केही स्मृतिका दृश्यहरू
*****************
खोलाघरे बा ले दश वर्षको
आफ्नो कान्छो छोटो साथै लिएर
जन्तरे महाजनको आँगनमा
"मेरो कान्छो छोरो राख्नु हजुर!
गाई बाछा हेरिदिन्छ यसले
मलाई चारपाँच मुरी धान दिए हुन्छ
घरजहान बिरामी छे" भनेको
दृश्यहरू याद आए।
डाँडाघरे आमैले आफ्नी माइली छोरी
डन्डिफोर निस्किने उमेरमा
डोर्याउदै गोदार महाजनको
गोठमा लगेर "यसलाई राख्नु हजुर
महाजननी आमैलाई काम सगाई दिन्छे
मलाई वर्ष भरीको अन्न दिए हुन्छ"भनेको
दृश्यहरू याद आए।
उदयनारायण बा लाई
जङ्गली भैंसीले घाइते पारे पछि
उनीको श्रीमतीले सारु बा को
घरमा गएर कानको मुन्द्री देखाएर
"यो राख्नुहोस हजुर!उपचारको निम्ति
केही खर्च चाहियो "भनेको
दृश्यहरू याद आए।
बहादुर ठुले ले
बाबु खसे पछि
"बरु हलको गोरु लानु
तर काम उतारी दिनु "
भनेर खत्री महाजनलाई भनेको
दृश्यहरू याद आए।
--------
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला,गुवाहाटी