मान्छे त धिउ पो रहेछन कान्छा!

 मान्छे त धिउ पो रहेछन कान्छा!

************************

कान्छा!

मैले गोदार बालाई हलको बहर मरेको कुरा भनेँ 

दुःख बिसाएँ 

खेत बाँझो रहने सम्भावना जताएँ

नानी केटाकेटीको बिजोक हुने आशय व्यक्त गरेँ

फ्याट्ट,एकहल गोठको बहर लगेर, दाएर

"खेती गर बाहुन नानी" पो भनें

मान्छे त धिउ पो रहेछन कान्छा!


खिल पल्टियो गोडामा

न बस्नु, न सुत्नु

केही गर्न नसक्ने भएँ

जन्तरे बालाई गुनासो सुनाएँ

फ्याट्ट हजार रुपैयाँ निकालेर दिए

उपचार गर अन्तरे

"निर्व्याजी रकम दिएको मैले,

"जहिले सक्छौ तहिले तिर्नु" पो भनेँ

मान्छे त धिउ पो रहेछन कान्छा!


पचास बर्षपछि फुपु आएकी वर्मावाट

त्यो पनि चोरी बाटो,मान्छे साथ लिएर,रकम तिरेर

दोस्रो विश्वयुद्धको नतिजा

बाबु यता ,फुपु उता

अहिले बाबु नाई, भदा भेट्न आएकी 

पशुपती दर्शन गराउनु पर्ने

खुलाल माजनलाई विस्तारमा भनेँ

फ्याट्टै दस हजार,पाँचसौ टक्के नोट दिएर

"फुपुलाई सकेसम्म तीर्थ घुमा" भन्नु भयो

मान्छे त धिउ रहेछन कान्छा!


समय विपरित थियो

हातखर्च कसैको छैन गोठमा

बाख्रा पाल्ने ईच्छा बुढी र छोरीको

गएँ घोरसाने काँइलाको गोठमा

विस्तार गरेँ दुःख, पोखें वेदना

फ्याट्ट तीनहजार रुपैयाँ दिएर

"लौ बाख्रा पाल बाबु"भने

मान्छे त धिउ पो रहेछन कान्छा!


हुनेले नदिएको कथा निकै सुनियो,पढियो

अरूको दुःख पखाल्ने मानिस--- 

सिधै स्वर्ग जान्छन होला है कान्छा!

दुःखमा साथ दिने व्यक्ति 

राजा हरसबर्धन जस्तै है!

सबैको भलो चाहने!!

चोर,चण्डाल र ठगले भरिएको यो संसारमा

धिउ जस्ता मानिसले संसार थामेका है ,कान्छा!

घिउ जस्ता मानिस महाप्रयाण भएपछि

सबैको स्वर्गमा बास हुन्छ होला है,कान्छा!!!!

*******************

अन्तरे दाहाल 

स्थायी वासस्थान:कोल चपडी, धौला सदिया 

हाल: नयाँ दिल्ली

२८/६/२०२३