हजुर सन्चै हुनुहुन्छ? (शब्द ब्रह्म)

 हजुर सन्चै हुनुहुन्छ?

   (शब्द ब्रह्म)

*************

बनारसको मणिकर्णिका घाटमा

दिनरात अखण्ड जलिरहने लासहरू

देखेर आएपछि

हरिभक्त बाबैले गोठै बेचेर 

गरीबको सेवामा जीवन अर्पण गरे


हो,जीवन क्षणिक हो

सबैलाई थाहा छ

तर

सबैले भुल्ने गर्छन

अजम्बरी ठान्छन् आफैंलाई


शब्द ब्रह्म हो

राम्रो शब्दको प्रयोगले

मानिसको जीवन शैलीनै परिवर्तन हुन सक्छ

योगात्मक सोच ल्याउन सक्छ

निरोगी बनाउन सक्छ

न खर्च नै गर्नु पर्छ, न भारी नै बोक्नु पर्छ

भेट गरेर होस

या

दूरभाषमा होस

बस् भनिदिए भयो

सोधीदिए भयो

प्रभुले शब्दज्ञान र बोली दिएको--

फगत प्राणी मानिस मात्रै त छ सृष्टिमा

हजुर सन्चै हुनुहुन्छ ? भनिदिनु भयो।

धन्यवाद।

हजुर!अब पूर्ण सन्चो हुन्छु भनिठान्छ ऊ 

किनकि

शब्द ब्रह्म हो।

********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

२५/७/२०२३

सबै उदाएको घाम नै मनपराउँछन्

 सबै उदाएको घाम नै मनपराउँछन् 

**************************

अन्तरेको अन्तर्

गोले बाको जन्तर

पुरेतबाको मन्तर

माजनको देशान्तर

हाकिमको स्थानान्तर 

नेताको अर्थान्तर

गरीबको मध्यान्तर

प्राणीको जन्मजन्मान्तर 

कविको निरन्तर

कसले बुझ्ने कान्छा!

सबै उदाएको घाम नै मनपराउँछन् 

******

पुरूषोत्तम उपाध्याय दाहाल

20/7/2023

हल्ला चलेको छ

 हल्ला चलेको छ

*************

मेघले कालिदासको प्रेम सन्देश बोकेर लगेको भनेर गोठमा हल्ला चलेको छ

कविको प्रेम सन्देश हावा र गुलाफ मिलेपछि सुगन्ध बगेको भन्ने हल्ला चलेको छ

कसैले सन्देश लिएर नै जानु पर्ने यो प्रेमकथा अनन्त र अपार रहेछ सीलु!

हाल ह्वाटअप र मेसेन्जरले प्रेमिकालाई निरन्तर ठगेको छ भन्ने हल्ला चलेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

बेलतला,गुवाहाटी

20/7/2023

बैसाखी

 बैसाखी

*******

निस्तेज र म्लान भएको बैसाखी

आज सारै आनन्दित छ

कसैको सहारा बन्न सकेको छ ऊ 

साहारा हराएको समाज व्यवस्थालाई

एउटा स्मृतिको झलक याद दिलाउँछ

बोल्न सक्दैन, देखिन्छ ऊ l


घरमा हजुरबा कान सुन्नुहुन्न

आँखा देख्नुहुन्न

हिँड्न सक्नुहुन्न

सारो अन्न खान सक्नुहुन्न

लौरो घोरिन्छ केहिबेर

म त थिएँ सहारा दिने

तर

छोरा,नाति,आफन्त,छिमेकी 

कोही आएर मलाई लानु भएन

नहिनेर नै कुँजिएको हो बा भने डाक्टरहरूले

हिँडाउने कसले!


हाल डाईपरमा हुनुहुन्छ हजुरबुबा

बुढी खसेको निकै वर्ष भयो

राति छोरा आएर डाईपर हेर्ने गर्छ

भित्र भित्र भन्छ ऊ

दुःख लुके राम्रो 

सारै दुःख छ उसलाई र बुबालाई


विस्तारवाद,समाजवाद,वामपन्थी र नरमपन्थी एवम् 

चरमपन्थी साथै अनेकौ पन्थी देखने हजुरबुबाले

सबै देख्नु भयो यो सय वर्षको उमेरमा

तर

सेवावाद,मृदुभाषीवाद,मिठो मसिनोवाद बारे

केही सुन्नु भएन सय वर्षमा बाले

पिपलको रुखमुनि केरम खेल्ने नवपुस्ताले

गफ गफमा कुरा गरेको भन्ने हल्ला चै चलेको छ

गरेको छैनन् केही पहल

राजनीति मुख्य विषय हुन्छ उनीहरूको हिजोआज


हजुरबुबा स्वर्गारोहण भए पश्च्यात

कोही क्रियापुत्री रुग्न्ने बहानाले

जुवा खेल्न तिखारिएका छन् भन्ने पनि

हल्ला चलेको छ

यता फेरि जुवालाई नयाँ विस्तारवादको

नयाँ आयाम भनिएको छ रे।

*******************


पुरूषोत्तम उपाध्याय दाहाल

IG Airport Delhi

15/7/2023

समुद्र मन्थन

 समुद्र मन्थन

**********

समुद्र मन्थन हुँदैछ रे, जाउँ है जाउँ, सबैले अमृत पिएर आउँ 

लाम लाग्ने चलन नै छैन रे, भीड उछिनेर सक्दो लिएर आउँ

भीडभाड र ठेलठालमा ज्यान गए पनि त मोक्ष नै मिल्ला, हे!जीवश्रेष्ठ !

कलियुगको अमृत हो काम गर्ला या नगर्ला नयाँ चोला सिएर 

आउँ।


पुरूषोत्तम उपाध्याय दाहाल

नयाँ दिल्ली

12/7/2023