माटो कस्को

 माटो कस्को?

********

यो जाडोमा 

विभिन्न देशवाट

पासपोर्ट र भिसा बेगर नै 

आएका परिभ्रमी पक्षीहरुले

हालको प्रकृति र मानिसको स्वभाव देखेर

राष्ट्रप्रधान र तथाकथित

जीवश्रेष्टलाई

ईश्वर प्रदत्त भूमण्डल

सबैको हक छ

खबरदार!

पिपलपाते मानिस!

"तेरो अन्तको सूचना

कालचक्रमा घेरिएको देखिन्छ"

भन्दै

 छ !


____

पुरुषोत्तम उपाध्याय

गुवाहाटी।

सम्बन्ध विच्छेद

 सम्बन्ध विच्छेद

************

अदालतमा सम्बन्ध विच्छेद गरेर

मानसिंह र जुरेली लागे आ आफ्नो गन्तव्य तिर

लामो युद्ध थियो  उनीहरुको

तर बुझेन जोर ढुकुरले

सधैँ चर्छन् उनीहरू मानसिंहको आगनमा

वर्षेनी जोर बच्चा हुर्काउने गर्छन ।


उता जुरेलीको घरमा

दुई कुकुरका छाउरा र छाउरी

वर्षेनी बच्चा जन्माउछन् सुन्दर सुन्दर।

छिमेकीहरू रोजेर लान्छन्

केही छाउरा र छाउरीहरू।


जुरेली र मानसिंहले एक्ला एक्लै नै

बस्ने निर्णय गरे,जीवश्रेष्ठको नाताले।


 यता प्राणीको नाताले    

 ढुकुर र कुकुर , संगसँगै बस्छन

 आनन्दका साथ आबोल प्राणीको नाताले!

-----------

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी।

21/11/21

फेरि जाडो पलायो त आमा!

 फेरि जाडो पलायो त आमा!

********************

रात्रि विस्तारामा आमासँग

गुटुमुटु हुन्छन् नानीहरू

सुन्ठीको आगो कतिबेर ताप्नु

लुगाहरू एकसरो 

खरको घर ,माटोको आँगन

फेरि जाडो पलायो त आमा!


इनफ्लेसन निकै भएको छ रे देशमा!

लुगा फाटाको दामले

आकाश छोएको छ रे

मूल्यवृद्धि पनि आकाशलम्भि रे!

बाबु पनि कामको खोजीमा

इनफ्लेसन,मूल्यवृद्धि के हो आमा!

किन गरम लुगा छैनन् हाम्रा?

फेरि जाडो पलायो त आमा!


आमाको जिउको तातोले

तताउन सकेको छैन 

चारैवटा नानीहरूलाई

बिहान कहिले हुन्छ र

आगो जलाउनु  सुन्ठीको फेरि

अस्ति नेताजीले

अन्न, वस्त्र, घर सबैलाई हुन्छ भन्नु हुन्थ्यो

भित्तावाट चिसो हावा आउँछ राति

फेरि जाडो पलायो त आमा।


मन् लाग्छ केहीरात नाङ्गो भएर

हिडीदिउँ म पनि सांसद भवनतिर

देखुन् कुनै सांसदले

भनुन् प्रहरीलाई 

यो लज्जाहिन व्यक्तिलाई

हाल जेलमा,ठोक सालेलाई,लबस्तरो।

राति जेलमा कम्बल ओडी र रोटी खाँदै

भनिदिउँ जस्तो लाग्छ वेदनाका कथाहरू!

सुन्लान कि कसैले इनीहरुको कथा!

केही भन्दा मन् फराकिलो हुन्छ रे!


पुरुषोत्तम उपाध्याय दाहाल

नदी घाट छेउ

धौला

केही स्मृतिका दृश्यहरू

 केही स्मृतिका दृश्यहरू

*****************

खोलाघरे बा ले दश वर्षको

आफ्नो कान्छो छोटो साथै लिएर

जन्तरे महाजनको आँगनमा

"मेरो कान्छो छोरो राख्नु हजुर!

गाई बाछा हेरिदिन्छ यसले

मलाई चारपाँच मुरी धान दिए हुन्छ

घरजहान बिरामी छे" भनेको

दृश्यहरू याद आए।


डाँडाघरे आमैले आफ्नी माइली छोरी

डन्डिफोर निस्किने उमेरमा

डोर्याउदै गोदार महाजनको

गोठमा लगेर "यसलाई राख्नु हजुर

महाजननी आमैलाई काम सगाई दिन्छे

मलाई वर्ष भरीको अन्न दिए हुन्छ"भनेको

दृश्यहरू याद आए।


उदयनारायण बा लाई 

जङ्गली भैंसीले घाइते पारे पछि

उनीको श्रीमतीले सारु बा को

घरमा गएर कानको मुन्द्री देखाएर

"यो राख्नुहोस हजुर!उपचारको निम्ति

केही खर्च चाहियो "भनेको

दृश्यहरू याद आए।


बहादुर ठुले ले

बाबु खसे पछि

"बरु हलको गोरु लानु 

तर काम उतारी दिनु "

भनेर खत्री महाजनलाई भनेको

दृश्यहरू याद आए।

--------

पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला,गुवाहाटी

बाबु र घर

 बाबु र घर

*******

सुन्दर घर

नानी केटाकेटीहरू

सबै घर परिवार 

रमाई रहेका छन

घरभित्र।


उनीहरूलाई थाहानै छैन

लकडाउनमा व्यापार बन्द भएर

बाबुले

घर बन्धक राखेको कुरा।


हाल बैंकवाट कर्जा तिर्न

सूचना आई सकेको छ

 नत्र घर लिलाम हुन्छ।


ऊ मनमनै सोच्छ आमाको कथाहरू

लेख्छन् सबै

बाबुले पनि भोगेको

हुन्छ निकै।

कस्ले लेख्छ ई कथाहरू!


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम।

17/11/21