता

कति हुन्थ्यो होला गन्थन

हेलो हेलो।


नौ वर्षको उमेरमा बिहे

त्यो पनि बर्मामा,विश्वयुद्धको समय

आउनुभयो बाबुले लिएर आमालाई

बिथोलियो परिवार

भयेन पुनर सम्पर्क

बेकार लाग्छ सम्झेर मलाई अहिले

हेलो हेलो।


हेलो हेलो "यो गृह मन्त्रालय हो?"

म अन्तरे दाहाल

मेरो पासपोर्ट छ,भिसा आवेदन गरेको थिएँ

बर्मा जाने,आमाको जन्मथलो हेर्ने

आफन्त भेट्ने

किन दिनुहुन्न भिसा प्रभु!दया गर्नुहोस्

फोन काटियो मन्त्रालय वाट

फगत मेरो त्यो आवाज गुन्जियो

हेलो हेलो।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२१/१/२२

विचरा अाधुनिकता

 विचरा अाधुनिकता!

**************

हजुरबाको समयको बन्चरो

आज निस्ताएको छ

न उद्यायेको कैयौं वर्ष भयो

न रुख न दाउरा

खिया लागेको छ उसलाई

ऊ हेरि रहन्छ गेसको सिलिन्डर तिर

सिलिन्डर त आयो ठीक छ

रुखहरू मासिए बेठीक छ!


अब लुहा लक्कड़ किन्नेलाई

बेच्न चाहन्छ त्यो बन्चरो नातिले

उसलाई किन्न सापट लिएर किनेको कुरा

जान्दैन नातिले

बोल्दैन बन्चरो

बुझ्दैन नाति!


पल्लो गाउँमा आधुनिक आराले

ठुलो रुख ढालेको खबर आयो

बन्चरो बिँडलाई भन्छ

साथी!अब कोदालो ,खन्ति पनि

जान्छन् होला लुहा लक्कड़ेको हातमा।


उता सिरानेको पुरानो खुकुरी पनि

झसङ्ग  झसङ्ग हुन्छ हिजोआज

जाँतो ढुङ्गा हुनाले बिक्दैन रे

बाहिरियो ऊ उहिलेई

सारै रमाइलो लाग्छ आधुनिकता

नाति हरूलाई।

अक्सिजेनको ढुङ्ग्रो डँडाललोमा बोकेर

हिँडेको हुन्छन् होला आगामी पुस्ताहरू

भव्य देखिन्छ होला आधुनिकता।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

२०/१/२२

आज पनि आकाश धुम्म छ।

 आज पनि आकाश धुम्म छ।

*********************

छोरा बुहारी विदेशतिर लागे पछि

बृद्ध आमा एक्लै भईन् घरमा

मुटुको व्यथा र हृदयको पीडा

आमा कुरा गर्न चाहन्छिन्

उता फुर्सद छैन छोरा बुहारीको।


सहायिका एउटी राखि दिएका छन्

पुष्ट यौवन भएकी उनी

उनी मोबाइलमा व्यस्त

आमै खोकिले ग्रस्त

यता एउटा जवानी

उता एउटा वृद्धा

यौवनले बुझ्दैन , बुझोस नै कसरी

हेरी रहेको छ माथिबाट त्यो आकाश

ऊ धुम्मिन्न तत्पर छ आज

भोली घाम देखिँदैन होला सायद

आमैलाई खुब आगो ताप्ने रहर छ

यो जाड़ोमा दिनमा

दाउरा पाईदैनन हिजो आज

कपडाको तातोले तातिदैन मन्

घरको बुढो कुकुरले आज भात नै खाएन

आमैको ओछ्यान छेउमा बसेको छ

हेरी रहेको छ ऊ आमै तिर

आमै छै भन्दिनन् ।


शङ्ख बज्यो अचानक

सुने गाउँले हरुले

पुगेन शङ्खघ्वनी विदेशमा

फोन गयो उसलाई

हाई!दुःख लुकाईन

भने गाउँले हरूले,

घामलाई छेकेर

आज पनि आकाश धुम्म छ

तर छाेरा बुहारी बस्ने देशको आकाश

स्पष्ट उज्यालो छ।

_____

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

औँठी नभएका बुच्चा औंलाहरू

 औँठी नभएका बुच्चा औंलाहरू

***********************

हजुर,मेरा औंलाहरू नाङ्गो छन्

बुच्चा औंलाहरू भन्छन कोही,

प्रेम याचना गर्ने हरू

औंलाहरू मात्रै हेर्छन

 हेर्दैनन् मन्।


म सँग एउटा सृङ्गारिएको मन् छ

सबैलाई पूर्ण देख्छ मेरो मन्

बुझ्दैनन मलाई हेर्ने प्रेमील मनहररू

म हिजोआज एक्लो भएको छु

प्रेमील बजारमा,बुच्चा औंलाहरू।


औँठी नभएको बुच्चा औँलाहरू

तत्पर छन् जीवन युद्ध गर्न

सायद आउँछिन् कुनै प्रेमिका

हेर्छिन् मेरो मन्

चुम्छिन होला मेरा नाङ्गो औँलाहरू

भन्छिन् होला "मेरो प्रिय मन्" !


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

३०/१२/२०२१

रुखहरू

 १९७१ मा बुबाले ब्रह्मपुत्रको किनारमा आफ्नो माटोमा रोपेका रुखहरू..

रुखहरू

******

बुबाले कैयौं वर्ष अघि रोपेको

ई रुखहररूको फोटो

मैले राखि दिएँ

राष्ट्रलाई र अधिकारी हरुलाई

जो मलाई सँधै सोध्ने गर्छन्

तेरो प्रमाण पत्र के छ भन्नेलाई!

बर्सेनि बाढीले स्वाहा पारेको

धर केहि रहेन दस्तावेज

इनै रुखहरूले भनिदेलान सायद

अव्यक्त वेदनाको कथा साथै

हाम्रो जन्म कुण्डली।

माटो कस्को

 माटो कस्को?

********

यो जाडोमा 

विभिन्न देशवाट

पासपोर्ट र भिसा बेगर नै 

आएका परिभ्रमी पक्षीहरुले

हालको प्रकृति र मानिसको स्वभाव देखेर

राष्ट्रप्रधान र तथाकथित

जीवश्रेष्टलाई

ईश्वर प्रदत्त भूमण्डल

सबैको हक छ

खबरदार!

पिपलपाते मानिस!

"तेरो अन्तको सूचना

कालचक्रमा घेरिएको देखिन्छ"

भन्दै

 छ !


____

पुरुषोत्तम उपाध्याय

गुवाहाटी।

सम्बन्ध विच्छेद

 सम्बन्ध विच्छेद

************

अदालतमा सम्बन्ध विच्छेद गरेर

मानसिंह र जुरेली लागे आ आफ्नो गन्तव्य तिर

लामो युद्ध थियो  उनीहरुको

तर बुझेन जोर ढुकुरले

सधैँ चर्छन् उनीहरू मानसिंहको आगनमा

वर्षेनी जोर बच्चा हुर्काउने गर्छन ।


उता जुरेलीको घरमा

दुई कुकुरका छाउरा र छाउरी

वर्षेनी बच्चा जन्माउछन् सुन्दर सुन्दर।

छिमेकीहरू रोजेर लान्छन्

केही छाउरा र छाउरीहरू।


जुरेली र मानसिंहले एक्ला एक्लै नै

बस्ने निर्णय गरे,जीवश्रेष्ठको नाताले।


 यता प्राणीको नाताले    

 ढुकुर र कुकुर , संगसँगै बस्छन

 आनन्दका साथ आबोल प्राणीको नाताले!

-----------

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी।

21/11/21

फेरि जाडो पलायो त आमा!

 फेरि जाडो पलायो त आमा!

********************

रात्रि विस्तारामा आमासँग

गुटुमुटु हुन्छन् नानीहरू

सुन्ठीको आगो कतिबेर ताप्नु

लुगाहरू एकसरो 

खरको घर ,माटोको आँगन

फेरि जाडो पलायो त आमा!


इनफ्लेसन निकै भएको छ रे देशमा!

लुगा फाटाको दामले

आकाश छोएको छ रे

मूल्यवृद्धि पनि आकाशलम्भि रे!

बाबु पनि कामको खोजीमा

इनफ्लेसन,मूल्यवृद्धि के हो आमा!

किन गरम लुगा छैनन् हाम्रा?

फेरि जाडो पलायो त आमा!


आमाको जिउको तातोले

तताउन सकेको छैन 

चारैवटा नानीहरूलाई

बिहान कहिले हुन्छ र

आगो जलाउनु  सुन्ठीको फेरि

अस्ति नेताजीले

अन्न, वस्त्र, घर सबैलाई हुन्छ भन्नु हुन्थ्यो

भित्तावाट चिसो हावा आउँछ राति

फेरि जाडो पलायो त आमा।


मन् लाग्छ केहीरात नाङ्गो भएर

हिडीदिउँ म पनि सांसद भवनतिर

देखुन् कुनै सांसदले

भनुन् प्रहरीलाई 

यो लज्जाहिन व्यक्तिलाई

हाल जेलमा,ठोक सालेलाई,लबस्तरो।

राति जेलमा कम्बल ओडी र रोटी खाँदै

भनिदिउँ जस्तो लाग्छ वेदनाका कथाहरू!

सुन्लान कि कसैले इनीहरुको कथा!

केही भन्दा मन् फराकिलो हुन्छ रे!


पुरुषोत्तम उपाध्याय दाहाल

नदी घाट छेउ

धौला

केही स्मृतिका दृश्यहरू

 केही स्मृतिका दृश्यहरू

*****************

खोलाघरे बा ले दश वर्षको

आफ्नो कान्छो छोटो साथै लिएर

जन्तरे महाजनको आँगनमा

"मेरो कान्छो छोरो राख्नु हजुर!

गाई बाछा हेरिदिन्छ यसले

मलाई चारपाँच मुरी धान दिए हुन्छ

घरजहान बिरामी छे" भनेको

दृश्यहरू याद आए।


डाँडाघरे आमैले आफ्नी माइली छोरी

डन्डिफोर निस्किने उमेरमा

डोर्याउदै गोदार महाजनको

गोठमा लगेर "यसलाई राख्नु हजुर

महाजननी आमैलाई काम सगाई दिन्छे

मलाई वर्ष भरीको अन्न दिए हुन्छ"भनेको

दृश्यहरू याद आए।


उदयनारायण बा लाई 

जङ्गली भैंसीले घाइते पारे पछि

उनीको श्रीमतीले सारु बा को

घरमा गएर कानको मुन्द्री देखाएर

"यो राख्नुहोस हजुर!उपचारको निम्ति

केही खर्च चाहियो "भनेको

दृश्यहरू याद आए।


बहादुर ठुले ले

बाबु खसे पछि

"बरु हलको गोरु लानु 

तर काम उतारी दिनु "

भनेर खत्री महाजनलाई भनेको

दृश्यहरू याद आए।

--------

पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला,गुवाहाटी

बाबु र घर

 बाबु र घर

*******

सुन्दर घर

नानी केटाकेटीहरू

सबै घर परिवार 

रमाई रहेका छन

घरभित्र।


उनीहरूलाई थाहानै छैन

लकडाउनमा व्यापार बन्द भएर

बाबुले

घर बन्धक राखेको कुरा।


हाल बैंकवाट कर्जा तिर्न

सूचना आई सकेको छ

 नत्र घर लिलाम हुन्छ।


ऊ मनमनै सोच्छ आमाको कथाहरू

लेख्छन् सबै

बाबुले पनि भोगेको

हुन्छ निकै।

कस्ले लेख्छ ई कथाहरू!


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम।

17/11/21